News स्वास्थ्य

अबदेखि स्वास्थ्य चौकीमै मृगौला परीक्षण गर्न सकिने

अबदेखि स्वास्थ्य चौकीमै मृगौला परीक्षण गर्न सकिने

kidney

कात्तिक १२ । मृगौलामा कुनै खरावी छ की छैन भन्ने परिक्षण गराउने व्यवस्था अवदेखि स्थानीय स्वास्थ्य संस्थामै हुने भएको छ । मृगौला परिक्षणका लागि प्रयोग हुने “डिपिस्टीक किट” मनाङ्ग वाहेकका सवै जिल्लामा पठाई सकिएकाले स्थानीय तहमै मृगौला परिक्षण गर्न पाईने भएको हो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपुर्ति व्यवस्थापन महाशाखाले देशभरी पहिलो चरणमा २० लाख जनाको मृगौला परिक्षण गर्न पुग्नेगरी किट पठाइएको जनाएको छ । महाशाखाका निर्देशक डा भिमसिंह टिंकरीले मनाङ्गमा बाटोको समस्याका कारण केहीदिनपछि पुग्ने र अरु सवै जिल्लामा किट पठाईसकिएको जानकारी दिए ।

चार महिना अगाडी नै किट पठाउने भनिएपनि कार्यान्वयन नभईरहेका बेला स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशनपछि सवै जिल्लामा मृगौला परिक्षण गर्न सकिने व्यवस्था हुन लागेको हो ।

मन्त्री थापाको निर्देशन अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, अंचल अस्पताल, उपक्षेत्रीय अस्पताल, क्षेत्रीय अस्पताल लगायत गरी १ सय ३३ ओटा स्वास्थ्य संस्थामा पुग्ने गरी किट वितरण गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेको किटलाई केहीदिनमा स्थानीय आवश्यकता अनुसार मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पठाउने भएको छ ।

२० मिलिलिटर जति पिसावले किट भिजाएपछि देखिने किटको रङ्गका आधारमा मृगौलाको अवस्था थाहा हुने डा. टिंकरीले जानकारी दिए । परिक्षण गर्दा कुनै समस्या नभएको देखिएमा एक बर्षपछि फेरी परिक्षण गर्न आउन सुचित गरिने र समस्या देखिएमा थप उपचारका लागि आग्रह गरिने उनले बताए ।

सरकारले ल्याएको नयाँ सेवालाई उपयोग गरी आफ्नो मृगौलाका बारेमा थाहा पाईराख्न स्वास्थ्य मन्त्रालयले सवैलाई आग्रह गरेको छ । मन्त्रालयले यसै बर्ष विद्यालयहरुमा स्वास्थ्यकर्मी सहित किटहरु पठाएर विद्यार्थीहरुको मृगौला परिक्षण गर्ने तयारी समेत गरेको छ ।

Kidney

विशेष