News

'वसुन्धरा पार्क सम्बन्धी गुरुयोजना तयार गर्न निर्देशन'

'वसुन्धरा पार्क सम्बन्धी गुरुयोजना तयार गर्न निर्देशन'
मंसिर - २ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले पोखराको वसुन्धरा पार्कलाई संरक्षण गरी यसलाई पार्ककै रुपमा विकसित गर्न गुरुयोजना तयार गर्न सहरी विकास डिभिजन कार्यालय कास्कीलाई निर्देशन दिएका छन् । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय कास्कीको कार्यालय भवन निरीक्षणका क्रममा बिहीबार पार्क पोखराको महत्वपूर्ण स्थल भएकाले यसलाई पार्ककै रुपमा विकास गर्न एउटा बृहत्तर गुरुयोजना निर्माण गर्न निर्देशन दिएका हुन् । मन्त्री केसीले पोखरा उपमहानगरपालिका– १४ तल्लो डहरेबाट लेखनाथ नगरपालिका जोड्ने पुल निर्माणका लागि पनि आवश्यक अध्ययन गर्न समेत सहरी विकास डिभिजन कार्यालयलाई निर्देशन दिए । सो अबसरमा कार्यालयबाट भइरहेका सेवा प्रवाहलगायतका विषयमा डिभिजन प्रमुख तपेन्द्रबहादुर खड्काले जानकारी गराए । यसअघि वसुन्धरा पार्क बचाउ समितिले वसुन्धरा पार्क संरक्षणका लागि मन्त्री केसीको ध्यानाकर्षण गराएका थिए । समितिका तर्फबाट २० बुँदे ज्ञापनपत्र प्रस्तुत गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले वसुन्धरा पार्क यहाँका महत्वपूर्ण सार्वजनिक सम्पत्ति भएकाले यसको संरक्षण गर्नु अपरिहार्य भएको बताए। ज्ञापनपत्र बुझ्दै मन्त्री केसीले सार्वजनिक स्थलका जग्गा संरक्षण सरकारका लागि प्राथमिकताका विषय भएको बताउँदै कुनै पनि नाममा सार्वजनिक जग्गा माथि हुने अतिक्रमण रोक्ने र त्यस्ता जग्गा ठेक्कापट्टा एवम् व्यक्तिगत भोगचलन हुन नदिनेतर्फ सरकार प्रतिबद्ध रहेको बताए। नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीकाअनुसार मन्त्री केसीले आजै कास्कीको थुमाको डाँडा गाविसका पूर्वअध्यक्ष एवम् नेपाली काँग्रेसका नेता कर्णबहादुर गुरुङकी धर्मपत्नी सीता गुरुङको असामयिक निधन भएकोमा उहाँकै घर पुगी स्व सीता गुरुङलाई पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरेका थिए। स्व सीता गुरुङको ६२ वर्षको उमेरमा उपचारका क्रममा बुधबार निधन भएको थियो । रासस

विशेष