विदेश

न्युजिल्यान्डको शक्तिशाली भूकम्पमा परी दुईको मृत्यु

न्युजिल्यान्डको शक्तिशाली भूकम्पमा परी दुईको मृत्यु
कात्तिक - २९ । न्युजिल्यान्डको दक्षिणी द्विपमा सोमबार आएको अत्यन्त विध्वसकारी भूकम्पमा परी दुई व्यक्तिको मृत्यु भएको छ । यो भूकम्प ७.८ रिक्टर स्केलको भएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । यद्यपि न्युजिल्यान्डको भूकम्प मापन केन्द्र ‘जियोनेट’ले भने यस भूकम्प ७.६ रिक्टर स्केलको मापन गरिएको जानकारी दिएको छ । दक्षिणी प्रशान्त महासागरिक राष्ट्रमा आएको यो एक शक्तिशाली भूकम्प भएको जनाइएको छ । सुनामीलाई लक्षित चेतावनीको कारण तटिय क्षेत्रमा बसोवास गरिरहेका हजाराैँ बासिन्दा अन्य सुरक्षित स्थानमा अर्थात देशको उचाइमापर्ने क्षेत्रमा विस्थापित भएका छन् । सो भूकम्प स्थानीय समयअनुसार सोमबार १२ः०२ बजे गएको बताइएको छ । सो ठूलो भूकम्पपछि ६.६ रिक्टर स्केलको पराकम्पन गएको बताइएको छ । यी पराकम्पन दक्षिण र उत्तरी द्विपका शृङ्खलाबद्ध रूपमा गएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु दक्षिण पर्यटकीय सहर क्याइटचर्चबाट एकसय ३० किलोमिटर दक्षिण–पश्चिममा र ह्यानमर स्पिङबाट १५ किलोमिटर दक्षिण–पूर्वमा १० किलोमिटर गहिराइमा रहेको बताइएको छ । युएसजिएसले भने भूकम्पको केन्द्रविन्दु समुद्री सतहबाट २५ किलोमिटर गहिराइमा रहेको जानकारी दिएको छ । न्युजिल्यान्डमा पाँचवर्ष अगाडि क्याइटचर्च नजिकै गएको ६.३ रिक्टर स्केलको भूकम्पमा परी १८५ व्यक्तिको मृत्यु भएको थियो ।

new zealand New Zealand Earthquake

विशेष