बाँचे मात्र त पढ्ने हो, बाँच्न त काम गर्नु पर्यो नि सरकार
कात्तिक २२ । सदरमुकाम सिमीकोटबाट तीन घण्टाको दूरीमा पुगिने डाँडाफयामा गत शुक्रबार बिहान ४ बजे तापमापन यन्त्रले माइनस चार डिग्री सेन्टिग्रेट तापक्रम देखाइरहेको थियो । कक्षा ५ मा अध्ययनरत १४ वर्षे बालक धन्जोक सिंहले बेलुकै तयार पारेको दाउराको भारी बोके । बहिनीलाई ठूलो स्वरमा अह्राए, ‘आज अलि चाँडो भात लिएर स्कुल आऊ है नानी ।’ आफूजत्रै भारीमा नाम्लो लगाए । अनि टर्चलाइट बालेर घरबाट निस्किए ।
धन्जोक मात्र होइन, बिहानबेलुकाको छाक टार्न डाँडाफया गाउँ विकास समितिका अधिकांश बालबालिका झिसमिसेमै पिठ्यूँमा आफ्नोभन्दा बढी वजनको दाउराको भारी सदरमुकाम सिमीकोटमा ल्याएर बेच्छन् । यो उनीहरूको रहर नभई बाध्यता हो । ‘अघिल्लै दिन बेलुकी दाउराको भारी बनाएर राख्छु । बिहान ४-५ बजे भारी बोकेर टर्च बालेर बाटो लाग्छु । अनि, सदरमुकाममा बेचेपछि १० बजे विद्यालय पुग्छु,’ धन्जोकले दिनचार्या बताए ।
धन्जोक मात्र होइन, उनीजस्ता थुप्रै स्कुले बालकालिका घरखर्च र पढाइ खर्च जुटाउन तीन घन्टासम्म दाउराको भारी बोकेर सदरमुकाम लगेर खर्च जुटाउने गरेका छन् । निस्पट्ट अँध्यारोमा उनीहरूको सहारा भनेकै झोपा (गाई र याकको क्रमबाट जन्मेको) हो । जसलाई उनीहरूले दाउराको भारी बोक्न प्रयोग गर्छन् ।
झोपालाई अघि लगाएर दाउरा बेच्न निस्किने अधिकांश बालबालिकाको बिहानको खाना स्कुलमै आइपुग्छ । आफूभन्दा साना उमेरका भाइबहिनीले ल्याइदिएको खाना स्कुलमै खाएपछि बल्ल उनीहरूको कक्षाकोठा प्रवेश गर्ने पालो आउँछ । ‘घरमा आमाबुवा बूढा छन् । काम गर्न सक्दैनन् । बिहान दाउरा बेचेर बेलुकाका लागि खाद्यान्न, नुन, तेल किनेर छाक टार्न र कापीकलम किन्न दाउरा बेच्छौं,’ धन्जोक भन्छन् ।
डाँडाफयाका ३० जनाभन्दा भन्दा बढी स्कुले बालबालिका सिमीकोटका अतिरिक्त सदरमुकामका बजार क्षेत्रहरू सर्केगाड, देउली, कवाडी र हिल्सामा समेत दाउरा बेच्न पुग्छन् । ‘बिहानको खाना कहिले पनि घरमा खाएको छैन । सानी बहिनीले विद्यालयमा खाना ल्याउँछिन् । म खान्छु अनि बेलुका घर गएर पुनः दाउराको भारी बनाउँछु । यो दिनदिनै गर्नुपर्छ,’ डाँडाफयाका १५ वर्षीय बमबहादुर शाहीले भने ।
विद्यालय उमेरका यी बालबालिकालाई पढ्ने उमेरमा किन भारी बोकेको भनेर प्रश्न गरे उनीहरूको सोझो जवाफ हुन्छ, ‘पढ्नलाई त बाँच्नुपरो नि ?’ बालबालिकालाई काममा लगाउन नपाइने नियम उनीहरूका अभिभावकलाई पनि थाहा छ । तर, सानै उमेरदेखि घरको काममा अभ्यस्त बालबालिकालाई काम नलगाई उनीहरूको छाट टर्दैन । सरकारले दिने सुविधाबारे खासै थाहा नपाएका यी स्कुले बालबालिकालाई सरकारले दिन्छ भन्ने सदरमुकाममा दाउरा बेच्ने क्रममा कसैले सुनाएको मात्र याद छ । उनीहरू दाउरा बोक्नुपर्ने पीडामा दैनिक रोजीरोटी जोडिएको कुरा सरकारलाई भने सुनाउन चाहन्छन् । ‘पढ्ने उमेरमा सधैं किन दाउरा बेच्न गएको नि, बमबहादुर भन्छन, ‘बाँचे न पढ्ने हो, सरकार बाँच्न काम त गर्नुपर्यो नि ?’
सो गाविसका कक्षा तीनभन्दा माथि अध्ययनरत अधिकांश विद्यार्थी यसरी नै दाउरा बेचेर मात्र विद्यालय पुग्छन् । सदरमुकाम सिमीकोटमा एक भारी दाउराको ३ सयदेखि ५ सय रुपैयाँसम्ममा बिक्री हुन्छ । दाउरा बेचेर स्कुल जाने विद्यार्थी नियमित विद्यालय पुग्न पनि भ्याउँदैनन् । कक्षा ५ मा अध्ययनरत डाँडाफयाका १४ वर्षीय धन्जोक सिंह भने घरको आर्थिक अवस्था कमजोर भएको, आमाबुबा बूढाबूढी भएकोलगायतका कारण हप्तामा तीन दिन मात्र विद्यालयमा हाजिर हुन्छन्। अरू बेला घरमा काम गर्दैमा उनको विद्यालय जाने समय पुग्दैन ।
हुम्लामा ६ महिना तातो हुने भए पनि कात्तिकदेखि चैतसम्म हिमपात हुने भएकाले बेलामै हिउँदका लागि दाउरा बेचेर मात्र विद्यालय जानुपरेको कक्षा ६ मा अध्ययनरत बमबहादुर शाहीले बताए । महिला तथा बालबालिका कार्यालयका अनुसार हुम्ला सदरमुकाम आसपासका अधिकांश बालबालिकाको दैनिकी नै दाउरा बेचेपछि बल्ल विद्यालय जाने रहेको छ ।
राजधानी दैनिक
humla