विदेश

अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि मतदान जारी

अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि मतदान जारी
कात्तिक - २३ । अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि मतदान भइरहेको छ । नेपाली समयअनुसार करिब पाँच बजेतिर मतदान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प मुख्य प्रतिस्पर्धीका रुपमा रहेका छन् । १२ वटा राज्यमा मतदान भइरहेको छ भने बाँकी राज्यहरुमा मतदान केही समयपछि हुँदैछ। मंगलबार मध्यरातसम्म मतदानको नतिजा आउने अनुमान गरिएको छ। एबीसी र वासिङ्टन पोस्टको पछिल्लो सर्वेक्षण आइतबार सार्वजनिक गरिँदा क्लिन्टनले निर्वाचनमा पाँच प्रतिशतको फरकले नेतृत्व गर्ने अर्थात् क्लिन्टनको ४८ प्रतिशत र ट्रम्पको ४३ प्रतिशत मत देखिएको छ । एफबीआई प्रमुख जेम्स कोमीले निर्वाचनको अघिल्लो दिन हिलारी क्लिन्टनलाई इमेल काण्डमा सफाइ दिएपछि हिलारीको संभावना बलियो देखिएको छ । राष्ट्रपतीय निर्वाचनमा करिब २० करोड मतदाता सहभागी हुने भए पनि चार करोडभन्दा बढीले मंगलबारअघि नै ‘अर्ली भोटिङ’ सुविधाअनुसार मतदान गरिसकेका छन् । अमेरिकाका ५० राज्यका कुल ५३८ इलेक्टोरल मतमध्ये २५२ स्प्ष्ट रूपमा क्लिन्टनका पक्षमा देखिएको छ भने ट्रम्पका पक्षमा १६३ इलेक्टोरल मत छ । फ्लोरिडा, नर्थ क्यारोलिना, एरिजोना, ओहायो, न्यू ह्याम्सायरलगायत राज्यका १२३ इलेक्टोरल मत अझै अनिर्णीत छन् । निर्वाचनको अघिल्लो दिनसम्मका सर्वेक्षणअनुसार पनि अनिर्णीत देखाएका यी राज्यको अन्तिम परिणाम राष्ट्रपति चयनमा निर्णायक बन्नेछन् । क्लिन्टनको पक्का समर्थक सीएनएनको पछिल्लो सर्वेक्षणले भने उनका पक्षमा अहिलेसम्म २६८ इलेक्टोरल मत स्पष्टै देखिएको उल्लेख गरेको छ भने २०२ मत ट्रम्पका पक्षमा देखाएको छ । ६८ मत भने अझैै अनिर्णीत देखिएको सीएनएनले उल्लेख गरेको छ । राष्ट्रपतिमा निर्वा्चित हुन् २७० इलेक्टोरल मत चाहिन्छ । यसैबीच निर्वाचनमा गरिने भनिएका आतंकवादी हमला तथा निर्वाचन प्रभावित पार्ने उद्देश्यले कुनै समूहले घटाउन सक्ने सम्भावित आक्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको अमेरिकी प्रशासनले जनाएको छ । एजेन्सीहरु

donald tromp hilary clinton

विशेष