ताजा खबर News

दमाहा बजाउने पेशा संकटमा

दमाहा बजाउने पेशा संकटमा

कात्तिक २८ । पाल्पाका ग्रामीण तथा सहरी क्षेत्रका मठमन्दिरमा पूजा गर्दा दमाह बजाउने परम्परा संरक्षण हुन नसक्दा सङ्कटमा परेको छ ।  परियार समुदायको युवा पुस्ताको बाजा बजाउने पेसाप्रति आकर्षण हुन नसक्दा लोकसंस्कृतिका रुपमा रहेको पञ्चेबाजा बजाउने परम्परा नै हराउन थालेको हो । पुर्खाका पालादेखि चलिआएको मठमन्दिरमा दैनिक पूजा आराधनामा बजाइने दमाह बाजाको धुन सुनिन छाडेको बूढापाकाहरु बताउँछन् ।

मन्दिरमा पूजा गर्दा दमाईं जातिका मानिसले मात्र दमाह बजाउने परम्परा रहिआएकामा अहिले सो समुदायले अँगाल्न छाडेसँगै दमाह बजाउने परम्परा सङ्कटमा परेको हो ।

काठका मसिना दुईवटा गजाले पालैसँग दमाह बजाउँदा भित्र मन्दिरमा पुजारीले पूजा आराधना गर्ने चलन रहेको स्थानीय बासिन्दा रामबहादुर परियारको भनाइ छ ।

अर्गलीको ऋषिकेश, तानसेनको अमरनारायण, भैरवस्थानको भैरव मन्दिरलगायतका मठ मन्दिरमा बिहान साँझ दमाह बजाउने चलन रहे पनि अहिले सो परम्परा नै सङ्कटमा पर्दै गएको हो । अर्गली गाविसस्थित ऋषिकेश मन्दिरमा पहिला दैनिकजसो दमाह बजाई पूजा आराधना गर्ने परम्परा हटेको छ । अर्गलीका अम्बर परियारका अनुसार सात आठजनाले मन्दिरमा नियमित रुपमा पुूजाआज गर्दा दैनिक नै दमाह बजाउने चलन रहिआएकामा अहिले त्यस्तो परम्परा नै गुमेको छ ।

परम्परा जगेर्नामा स्थानीयवासीको चासो कम हुनु र दमाह बजाउने समुदायमाथि सामाजिक विभेद, बाजा बजाउने पेसा व्यावसायिक हुन नसक्दा युवा पुस्ताको आकर्षण हटेको हो । दमाह बजाउनेलाई गुठीको खेती गर्नेबाट बाली दिने चलन थियो । परियार समुदायका युवा बाजा बजाउने पेसाबाट विस्थापित भई सिलाइ तथा वैदेशिक रोजगारी अँगाल्न थालेको पाइन्छ ।

Damaha Palpa District

विशेष