ताजा खबर विदेश

अमेरिकी राष्ट्रपतिको चुनाव आउँन २ दिन मात्र बाँकी, कस्ले मार्ला बाजी ?

अमेरिकी राष्ट्रपतिको चुनाव आउँन २ दिन मात्र बाँकी, कस्ले मार्ला बाजी ?

तीर्थराज खनाल


अमेरिकी राष्ट्रपतिको निर्वाचन हुन २ दिन मात्र बाँकी छ । झण्डै एक बर्ष लामो चुनावी बहस, आरोप–प्रत्यारोप र अनुमानका श्रृंखला अन्त्यको घडी अब धेरै लामो छैन । चुनाबी बहसमा पट्यारलाग्दा, कहिले लज्जास्पद, कहिले छुद्र र कतिपय अवस्थामा स्वाभाविक तानावानाको पटाक्षेपको पूर्ण विराम लाग्ने भएको छ ।

आरोप प्रत्यारोपको अन्त्य अब यसरी हुनेछ कि, परिणाम जे आए पनि त्यसले अमेरिकाको राजनैतिक इतिहासमा नयाँ एउटा आकार कोर्नेछ । डेमोक्रयाटकी उम्मेद्वार हिलारी क्लिन्टनले जिते उनी अमेरिकाको पहिलो महिला राष्ट्रपती हुने छिन्। रिपब्लीकनका डोनाल्ड ट्रम्पले जिते, स्वभावमा र नीतिमा अली बढी नै अनुदार एक धनाढ्य व्यापारीले संस्थापनलाई किनारा लगाउने छन् ।

चुनाव नजिकिदै जाँदा दुबै उमेदरवारहरुले परिणाम आफ्ना पक्षमा पार्न अन्तिम बल लगाइरहेका छन् । पछिल्ला दिनहरुमा गरिएका मत सर्भेक्षणहरुले प्रतिस्पर्धा अझ उचो बन्दै गइरहेको छ । केही साता अघिसम्मका मत सर्भेक्षणहरुमा झण्डै दश प्रतिशतले अगाडी रहेकी हिलारी क्लिन्टनले पुरानो अन्तर गुमाउदै गइरहेकी छिन् । गोप्य सुचनाहरुले भरिएका इमेलहरुको प्रयोगका सम्बन्धमा एफबिआइले फेरि छानवीन शुरु गरेपछि र राष्ट्रपती बाराक ओबामाले ल्याएको स्वास्थ्य बिमा नीति बढेपछि आफुलाइ अग्रस्थानमा राख्न हिलारी क्लिन्टनलाइ निकै मुस्किल परिरहेको छ ।

डोनाल्ड ट्रम्पले महिलामाथि गरेका टिप्पणीहरु सार्वजनीक भएपछि र केही महिलाहरुले यौन दुर्ब्यवहार गरेको आरोप समेत लगाएपछि सर्भेक्षणहरुमा उनको अवस्था दुई साताअघि निकै खस्किएको थियो । त्यो बेलाका मत सर्भेक्षणहरुमा बाहिरिएपछि हिलारीलाई विजयको टीका मात्र लगाउन बाँकी रहेको टिप्पणी आउन थालेको थियो । तर चुनाव हो, मुद्दा र माहौलको अर्थ हुन्छ नै ।

अमेरिकी मतदाताहरु यसपटकको निर्वाचनमा आफूहरुका लागि चित्तबुझदो ‘च्वाइस’ नभएको ठानिरहेका छन् । कतिपय मतदाताहरुका बिचारमा एकातीर बेला बेलामा, बोली र बिचारमाथिको नियन्त्रण गुमाउने एकजना धनाढय व्यापारी छन, जोसँग राजनीतिमा चाहिने सन्तुतित व्यबहार र नीति छैन । अर्कोतिर बितेका तीस बर्षमा कहिले ‘फष्ट लेडी’का रुपमा , कहिले सिनेटर र कहिले बिदेशमन्त्रीका रुपमा परिक्षा दिइसकेकी ‘टेष्टेड’ हिलारी क्लिन्टन छिन, जसबाट नयाँ ठुलै परिवर्तनको आशा छैन ।

अमेरिका र मेक्सिकोको बोर्डरमा पर्खाल लगाउने, अमेरिकामा गैरकानुनी रुपमा बसिरहेका एक करोड दशलाख भन्दा बढीलाइ फिर्ता पठाउने , मुस्लिमहरुलाइ अमेरिकामा प्रवेशमा केही समय रोक लगाउने र अमेरिकीहरुको हातबाट गुमेका रोजगारलाई फिर्ता ल्याउने नाराका भरमा डोनाल्ड ट्रम्प यहाँसम्म आइपुगेका हुन् । जुन नारा अमेरिकी मध्यम र उच्च वर्गिय गोराजातीको सोचसँग धेरै हदसम्म मेल खान्छ ।

‘अमेरिका फस्ट’ र ‘मेक अमेरिका ग्रेट एगेन’ जस्ता ट्रम्पका नारापनि उनै मध्यम र उच्च वर्गिय गोराजातीहरुका लागि बढी कर्णप्रीय देखिएका छन् । तल्लो तह, काला जाती र अप्रावासीहरुको छनौटमा ट्रम्प हत्तपत्ति पर्दैनन् ।

अमेरिकामा ठुलो समस्या बनिरहेको बन्दुकमाथि केही नियन्त्रण, कलेजसम्म निशुल्क शिक्षा, आप्रवासीहरुप्रति उदार सोच र कामदारहरुको पारिश्रमिकमा बृद्धी जस्ता नाराका कारण हिलारी क्लिन्टनले युवा, तल्लो तहका नागरिक र अप्रवासीहरुको मन जितिरहेकी छिन् । यद्यपी अझै मतदाताको ठूलो संख्या मौन र दुविधामा देखिन्छ ।

एउटा कुरा के निश्चित छ भने, यसपटक जसले जितेपनि त्यो निकै कम अन्तरको जित हुनेछ । मतदानकै बेला निर्णय गर्ने निर्णायक मतदाताहरुले नै डोनाल्ड ट्रम्पलाइ जिताउनु अलिक बढी नै जोखिम मोल्नु हो भन्ने ठाने भने हिलारीले जित्नेछिन् । एकपटक जोखीम पनि लिएर हेरौं भन्ने बढी मतदाताहरुलाई लागेमा ट्रम्पले जित्नेछन् ।

ट्रम्पले जिते अमेरिकाभित्र र बाहिर बाँकी विश्व दुबैका लागि ‘ट्रम्प–जोखिम’ त छ नै । ट्रम्प जोखिमको मतलब, सनक्क सन्किने जोखिम । विश्वको सबैभन्दा शक्तिशाली देशको शक्तिशाली मान्छे सनक्क सन्किँदा के हुन्छर हो, त्यही जोखिम ।

ट्रम्पले त आफुले नजिते परिणाम सहजै नस्विकार्ने बताएर निर्वाचन प्रक्रियाभित्रै पनि अर्को जोखिमको बाटो देखाएका छन् । चुनावमा धाँधली हुन सक्ने भन्दै ट्रम्पले खासगरी कालाजातीहरुको बढी बसोबास रहेका सिकागो, सेन्ट लुइस जस्ता ठाउँहरुमा बिशेष निगरानी राख्न आफना कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । चुनाबी बहसका क्रममा सार्वजनिक भएका दुबै उमेदवारका बिवादास्पद छवीहरुले मतदातालाई यसपटकको राष्ट्रपतीय निर्वाचनमा त्यति धेरै उत्साहित भने बनाएको छैन ।

एजेन्सीको सहयोगमा

America Election

विशेष