News

राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपति मुखर्जीबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपति मुखर्जीबीच भेटवार्ता
 समाचार/काठमाडौँ

कात्तिक - १७ । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जीबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा केहीबेर अघि भेटवार्ता सम्पन्न भयो। त्यसअवसरमा उहाँहरुबीच युगौँदेखिको नेपाल–भारतबीचको सुसम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सौहार्दपूर्ण एवम् हार्दिकतायुक्त वातावरणमा भएको उक्त वार्तामा दुई मुलुकबीचको ऐतिहासिक, सांस्कृतिक, सामाजिक एवम् जनस्तरको सम्बन्धलाई थप सुदृढ तुल्याउनेबारे छलफल भएको थियो । राष्ट्रपतिद्वयबीचको वार्ता पारस्परिक हितमा केन्द्रित रहेर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए । उनले भने, ‘भारतका राष्ट्रपति मुखर्जीले नेपालको संविधान जारी भएकामा राष्ट्रपति भण्डारी, नेपाली जनता र संविधानसभाप्रति बधाई ज्ञापन गर्नुभयो ।’ भेटवार्तामा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, राष्ट्रपतिका सल्लाहकारहरू, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी उपस्थित थिए । त्यसैगरी भारतका रक्षा राज्यमन्त्री सुभास भामरे, सांसदहरू एल गानेसन, जगदम्बिका पाल, राजकुमार सिंह, भुवनेश्वर कलिता, विदेश सचिव एस जयशङ्कर, नेपालका लागि भारतका राजदूत रणजीत रायलगायतको उपस्थिति थियो । राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जी नेपालको तीन दिवसीय राजकीय भ्रमणमा आजै काठमाडौँ आएका हुन्। त्यसअघि राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षीलाई आफ्नो कार्यालयमा स्वागत गर्नुभएको थियो । त्यसअघि नेपाली सेनाको एक टुकडीले शुभकामना धुन बजाएको थियो । अठार वर्षपछि भारतका राष्ट्रपतिबाट नेपालको भ्रमण भएको हो । यसअघि राष्ट्रपति केआर नारायणनले २०५५ जेठ १४ गते नेपालको राजकीय भ्रमण गरेका थिए ।

President-Sri-Mukherjee-meets-President-Smt-Bhandari-at-Sheetal-Nivas

विशेष