News

घिसिङको घोषणा ‘लेखेर राख्नुहोस् अब लोडसेडिङ तालिका सार्वजनिक हुँदैन’ [भिडियाेसहित]

घिसिङको घोषणा ‘लेखेर राख्नुहोस् अब लोडसेडिङ तालिका सार्वजनिक हुँदैन’ [भिडियाेसहित]
kul-ghising-1
जनकपुरको एउटा गुठीमा २३ सय घरधुरी थिए । उनीहरु बिजुलीको लाइन जोड्न विद्युत कार्यालय जान्थे, कार्यालयले लालपूर्जा माग्थ्यो । घरधनीसँग जग्गाधनी पूर्जा थिएन । मिटर–बक्स जडान गर्न नपाएपछि उनीहरुले बिजुली चोरी अर्थात हुकिङ गर्न थाले । कुलमान घिसिङ नेपाल बिद्युत प्राधिकरणको प्रबन्ध निर्देशक भएर आएपछि यस्ता धेरै प्रसंग सुने । उनले भने, लालपूर्जा नभएपनि मिटर–बक्स जडान गर्ने । प्रहरी कार्यालय, सिडियो कार्यालयले लालपूर्जा बिना मिटर जडान गर्न नहुने अडान लिइरहे । अन्ततः घिसिङले उर्जा मन्त्रालयबाट निर्णय गराएः नागरिकताको आधारमा मिटर–बक्स जोडि दिने । उतिसारो चर्चामा नरहेको सो प्रसंग घिसिङले टेलिभिजन कार्यक्रममा खुलासा गर्दै भने, ‘घर बनाउन दिने, मिटर–बक्स नदिएर अध्याँरोमा राख्ने ? यो मिल्दैन । मिटर–बक्स दिन्छौँ, बरु त्यसबापत जेल जान परे पनि जान्छौँ ।’ घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेपछि चर्चामा नआएका कैयौँ यस्ता प्रसंग छन् जसले दीर्घकालिन महत्व राख्दछन् । देशभर लोडसेडिङ सुन्यप्राय स्थितिमा पु¥याएपछि घिसिङको चर्चा ह्वात्तै बढेको छ । घिसिङ जोसिएका छन् । ‘लोडसेडिङ तालिका अब आउदैन । तालिका प्रकाशित गरेर किन आतंक सृजना गर्ने ? अब लोडसेडिङ हुनै नदिने ।’ एकाएक लोडसेडिङ अन्त्य गराएर चर्चा बटुलेका उनी भन्छन्, ‘जाडोको चिन्ता हो । पिक आवरमा उद्योग नचलाएमा लोडसेडिङ हुँदैन । जेठपछि त लोडसेडिङ हुँदैन भनेर लेखेर दिन्छु, परीक्षणमा भएकाले अहिले चाहीं मुखले मात्र भन्छु ।’ कुलेखानी चलाएर कुलमानले संकट निम्त्याउन खोजेको एकथरी आरोपलाई उनले मनगढन्ते कुराको संज्ञा दिए । उनले कुलेखानी पिक आवरमा मात्र चलाइएकाले कुनै संकट नआउने दाबी गरे । ‘नबुझी बोल्नु भन्दा बुझेर बोलेको राम्रो हुन्छ । म पूर्व पदाधिकारीहरुलाई यसबारेमा तथ्य बुझ्न कार्यालयमा जान आग्रह गर्दछु ।’ घिसिङले विद्युत थप नहुँदै लोडसेडिङ अन्त्यजस्तै भएपछि धेरै अचम्मित भएका छन् । उनी भन्छन्, ‘सबै व्यवस्थापनका कारण सम्भव भएको हो । मेरो टिम र सरकारको स्पिरिटका कारणले भएको हो । हिजोको दिनमा पनि यो हुन सक्थ्यो । तर भएन ।’ उनले पूर्व प्रधानमन्त्री केपी ओलीको लोडसेडिङ अन्त्य गर्ने आइडियाका बारेमा आफू बेखबर रहेको जनाए । विगतमा पनि विद्युतको उचित व्यवस्थापन गर्न सकेको भए लोडसेडिङ धेरै कम हुन्थ्यो भन्दै उनले ओलीलाई कटाक्ष गरे । घिसिङले केही नयाँ योजना पनि सारेका छन् । चुहावट, बक्यौता रकम उठाउने तथा प्राधिकरणलाई प्रविधिमैत्री बनाउन उनी लागि परेका छन् । उनी भन्छन्, ‘अब मिटर चेक गर्ने र बिल दिने कर्मचारी ढोका चहार्दै आउँदैनन् । केही समयपछि हामी प्रिपेड सिस्टम गर्छौँ । अनलाइन बिलिङ शुरु गर्दैछौँ । लाखौँ घरमा कर्मचारी जाने कुरा खर्चिलो भयो । यसले अनेक समस्या सृजना गरेको छ ।’ घिसिङको बाहिरफेर प्रसंशा भएपनि कार्यालयभित्र अनेकथरी अवरोध सृजना गरिएको छ । हिजोको दिनमा उनीभन्दा वरिष्ठ तहमा काम गरेकाहरु आज उनीभन्दा कनिष्ठ भएका छन् । उनले लुकाइएको बिजुली निकालेपछि खाइपाइ आएकाहरुको आक्रोश बढेको छ । यस्तो अवस्थामा पदमा टिकिरहन कत्तिको सहज छ ? पत्रकार नारायण पौडेलको प्रश्नमा घिसिङ भन्छन्, ‘४ बर्षका लागि भनेर नियुक्त भएको हो । त्यही अवधी सोचेर काम गर्ने हो । जान परे पनि केही छैन । पद सधैँ हुन्छ भनेर आएको पनि होइन । अन्तै पनि म काम गर्न सक्छु । यहाँ काम गर्दा त्यसको प्रभाव धेरै हुन्छ । त्यसैले यही संस्थामा योगदान गर्छु, अवसर पाउँदासम्म ।’

KP Sharma Oli Kulekhani Kulman Ghising loadsedding nepal bidhut pradhikaran

विशेष