ताजा खबर News समाज

अनुदानको रकम आगलागीमा

अनुदानको रकम आगलागीमा

मंसिर १ । डढेको पैसाको पोको बोकेर ७४ वर्षीय भीमबहादुर तामाङ दोलखा सदरमुकाम चरिकोटमा भौंतारिरहेका छन् । भूकम्पमा घर भत्केपछि पाएको अनुदान रकम आगलागीमा जलेपछि उनको यो हाल भएको हो ।

डढेका नोट साट्न उनले चरिकोटका सबै बैंक चहारिसके । तर कुनैले पनि नमानेको उनले बताए । ‘घर बनाउन ज्यामी काम गरेर जोगाएको ६७ हजार र सरकारले दिएको ५० हजार स्वाहा भयो,’ उनले भने ।

लापिलाङ –९ का भीमबहादुरको कात्तिक १९ गते दिउँसो कटेरोमा आगलागी भयो । उनले ट्याङ्काभित्र ज्याकेटको खल्तीमा ६७ हजार राखेका थिए । अनुदानको ५० हजार ज्वारिकोटको गोजीमा थियो ।

आगोले पग्लने ज्याकेट भएकाले ६७ हजार रुपैयाँको खरानी पनि पाइएन । ज्वारिकोटको ५० हजारका नोट पनि सद्दे नरहने गरी डढे ।छिमेकीले नोटको एकापट्टि कागज टाँसेर जोडिदिए ।

तिनै नोट साट्न अहिले उनी भौंतारिइरहेका छन् । पहिल्यै पत्नी र छोराछोरीको वियोगमा परिसकेका भीमबहादुरका सबै सम्पत्ति आगोमा नष्ट भएपछि बुढ्यौलीमा भूकम्पप्रतिरोधी घर बनाउने चाहना पुरा हुने छाँट छैन ।

कान्तिपुर

aglagi

विशेष