अपराध सुरक्षा ताजा खबर News

विमानस्थलमा ४० करोडको सामान छाडेर पूर्वसांसद फरार

विमानस्थलमा ४० करोडको सामान छाडेर पूर्वसांसद फरार

कात्तिक ३० । पूर्वसांसद मधुसूदन अग्रवाल सञ्चालक रहेको टौरस र एसआर फर्माका नाममा भित्रिएको ४० करोड रुपैयाँबराबरको औषधिजन्य कच्चा पदार्थ स्युडोएफिडिन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ ।

विमानस्थल भन्सार कार्यालय र नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)को संयुक्त टोलीले स्विटजरल्यान्डबाट भित्रिएको ६ सय किलो स्युडोएफिडिन नियन्त्रणमा लिएको हो ।

आफ्नो कम्पनीले झिकाएको सामान प्रहरी र भन्सारले जफत गरेपछि यसका सञ्चालकद्वय मधुसूदन अग्रवाल र अमित अग्रवाल फरार छन् । औषधि बनाउने बहानामा विदेशबाट भित्र्याइएको स्युडो तस्करीमा जोडिएपछि उनीहरू फरार भएको हुन सक्ने ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार दुवै अभियुक्त तथा उनीहरू सञ्चालक रहेका सबै संघसंस्था र परिवारका नाममा रहेको चलअचल सम्पत्ति रोक्का गरिएको छ । प्रतिग्राम स्युडोको अन्तरराष्ट्रिय बजारमूल्य ६४१ अमेरिकी डलर पर्छ ।

ब्युरोले साउन तेस्रो साता सांघाई ग्रुपबाट सञ्चालित औषधि उद्योगमा छापा मारी तस्करीबाट भित्रिएको १ अर्ब ३० करोड रुपैयाँ बराबरको स्युडोएफिडिन बरामद गरेको थियो ।

जरो, रुघाखोकीलगायत रोग लाग्दा सेवन गरिने औषधि उत्पादनमा आवश्यक स्युडोएफिडिनको ओसारपसार र दुरुपयोगमाथि ब्युरो र औषधि व्यवस्था विभागले निगरानी बढाएका थिए ।

औषधि उत्पादन गर्ने नाममा सांघाई ग्रुपले गरेको बदमासी अनुसन्धान गर्ने क्रममा टौरस र एसआर फर्माको अनधिकृत कारोबारको पोल खुलेको ब्युरोले जनाएको छ ।

भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले औषधि उद्योगका थप सञ्चालकमाथि अनुसन्धान जारी रहेको जानकारी दिए ।

“उद्योगका सञ्चालक फरार हुनु र जफत गरिएको वस्तुबारे सोधीखोजी गर्न कोही पनि सम्पर्कमा नआउनुले पक्कै गडबडी देखिन्छ,” महानिर्देशक ढुंगानाले भने, “आफूले झिकाएको सामान क्लियर नगरी उद्योगका सञ्चालक भाग्नुले यो तस्करीबाटै भित्रिएको हाम्रो ठहर हो ।”

यसमा संलग्न अभियुक्तमाथि निकासी÷पैठारी नियन्त्रण गर्ने ऐन २०१३ अन्तर्गत कारबाही हुनुका साथै लागूपदार्थ ओसारपसार अभियोगमा प्रहरीले पनि आवश्यक अनुसन्धान गरिरहेको उनले बताए । ब्युरोका एसएसपी गणेश केसीले सांघाई ग्रुपअन्तर्गतका फर्माबाट भइरहेको औषधि तस्करी छानबिनका क्रममा पछिल्लो घटना खुलेको बताए ।

“सांघाई समूहले औषधि उत्पादनका लागि भित्र्याएको स्युडो तस्करी गर्दै आएको खुलेपछि यसविरुद्ध हामीले विशेष अपरेसन चलाएका थियौं,” एसएसपी केसीले भने, “त्यही क्रममा अग्रवालद्वय सञ्चालक रहेका दुई फर्माको कारोबार र यसको तस्करीमा संलग्नताबारे पोल खुलेको हो ।”

औषधि व्यवस्था विभागका अनुसार नेपालमा ३७ कम्पनीले औषधि उत्पादन गर्दै आएका छन् । औषधिजन्य कच्चा पदार्थ झापाबाट भारत हुँदै बर्मा र चीनतर्फ लैजाने योजना रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

स्युडो मिसिएको औषधिलाई अन्तरराष्ट्रिय तस्करले ल्याबबाट प्रशोधन गरी ‘आइस ड्रग’ बनाउने गर्छन् । तस्करले एक किलो आइस ड्रग्स २ लाख डलरसम्ममा किन्ने गरेको पाइएको ब्युरोका अधिकारी बताउँछन् ।

कारोबार दैनिक

Madusudan Agrawal

विशेष