ट्रम्पको जितपछिको चिन्ताः डिभीधारी र अमेरिकामा रहेका नेपालीको के होला ?
कात्तिक २४ । 'ट्रम्प बाले नपत्याउने पाराले चुनाब जित्न लाग्नु भयो त । कतै भोलि नै झोला बोकेर नेपाल फर्किनु पर्ने त होइन नि ?' अमेरिकामा विजनेस भिसामा गएका र उतै बस्दै आएका एक नेपालीले नेपालमा रहेका आफन्तलाई पठाएको सन्देश हो यो । यस्तै सन्देश अमेरिकामा रहेका नेपालीले एकअर्कालाई पठाइरहेका छन् । अमेरिकामा रहेका अधिकांश नेपालीमा हिलारीले जित्नेछिन् भन्ने विश्वास थियो । हिलारीले जितेमा बाराक ओबामाको नीतिले निरन्तरता पाउने हुँदा उनीहरु ढुक्क प्राय थिए ।
अझ भुकम्पपछि ओबामाले गैरकानूनीरुपमा अमेरिकामा बस्दै आएका नेपालीका लागि समेत राहतका प्याकेज ल्याएका थिए । वर्क परमिट खुकुलो बनाएका थिए । अब आप्रवासीका लागि कठोर नीति ल्याउने ठानिएका ट्रम्प आए । अब के होला ? अमेरिकामा रहेका नेपालीको चिन्ता छ । कानूनी प्रक्रिया पूरा गरेर अमेरिकामा बसेका नेपालीका लागि ट्रम्प नीति अझ हितकारी हुने जानकारहरुको भनाइ छ । डिभी परेर अमेरिकामा पुगेका रविन्द्र शर्मा भन्छन्, 'गैरकानूनीरुपमा बसेकाहरुले जागिर सस्तोमा गर्दा कानूनीरुपमा बसेकाहरुलाई जागिरको समस्या थियो ।
अब उनीहरुलाई कडाइ गर्दा बैधानिकरुपमा बसोबास गरिरहेका आप्रवासीका लागि सहज हुनेछ ।' अवैधानिकरुपमा वा कानून छलेर बसिरहेका आप्रवासीका लागि ट्रम्पले स्वघोषणाको मौका दिने बताइन्छ । अमेरिकामा गैरकानूनीरुपमा कोही नबसोस् भन्ने ट्रम्प नीति रहेको बताइन्छ । बाहिर हल्ला चलेजस्तो उनी आप्रवासी बिरोधी नरहेको टिप्पणी हुन थालेको छ । अमेरिका छिरेपछि अपराध नगरेसम्म अमेरिकाले फिर्ता नपठाउने भएकाले विभिन्न वाहनामा अमेरिका जाने र उतै लुक्ने प्रवृत्ति हावी भएको थियो ।
ट्रम्पले यसरी बसिरहेकाहरुलाई एकपटक कानूनी प्रक्रियामा आउन मौका दिने र कागज पुगेकालाई स्थायी बसोबासको अवसर दिनसक्ने बताइएको छ । हरहालतले अमेरिका टेक्ने र उतै लुक्ने प्रवृत्तिलाई ट्रम्पले कडाइ गर्ने निश्चितप्राय रहेको बताइन्छ । डिभी परेर अमेरिका पुगेका नेपाली वा अहिले डिभीको प्रक्रिया पूरा गरिसकेकाहरुका लागि भने ट्रम्प नीति बाधक नहुने जानकारहरु बताउँछन् । भुटानले नेपाली मूलका लाई खेदेजस्तै खेदिइन्छ कि भन्ने चिन्तापनि अमेरिकामा रहेका नेपालीमा बढेको बताइन्छ । तर, त्यस्तो संभावना झिनो छ । अमेरिकामा नेतृत्व परिवर्तन भएपनि मूल नीति परिवर्तन हत्तपत्त हुँदैन । इस्लाम समुदालयका लागि भने ट्रम्प टाउको दुखाइको विषय बन्ने देखिन्छ ।