विदेश

विद्रोही समूहद्वारा अलेप्पो र लताकिया प्रान्तमा दर्जनौ रकेट आक्रमण

विद्रोही समूहद्वारा अलेप्पो र लताकिया प्रान्तमा दर्जनौ रकेट आक्रमण
कात्तिक १२ । सिरियाली विद्रोही समूहद्वारा अलेप्पो र लताकिया प्रान्तमा सरकारी बललाई लक्ष्य गरी दर्जनौ रकेट आक्रमण गरेका छन् । सरकारको नियन्त्रणमा रहेको विद्रोहीद्वारा अलेप्पो सहर कब्जाको तयारी भइरहेको एक मानवअधिकार समूहले जनाएको छ । सरकारको नियन्त्रणमा रहेको पश्चिमी अलेप्पो सहर बाहिरी इलाकामा विद्रोही र सरकारी पक्षबीच भीषण झडप भएपछि सो रकेट प्रहार गरिएको बताइएको छ । सिरियाको अल दाहियेट अल असादको छिमेकमा पर्ने इलाकामा रहेको प्रहरी जाँचचौकीमा लक्ष्यगरी दुई वटा आत्मघाती आक्रमण भएका सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्सले जानकारी दिएको छ । विद्रोही लडाकूले अलेप्पो सहर टुक्र्याएर कब्जा गर्ने कार्य सुरु गरेको अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले बताए । बेलायतसँग आवद्ध यस मानवअधिकार समूहका अनुसार सरकारको नियन्त्रणमा रहेको पूर्वी अलेप्पो सहरको नैराब सैनिक विमानस्थल र अलेप्पो अन्तर्राष्ट्रिय विमानस्थल दर्जनौँको सङ्ख्यामा रकेट आक्रमण गरिएको थियो । सँगसँगै इदलिब प्रान्त र सरकारको नियन्त्रणमा रहेको लताकिया प्रान्तमा विद्रोहीद्वारा गरिएको रकेट प्रहारमा सात व्यक्ति घाइते भएका छन् । अब्देल रहमानका अनुसार विद्रोहीले जारी राखेको यस कारबाहीमा विद्रोही समूह इस्लामिक अहरार अल साम र अल कायदासँग आवद्ध फातेह अल साम फ्रोन्ट समूहको सभागीता रहेको छ । फातेह अल साम फ्रोन्ट समूहलाई यस अघि अल नुस्रा फ्रोन्टको नामबाट चिनिन्थ्यो । सिरिया सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलनले पछिल्ला कैयौँ वर्षदेखि गृहयुद्धको रुप लिएको छ । जारी गृहयुद्धको क्रममा आइएस जिहादी समूह, अल कायदा र कुर्दिस लडाकूको बिगबिगी जारी रहेको बताइन्छ । यसको कारण छिमेकमा रहेका टर्कीगायतका देशको सिमानामा हिंसा पनि बढेको पाइन्छ । सिरियामा गएको पाँच वर्षभन्दा लामो समयदेखि जारी रहेको हिंसामा परी दुई लाख ९० हजारभन्दा बढी व्यक्तिको निधन भएको छ ।

Syria War

विशेष