विदेश

ओबामाले ट्रम्पलाई ह्वाइट हाउसमा आतिथ्य सत्कार गर्ने

ओबामाले ट्रम्पलाई ह्वाइट हाउसमा आतिथ्य सत्कार गर्ने
कात्तिक २५ ।  अमेरिकामा नोभेम्बर ८ मा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा विजयी हुनुभएका ह्वाइट हाउसका भावी प्रमुखलाई वर्तमान राष्ट्रपति बाराक ओबामाले आतिथ्य सत्कारका लागि बिहीबार आउन निमन्त्रणा गरेका छन् । राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणाको ४८ घण्टापछि शान्त र सहज तरीकाबाट सत्ता हतान्तरण गर्ने विषयमा वार्ता पनि गर्न ओबामाले ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्पको आतिथ्य सत्कार कार्यक्रमको आयोजना गरेका हुन् । आगामी जनवरी २० का दिन हुन गै रहेको औपचारिक सत्ता हस्तान्तरण समारोह भन्दा अगाडी निवर्तमान र भावी राष्ट्रपतिकाबीच हुन लागेको यो भेटवार्तालाई स्थानीय सञ्चार माध्यमहरुले अति महत्वका साथ प्रसारण गरिरहेका छन् । अमेरिकी इतिहासमा पहिलो महिला राष्ट्रपति बन्न लागेकी हिलारी क्लिन्टनलाई पराजित गर्दै अमेरिकी जनताले डोनाल्ड ट्रम्पलाई विजयी गराउने कार्यले विश्व नै चकित परेको छ । यता, निर्वाचन परिणाम घोषणा भएपछि क्लिन्टनको हारबाट रुष्ट डेमोक्र्याट समर्थक जनताहरु नवनिवार्चित, ७० बर्षीय राष्ट्रपतिको विरोधमा न्युयोर्कदेखि लसएन्जलससम्मका धेरै शहरहरुमा जुलूस प्रदर्शन, नाराबाजी र ठाउँठाउँमा ट्रम्पको पुतला जलाउँदै आक्रोश पोखिरहेका छन् । यसैबीच नवनिवार्चित राष्ट्रपतिले आफ्ना समर्थकको विशाल सभालाई सम्बोधन गर्दै विजयको औपचारिक घोषणासँगै आफू सम्पूर्ण अमेरिकी नागरिकका लागि राष्ट्रपति हुने कुरा दोहोर्याएका छन् । - एएफपी

Barak Obama Donald Trump white house

विशेष