विदेश

दक्षिण कोरियाली राष्ट्रपतिलाई अपदस्थ गर्न माग राख्दै विरोध प्रदर्शन

दक्षिण कोरियाली राष्ट्रपतिलाई अपदस्थ गर्न माग राख्दै विरोध प्रदर्शन
कात्तिक २७ ।  वर्तमान दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन हाइलाई अपदस्थ गर्ने माग राख्दै बिरोधीहरुले राजधानी सोलमा शनिबार एक बिशाल विरोध प्रदर्शनीको आयोजना गरेका छन् । कम्तीमा लाखौं जनताको सहभागिता हुने भनिएको सो विरोध प्रदर्शनी दक्षिण कोरिया प्रजातान्त्रिकरण भएको ३० वर्ष पछिको सबभन्दा विशाल जनप्रदर्शन हुने पनि दावी गरिएको छ । विरोधीहरुका प्रचारप्रसार अभियानलाई दृष्टिगत गर्दा प्रहरीले सोलको सिटी हल र ओल्ड प्यालेस गेटवरपर करिब एकलाख सत्तरी हजार जनता जम्मा हुने अनुमान लगाएको छ । तर, आयोजकहरु भने कम्तीमा दसलाख मानिस भेला हुने दावी गरेका छन् । लामो समयसम्म आफ्ना नाता, साथी,भाई तथा निकटका भारदारलाई आर्थिक भ्रष्टाचार गर्न छूट दिएको, बहूराष्ट्रिय कम्पनीहरुसँग साठगाँठ राख्न लगाई राजश्व छल्ने, मार्ने काम गराएको, आफ्ना आसेपासेका नाममा खुलेका तथाकथित गैह-नाफामूलक संस्था, सङ्गठनहरुलाई करोडौं डलरको आर्थिक सहायता, चन्दा दिने नाममा राष्ट्रको ढुकुटीको दुरुपयोग गरेको, पर्दा पछाडी बसी राज्यशक्तिको दुरुपयोग गरेको आशंका र आरोपमा बिपक्षीहरुको एकनाशको कडा आलोचना र बिरोध खेप्दै आउनु भएकी वर्तमान राष्ट्रपति पार्कको कुर्सी हाल निकै हल्लिइ रहेको बताइन्छ । राष्ट्रपति पार्क विरुद्ध यसरी जन आक्रोश फैलिरहेको अवस्थामा संसदका विपक्षी दलहरुले भने राजिनामाको माग, पदच्युत गराउने प्रयास वा राष्ट्रपतिको जमेर बिरोध गर्न सकेका छैनन् । राज्य सञ्चालनमा राष्ट्रपतिले राजनीतिक हस्तक्षेप गरेमा वा गम्भीर राष्ट्रिय मामिलामा आफूलाई टाढै नराखेमा राजिनामा मागको अभियान चलाउने भनी चेतावनी दिनसम्ममा मात्र सीमित छन् संसदका विपक्षीहरु । आगामी वर्ष नै राष्ट्रपतीय निर्वाचन हुन गै रहेकाले हाल विरोध कार्यक्रममा लाग्दा त्यसले आफूहरुलाई पनि निर्वाचनमा नकारात्मक असर पार्ने हो कि भन्नेमा उनीहरु सशंकित छन् । सदैव आलोचनै आलोचना, विरोधै विरोध खेप्नु पर्दा आजित भएकी राष्ट्रपति पार्कले मुलुकमा राजनीतिक स्थिरता ल्याउने प्रयोजनवश विपक्षीहरुको नियन्त्रणमा रहेको संसद्लाई प्रधानमन्त्री चयन गर्न दिन सहमत भएको अभिव्यक्ति गत मङगलवार दिनु भएको थियो । तर, राष्ट्रपतिमा निहित शक्तिहरुमध्ये प्रधानमन्त्रीलाई अधिकांश शक्ति हस्तान्तरण गर्ने प्रतिवद्धता नआएसम्म उहाँको अभिव्यक्ति अर्थहिन हुने भनी विपक्षी दलहरुले प्रतिकृया व्यक्त गरेका छन् । वर्तमान राष्ट्रपति पार्कको पदावधि सकिन अब १५ महिना मात्र बाँकी रहेको छ । कथम् कदाचित उहाँलाई बीचैमा अपदस्थ गरिएमा ६० दिन भित्रै नयाँ निर्वाचन गरिसक्नु अनिवार्य छ ।रासस-एपी

pradashan South Korea

विशेष