News

फुटबल खेलमा अब हेडिङको अभाव हुनसक्ने

फुटबल खेलमा अब हेडिङको अभाव हुनसक्ने
कात्तिक – १९ । हामीले केही समयअगाडि नै फुटबल हेडिङको बारेमा चर्चा गरेका थियौँ । स्कटल्यान्डको स्टर्लिङ विश्वविद्यालयले गरेको अनुसन्धानले फुटबल खेल्दा गरेको हेडिङले खेलाडीको मस्तिष्कमा नकरात्मक प्रभाव पर्न सक्छ । यो प्रभाव २४ घण्टाको लागि पनि हुन सक्नेर केही क्षणका लागि स्मरणशक्ति पनि कम हुने अनुसन्धानले देखाइसकेको छ । लाखौँ करोडौँ मानिसले प्रत्यक दिन फुटबल खेल्ने गर्छन् र भविष्यमा पनि खेल्ने छन् । तर अनुसन्धानको प्रमाणले हेडिङले मस्तिष्कलाई कुनै न कुनै रुपमा असर पार्छ भनेर देखाएको छ । यस विषयका कारण विश्वकै सबैभन्दा लोकप्रिय रहेको खेलका लागि सोच्नु पर्ने भएको छ । चिकित्सकीय रुपमा धेरै हेडिङ गर्ने खेलाडीलाई नकारात्मक प्रभाव परेकै हुन्छ । तर हेडिङ नहुने हो भने फुटबलको स्वरुप र शैली दुवै फेरिनेछ । त्यसो भए अब हेडिङ बिनाको फुटबल ? यो प्रश्न आउन सक्छ तर केही फुटबल टिमले पछिल्लोपल्ट यसका लागि अभ्यास सुरु गरिसकेका छन् । सुरुवाति चरणमा अहिले अमेरिकामा उमेर समूहको फुटबलमा हेडिङलाई प्रतिबन्ध लगाउने काम सुरु भइसकेको छ । विशेष गरी महिलाको १२ वर्ष उमेर समूहको म्यासेच्युसेटमा हुने फुटबलमा हेडिङ गर्न दिइन्न । केही माथिल्लो उमेर समूहको फुटबलमा सकेसम्म जानेर हेडिङ गरिन्न, यसलाई सकेसम्म निरुत्साहित गरिन्छ । अमेरिकामा यस्ता फुटबल खेलाडीको पुस्ता तयार हुँदैछ, जसलाई हेडिङ गर्न दिइन्न । अमेरिकी फुटबल संघले पनि हेडिङलाई सीमित गर्ने अनौपचारिक घोषणा गरिसकेको छ । संघको नियमअनुसार १० वर्षको उमेर समूहका युवा खेलाडीलाई खेल र अभ्यास दुवै क्रममा हेडिङ गर्न प्रतिबन्ध जस्तै छ । केही समाचार संस्थाका अनुसार स्कटल्यान्डको फुटबल संघले पनि आफ्ना युवा फुटबल खेलाडीलाई हेडिङ गर्न दिने अथवा नदिनेबारे विचार गर्ने जनाएको छ । फेरि फुटबलमा बल हावामै बढी हुने हुनाले पनि धेरै हेडिङलाई हटाउने पक्षमा नहुन नै सक्छ । धेरैले भने हेडिङले हुन सक्ने नकारात्मक असरबारे अझ बढी अनुसन्धान हुनुपर्ने मान्छन् । अहिलेसम्म जति पनि अनुसन्धान भएको छ, त्यसको निचोड भने सकारात्मक छैन । जस्तो, हेडिङपछि लगत्तै शरीरको सन्तुलनमा खलबल आउने र स्मरणशक्ति प्रभावित हुने सम्भावना ४१ प्रतिशतदेखि ६७ प्रतिशतसम्म छ । –एजेन्सीको सहयोगमा

football heading

विशेष