समय सक्कियो तर तारेख बुझ्न आएनन् कार्की
कात्तिक–२० । सर्वोच्च अदालतमा परेको योग्यतासम्बन्धी मुद्दामा म्याद तामेलीमै अवरोध पुर्याएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले तारेख बुझ्न पनि अटेर गरेका छन् ।
सर्वोच्च र कार्कीको निवास आधा घण्टाको दूरीमा छ तर कार्की तारेख बुझ्न अदालतमा हाजिर हुनुपर्ने अवधिभित्र गएनन् । कार्कीको मुद्दामा कात्तिक १ गते म्याद तामेल भएको थियो । त्यसको १५ दिनभित्र उनी र उनको वारेस अदालतमा हाजिर हुनुपथ्र्यो । यसअनुसार कात्तिक १६ गतेसम्म कार्कीका तर्फबाट अदालतमा उपस्थित हुनुपथ्र्यो । उक्त मितिमा सार्वजनिक बिदा भएकाले कार्यलय खुलेको दिन अर्थात् कात्तिक १७ गते उनी वा उनको वारेस अदालत आउनुपर्ने थियो ।
तर कार्की त्यसलाई बेवास्ता गरी अख्तियारको सरकारी निवासमा बस्दै आएका छन् । कार्कीले म्याद थमाउने निवेदन लिएस नआएमा मुद्दा स्वत: पेसी चढ्छ । पेसीमा यसअघि मुद्दाको सुनुवाइ गरेकाबाहेक अन्य न्यायाधीशको पूर्ण इजलासमा सुनुवाई हुने सर्वोच्च प्रशासनका एक कर्मचारीले जानकारी दिए ।
सर्वोच्चले अख्तियार प्रमुख कार्कीको योग्यतासम्बन्धी फैसला पुनरवलोकन गर्न भदौ ३१ गते आदेश दिएको थियो । त्यसपछि उनले म्याद तामेलीमा अवरोध पुर्याए । –नागरिक दैनिकबाट