विप्लव माओवादीद्वारा वाणिज्य महासंघका अध्यक्ष मुरारकाको जग्गा कब्जा
कात्तिक २७ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको जग्गा कब्जा गरेको छ । माओवादीले अध्यक्ष मुरारकाको बनेपास्थित १ सय ४० रोपनी जग्गा कब्जा गरेको जनाएको हो ।
माओवादीले विभिन्न पाँच कारण देखाएर जग्गा कब्जा गर्नुपर्को भनेको छ । माओवादीले जग्गा कब्जामा लिएपछि निकालेको विज्ञप्तिमा भनिएको छ, ‘दिनहुँ आकासिँदो बजार भाउ, महंगी र कालोबजारीमा मूख्य भूमिका खेलेको, अर्बौको कर छलि गरी, राष्टिय हितविपरित गतिविधि (बनेपाको जग्गा प्रतिरोपनी ४५ लाखमा किनबेच गरेर पाँच लाखको झुठो विवरण देखाइ भूमाफियासँग मिली कर छली) गरेकोले जग्गा कब्जा गरिएको हो ।’
विप्लव माओवादीले राष्ट्रिय अर्थतन्त्रलाई धरासायी बनाउँदै दलाली अर्थतन्त्र र अर्थव्यवस्थालाई प्रोत्साहन गरी राष्टिय पुँजी पलायन गराएको आरोप मुरारकामाथि लगाएको छ । विप्लव माअाेवादीका नेता गुणराज लाेहनीले अाफ्नाे पार्टीले कब्जा गरेकाे जग्गा अव मुरारकाकाे नभइ जनताकाे भएकाे नेपाल अाजलाई बताए ।
तर मुरारकाले भने अाफ्नाे जग्गा विप्लव माअाेवादीले कब्जा नगरेकाे बताउँदै अाएका छन् । उनले भने, ’अर्काको जग्गामा कसैले झण्डा लगेर गाड्दैमा त्यो जग्गा उसको हुँदैन । लालपुर्जा जसको नाममा छ जग्गा उसैको हो ।’