News

सरकारप्रति जनताको भरोसा बढेको छ – प्रधानमन्त्री

सरकारप्रति जनताको भरोसा बढेको छ – प्रधानमन्त्री
कात्तिक - २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकार गठन भएको सय दिनको अवधिमा भए/गरेका प्रमुख काम र उपलब्धिबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणमा तीव्रता, संविधानको प्रभावकारी कार्यान्वयन, शान्ति सम्झौताका बाँकी कार्य सम्पन्न गर्ने, सुशासन कायम तथा बजार अनुगमन गरी उपभोक्तालाई सेवामा सहजता दिलाउनेजस्ता विषयमा प्राथमिकता दिइएको उल्लेख गरे। सरकारको सय दिनको अवधिमा आर्थिक परिसूचक सकारात्मक रहेको, छिमेकी मुलकसँगको सम्बन्धमा सुधार आएको, विकास निर्माण कार्यले गति लिएको र जनतामा सरकारप्रतिको भरोसा बढेको प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा पाँच लाख ३३ हजार १८२ लाभग्राहीमध्ये हालसम्म चार लाख ६९ हजार २४७ परिवारसँग सम्झौता भएकामा उनीहरुलाई यसबीचमा पहिलो किस्ताबापतको अनुदान प्रदान गरिएको प्रधानमन्त्रीले जानकारी गराए । पुँजीगत खर्च वृद्धि गर्न बढी पुँजीगत बजेट भएका १५ ठूला मन्त्रालयलाई तीव्रताका साथ बजेट कार्यान्वयन गर्न निर्देशन दिइएको, करदाताको दायरा बढाइएको, कालोबजारी एवम् कृत्रिम अभाव रोक्न अनुगमन कार्य प्रभावकारी बनाइएको सरकारको सय दिनको उपलब्धिमा उल्लेख छ । राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाको अनुगमन गरी आफूले निर्धारित समयअगावै कार्य सम्पन्न गर्न निर्देशन दिएको जनाउँदै प्रधानमन्त्रीले सरकारका उच्च प्राथमिकतामा रहेका आयोजना तथा कार्यक्रमलाई स्रोतको अभाव हुन नदिने बताए । गरिबका लागि सरकार कार्यक्रम सञ्चालनको अवधारणा पत्र तयार भएको, जनता पेन्सन कार्यक्रमको बृहत् छाताभित्र कृषक सामाजिक सुरक्षाको नमुना कार्य तयारी भएको पनि उनले जानकारी दिए। यस्तै काठमाडौँ उपत्यकालगायत अन्य जिल्लामा विद्युत् भार कटौतीमुक्त गराउने सम्बन्धमा परीक्षण प्रसारण सफल भएको, नेपाल भारतबीचको व्यापार सन्धि र अनधिकृत व्यापार नियन्त्रणसम्बन्धी सम्झौता नवीकरण भएको, नेपाल चीनबीच पारवाहन ढुवानी सम्झौताको कार्यान्वयनका लागि प्रोटोकल मस्यौदा तयार गरी चिनियाँ पक्षलाई पठाइएको, नेपाल–भारत सीमा सर्वेका लागि टोली परिचालन गरिएको पनि सरकारको उपलब्धिमा समावेश छ । जनजीविकाका सवालअन्तर्गत युवा स्वरोजगार कार्यक्रमको ७५ जिल्लामा विस्तार, रिक्त सबै प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत परिचालन गरिएको प्रधानमन्त्रीले बताए। गत साउन १९ गते व्यवस्थापिका–संसद्बाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

Prachanda Puspakamal Dahal

विशेष