सांसद भक्तिप्रसाद पाण्डेको निधन

कात्तिक २९ । नेकपा (माओवादी केन्द्र)का नेता एवम् सांसद भक्तिप्रसाद पाण्डेको ६२ वर्षको उमेरमा आज निधन भएको छ । विगत एक वर्षदेखि अर्बुद रोगबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धि, ललितपुरमा आज बिहान निधन भएको हो ।
पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि भोलि (मङ्गलबार) बिहान ९ देखि ११ बजेसम्म नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा राखिनेछ ।
माओवादीभित्र चाचा उपनामले चिनिने पाण्डेले माओवादीको सशस्त्र सङ्घर्षको आपूर्ति विभागको पहिले केन्द्रीय सदस्य र पछि इञ्चार्ज भएर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
युद्धका क्रममा पाण्डेले निकै जोखिम मोलेर भारत र अन्य मुलुकबाट पार्टीका लागि स्याटलाइट फोन, हातहतियार, गोलीगट्ठा र अन्य युद्ध सामग्री भित्र्याएका थिए । पाण्डे सानैदेखि विद्रोही स्वभावका थिए र त्यही विद्रोही स्वाभावकै कारण उहाँ १८ वर्षकै उमेरमा २०२९ सालमा अर्घाखाँचीमा भएको चर्चित हरेबर्रे आर्थिक एक्सनको सैनिक कमाण्डर बनेका थिए।
नेकपा (पुष्पलाल समूह), नेकपा माले हुँदै २०४० सालमा मोहनविक्रम सिंहको मसालमा प्रवेश गर्नुभएका पाण्डेले १४ वर्ष काम गरेर मसाल छोडे।
नेकपा मसालले माओवादी जनयुद्धको चर्को विरोध गरेपछि दीनानाथ शर्माको नेतृत्वमा विद्रोह गरेर पार्टी गठन गरी तत्कालीन नेकपा माओवादीसँग उनले एकता गरे । पार्टीभित्र चर्को अन्तरविरोध हुँदा पनि पुष्पकमल दाहाल र बाबुराम भट्टराई दुवैले अत्यन्तै विश्वास गर्ने थोरैमध्येको एउटा पात्र हुन् । पार्टीभित्र उनकाे छवि सधैँ इमान्दार, निडर र क्रान्तिकारी योद्धाका रुपमा रहेको थियो ।
पाण्डेका एक छोरा, दुई छोरी छन् । विसं २०६४ को संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं ४ बाट प्रतिस्पर्धा र झिनो मतले पराजित सांसद पाण्डे २०७० मा संविधान सभामा एनेकपा (माओवादी) को तर्फबाट समानुपातिक तर्फबाट सांसद बनेका हुन् । हाल व्यवस्थापिका–संसद्मा नेकपा (माओवादी केन्द्र) को तर्फबाट सदस्य रहनुभएका पाण्डेको पुस्तक ‘आत्मकथा’ (प्रकाशोन्मुख) रहेको छ ।
Bhaktiprasad Pandey
Maobadi Kendra
