News

उपत्यकाका प्रमुख नदीबाट ११ मेट्रिक टन फोहाेर व्यवस्थापन गरियो

उपत्यकाका प्रमुख नदीबाट ११ मेट्रिक टन फोहाेर व्यवस्थापन गरियो
कात्तिक - २० । काठमाडौं उपत्यकाका प्रमुख नदी सफाइ गरी शनिबार ११ मेट्रिक टन फोहाेर व्यवस्थापन गरियो । बागमती सफाइ महाअभियानको १८२ औँ हप्ता र विष्णुमती सफाइको ११४ औँ हप्तामा दुवै नदीको दोभान टेकुमा संयुक्त रुपमा सफाइ गरी नौ मेट्रिक टन फोहाेर व्यवस्थापन गरिएको हो । सफाइको नेतृत्व पूर्वमुख्यसचिव लीलामणि पौड्याल, पूर्वसचिव किशोर थापा लगायतले गरेका थिए । सफाइमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायत सात सयको सहभागिता रहेका अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । रुद्रमती सफाइको १४१ औँ हप्तामा शनिबार कमलपोखरी–ज्ञानेश्वर–रातोपुल–गौशालामा जनजागरण अभियानसहित सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरिले बताए । फोहरमुक्त सडक घोषणा गरिएको यो सडकमा फोहर फालेमा जरिवाना गर्ने जानकारीसमेत सो अवसरमा गराइयो । सफाइमा समाज, वातावरण संरक्षण अभियान, महानगरपालिकाको वडा नं ९ र ३३ एवम् महानगरीय प्रहरी वृत्त कमलपोखरी, गौशाला, सामुदायिक प्रहरी हाँडीगाउँको सक्रिय सहभागिता थियो । नख्खु खोला सफाइको ६४ औँ हप्तामा शनिबार कुसुन्ती दिव्यनगरस्थित नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । आइतबार सूर्यको आराधना गरी मनाउन लागिएको छठ पर्वको तयारीका लागि पनि सो स्थानमा सफाइ गरिएको संयोजक बलुदेव पाण्डेले बताए । यहाँबाट सङ्कलन गरिएको फोहर ललितपुर उपमहानगरपालिकाले व्यवस्थापन गर्‍यो । शनिबारै गुह्येश्वरीमाथिको बागमती क्षेत्रमा राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, तिलगङ्गा महिला समूह र माकालबारी टोल सुधार समितिले सफाइ गरेका छन् । २०७० जेठ पहिलो सातादेखि सुरु गरिएको सफाइ महाअभियानले उपत्यकाका नदी तुलनात्मक रुपमा सफा हुन थालेका छन् । नेपालको तीन दिने राजकीय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले बिहीबार पशुपतिमा विशेष पूजापछि बागमती नदीको दर्शन गर्दै सात वर्ष अघिभन्दा नदी सफा भएको भन्दै सराहना गरे ।

Bagmati river dompin side upatyakaka nadibata fohor byabasthapan

विशेष