News

भारतीय राष्ट्रपतिले पशुपतिमा लाखबत्ती बालेर विशेष पूजा गर्ने

भारतीय राष्ट्रपतिले पशुपतिमा लाखबत्ती बालेर विशेष पूजा गर्ने
 समाचार/काठमाडाैँ

कात्तिक - १७ ।  नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिनाथ मन्दिरमा लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्ने भएका छन् । बिहीबार बिहान राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले बताए । पशुपतिको पश्चिम मूलद्वारबाट भारतीय राष्ट्रपति मुखर्जी प्रवेश गरेपछि नेपाल वेद विद्याश्रमका १०८ जना वटुकले उनको स्वागतमा विशेष स्वस्ति वाचन गर्ने कार्यक्रम छ । गार्गी कन्या गुरुकुलका छात्राले पनि पशुपति परिसरको दायाँबायाँ बसी उहाँको स्वागत गर्नेछन् । राष्ट्रपति मुखर्जी गौशाला चोकबाट पशुपति परिसरमा प्रवेश गरेपछि उनको स्वागतमा धिमे बाजा, पञ्चेबाजालगायत बाजागाजा एवम् मौलिक धुन प्रस्तुत गरिने पनि कोषले जनाएको छ । स्थानीयवासी एवम् दर्शनार्थीले पशुपति परिसरमा उभिएर राष्ट्रपति मुखर्जीको स्वागत गर्नेछन् । पशुपतिमा विशेष पूजाको तयारीस्वरुप प्रवेशद्वारको निर्माण, सरसफाइलगायत काम सम्पन्न भएको छ । पूजालाई मध्यनजर गरी पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । मित्रराष्ट्र भारतका राष्ट्रध्यक्षको विशेष पूजालाई अविस्मरणीय बनाउने गरी तयारी भएको सदस्य सचिव डा। टण्डनले बताए । राष्ट्रपति मुखर्जी पशुपति दर्शन विधिअनुसार पशुपति परिक्रमा गरी गर्भगृहमा प्रवेश गरेर विशेष पूजा सकी फर्केपछि आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम छ । त्यसपछि कोषकातर्फबाट उहाँलाई उपहारस्वरुप मायाको चिनो प्रदान गरिनेछ । भारतीय राष्ट्रध्यक्षले १८ वर्षपछि पशुपति दर्शन गर्न लाग्नुभएको हो । यसअघि पूर्वराष्ट्रपति के आर नारायणन्ले विसं २०५५ जेठमा पशुपतिमा फर्माइसी पूजा गरेका थिए । पशुपतिनाथ मन्दिरलाई द्वादश ज्योतिर्लिङ्गको पनि शिर मानिने भएकाले भारत एवम् विश्वभरका हिन्दू धर्मावलम्बीको विशेष आकर्षणको केन्द्र भन्ने गरिएको छ ।

pranab mukharjee Pranab Mukharjee nepal visit

विशेष