News

अध्यक्ष ओलीद्वारा एनएमसी डेरीको उदघाटन

अध्यक्ष ओलीद्वारा एनएमसी डेरीको उदघाटन
कात्तिक २८ ।  झापाको मेचीनगर–१३ स्थित जोरसिमल नजिकै झन्डै १३ करोड रुपैयाँको लागतमा एनएमसी डेरी उद्योग सञ्चालनमा आएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको पूर्ण स्वामित्वमा सञ्चालित डेरी उद्योगको उद्घाटन आज पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । सहकारी संस्थाको एकल स्वामित्वमा १२ करोड ७५ लाख रुपैयाँको लागतमा स्थापना भएको डेरीले गत वैशाख १ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष ओलीले एनएमसीलाई अझ उचाइमा पुर्याउँदै सेवाग्राहीको मन जित्न शुभकामना दिए । उनले एनएमसी डेरीलाई भारतको अमुल डेरीसँग तुलना गर्दै थोरै घाटाको पर्वाह नगरी आफ्नो लक्ष्य प्राप्तिमा अघि बढ्न सुझाव दिए । उद्घाटन समारोहमा बोल्दै उद्योगका प्रबन्ध निर्देशक डेरीविद् तथा पोषणविद् श्यामकुमार मिश्रले दैनिक १० हजार लिटर दूध प्रशोधन तथा वितरण गर्दै आएको उद्योगको प्रतिघन्टा तीन हजार लिटर दूध प्रशोधन तथा उत्पादन गर्नसक्ने क्षमता रहेको बताए । कार्यक्रममा सहकारीका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसी डेरीको मुख्य ध्यान नै गुणस्तरमा रहेको बताउँदै आम उपभोक्ताको अपेक्षालाई अझ उचाइसम्म पुर्याउने बताए । उनले सामाजिक रुपमा असल चरित्रको निर्माण अभियानमा जुटेको एनएमसी आफ्नो लक्ष्यअनुरुप अघि बढेको धारणा राखेका छन् ।

Jhapa KP Oli

विशेष