विदेश

फिलिपिन्सका मेयरलाई जेलमै गोली हानियो

फिलिपिन्सका मेयरलाई जेलमै गोली हानियो
कात्तिक - २० । फिलिपिन्समा लागूऔषधको कारोबारमा संलग्न राखेको अभियोगमा त्यहाँको पुलिसले जेलमै गोली हानेर मारिदिएको छ । पुलिसका अनुसार अलबेयुराका मेयर रोनाल्डो एस्पीनोसाले पुलिस अधिकारीमाथि गोली चलाएपछि गरिएको कारबाहीमा उनी मारिएका हुन् । अधिकारीहरु मेयर मारिएको जेलको कोठरीमा हतियारको खोजतलास गरिरहेका छन् । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटार्टेले लागूऔषध व्यापारसँग जोडिएका सन्दिग्ध व्यक्तिहरुलाई समाप्त गर्ने अभियानमा लागेका छन् । अघिल्लो हप्ताबाट लागू गरिएको नयाँ नीतिअनुसार लागूऔषध व्यापारसँग जोडिएका ठूला व्यापारी र उनीहरुसँग सम्बन्ध राख्ने मेयरहरुमाथि पनि कारबाही थालिने घोषणा गरिएको थियो । नयाँ राष्ट्रपतिले लागूऔषधविरुद्ध लडाईँमा देशको समर्थन जुटाएका छन् तर यसमा भइरहेको मानवधिकार हननलाई लिएर अन्तर्राष्ट्रियस्तरमा यो अभियानको तीब्र निन्दा भइरहेको छ । राष्ट्रपति रोड्रिगो डुटार्टे लागूऔषध व्यापारसँग जोडिएका सबै सन्दिग्धलाई समाप्त गर्ने अभियानमा लागेका छन् । फिलिपिन्सको मित्रका रुपमा रहेको अमेरिकाले पनि यो कारवाहीको निन्दा गरिरहेको छ । मेयर मारिएपछि उनको मृत्युबारे छानबिन गरिनुपर्ने आवाज पनि उठेको छ । उनका समर्थकहरुले उनलाई राखिएको ठाउँमा हतियार कसरी पुग्यो भन्नेबारेमा पनि छानबिन हुनुपर्ने बताएका छन् । दुई हप्तायता मारिने उनी फिलिपिन्सका दोस्रो मेयर हुन् । डुटार्टेले यी दुबैजनाको नाम लागूऔषध कारोबारीसँग जोडिएको भन्दै कारवाही गरिने चेतावनी दिएका थिए ।

meyar philipins

विशेष