ताजा खबर News समाज

भारुको असर नेपालमा, बेहुलालाई सगुनमा चेक

भारुको असर नेपालमा, बेहुलालाई सगुनमा चेक

मंसिर २ । भारत सरकारले भारु पाँच सय र हजारका नोटमाथि प्रतिबन्ध लगाएपछि त्यसको असर वीरगन्जका वैवाहिक कार्यक्रममा परेको छ । भारु प्रतिबन्धका कारण वैवाहिक समारोहका कार्यक्रम सम्पूर्ण विधीहरु बैंक चेकबाट गर्न थालिएको छ । वैवाहिक समारोहमा दान दक्षिणा, सुगन तथा उपहारमा बेहुली पक्षले बैंक चेक दिने गरेका छन् । बुधबार वीरगन्जको होटल सुरजमा आयोजित एक वैवाहिक समारोहमा भारत झारखण्डको बेहुली पक्षले बेहुलालाई सुगनको रकम बापत चेक नै दिए ।

झारखण्डकी डाक्टर प्राची यादव र वीरगन्जको मनियारीका डाक्टर निरज यादवबीचको टिकाटालो (सगाई) समारोहमा बेहुली प्राचीका बुबा डाक्टर सुरेन्द्र यादवले आफूसँग नगद रकम नभएका कारण बेहुला निरजलाई सुगन बापत २१ हजार भारुको चेक दिए ।

उनले सगाई समारोहमा पूजापाठ गराइदिए बापत पुरोहीतलाई दक्षिणा पनि चेक नै दिए। भारतीय केन्द्रीय रिजर्भ पुलिस बल (सिआरपी) मा कमाण्डेट पदमा कार्यरत समेत रहेका बेहुलीका बुबा सुरेन्द्रले भने, ‘अहिले हामी वैवाहिक समारोहमा आए पनि भारतीय सरकारले लगाएको भारुमाथिको प्रतिबन्धका कारण नगद रकम नभएपछि चेकबापत नै सबै काम गरेका हौं ।’

यो घडी हाम्रो लागि सदैव स्मरणीय रहनेछ। उनले थपे, ‘यो विहेमा एक रुपैयाँ पनि दाइजो लेनदेन गरिएको छैन्, तर दाइजो नदिदा पनि अन्य विधी र खर्चका लागि रुपैयाँ त चाहिन्छ नै, हामीसँग नगद रकम छैन, त्यसैले चेकबाट नै सबै काम चलाउनु पर्ने बाध्यता आएको हो।’ बेहुलाका दाजु प्रदीप यादवले भारु नोटमाथिको प्रतिबन्धका कारण बेहुली पक्षसँग नगद रकम नभएका कारण बुधबार सम्पन्न सगाइ समारोहका अधिकांश खर्च आफूहरुले नै व्यवहोरेको बताए।

संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्षसमेत रहेका यादवले भने, ‘हामीलाई थाहा छ अहिले बेहुली पक्षसँग नगद छैन, त्यो बाध्यता बुझेर नै हामीले उनीहरुले गर्नु पर्ने खर्चमा सहयोग गरेका हौं।’

सगाई समारोहमा सहभागी पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले पनि भारु ठूला नोटमाथि लगाइएको प्रतिबन्धको असर भारत नेपालबीच रहेको रोटीबेटीको सम्बन्धमा पनि परेको बताएको छ । उनले भने, ‘चेकबाटै भएको यो वैवाहिक समारोहमा पण्डितले पनि दक्षिणा स्वरुप चेक नै पाउदा भारु प्रतिबन्धको असर सिमामा रहेका नागरिकबीचको सम्बन्धमा प्रत्यक्ष रुपमा देखिएको छ ।’

अन्नपूर्ण पोष्ट

Marridge

विशेष