हिलारी राष्ट्रपति भइन् भने बिल क्लिन्टनलाई के भन्ने ? ‘फर्स्ट जेन्टलम्यान’ ?
एजेन्सी– यदि अमेरिकाको राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टन विजयी भइन् भने उनका पति बिल क्लिन्टनले के दर्जा पाउनेछन् ? यो प्रश्न अहिले धेरैले गर्न थालेका छन् । अमेरिकी इतिहासमा अहिलेसम्म कोही पनि महिला राष्ट्रपति भएका छैनन् । पुरुष राष्ट्रपतिकी पत्नीलाई ‘फर्स्ट लेडी’ भनेर सम्बोधन गरिन्छ ।
पुरुष राष्ट्रपति हुँदा उनका पत्नीले पाउने दर्जा छ । तर महिला राष्ट्रपति भएमा उनका पतिलाई के नामले सम्बोधन गर्ने भन्ने प्रश्नको जवाफ अहिले अमेरिकामा खोज्न थालिएको छ । त्यसो त अमेरिकाका ६ राज्यमा अहिले महिला गभर्नर छन् । उनका पतिहरुलाई ‘फर्स्ट जेन्टलमेन’ भन्ने गरिन्छ । तर राष्ट्रपतिको हकमा प्रश्नको जवाफ प्राप्त भइसकेको छैन ।
त्यसो त बिल क्लिन्टनको आफ्नै पहिचना नभएको होइन । उनलाई अमेरिकी समाजले अहिले पूर्वराष्ट्रपतिका रुपमा चिन्छ । ह्वाइट हाउसमा महिला राष्ट्रपतिको प्रवेश भयो भने क्लिन्टनको दर्जा फेरिन्छ कि फेरिँदैन ? भन्ने प्रश्न गर्नेहरु पनि धेरै छन् ।
गुगलमा यहि प्रश्नको जवाफ धेरै खोजी भएको पनि छ । कसैले ‘फर्स्ट ब्वाय, फर्स्ट म्यान’ आदि नामले सम्बोधन गर्नु उपयुक्त हुने धारणा पनि राखेका छन् ।