News

महाभियोग प्रस्तावमाथिको छलफल आइतबार सकिने

महाभियोग प्रस्तावमाथिको छलफल आइतबार सकिने
onsari-gharti-magar मंसिर - ३  । आगामी आइतबारसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाभियोग प्रस्तावमाथिको छलफल टुङ्गोमा पुग्ने भएको छ । व्यवस्थापिका–संसद्को बैठकपछि शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख ओनसरी घर्तीले महाभियोगका विषयमा लामो समयसम्म छलफल गर्नेभन्दा पनि छिटो टुङ्ग्याउन आफूले प्रमुख दलका नेतालाई अनुरोध गरेको र प्रतिनिधिमूलक ढङ्गले कुरा राख्न प्रमुख सचेतकमार्फत सांसदलाई आग्रह गरेको जानकारी दिए । महाभियोग प्रस्तावमाथिको छलफलमा हालसम्म ५१ सांसदले आफ्नो धारणा राखिसकेका छन भने बाँकी ३० सांसदले बोल्न बाँकी छ । सभामुखका अनुसार हाल ३३ विधेयक छलफलका क्रममा छन् । प्रमुख विषयमा राजनीतिक दलबीच सहमतिको आवश्यकता रहेको उल्लेख गर्दै उनले पछिल्ला दिनमा लगातार भइरहेका बैठकले समेत सहमतिको वातावरण तयार पारेको जिकिर गरिन् । प्रमुख दलको सहमतिबिना महाभियोग लगायत राष्ट्रिय कार्यसूची अगाडि बढ्न नसक्ने भएकाले त्यसमा ध्यान दिन आफूले आग्रह गरेको उनकाे कथन थियो । संविधान कार्यान्वयनसँग जोडिएका विधेयकलाई प्रमुखताका साथ अगाडि बढाउन आफूले बिहानको समयमा समितिको बैठक राख्न र अपराह्न मात्रै सदनको बैठक राख्ने गरी समय मिलाएको जानकारी दिइन् । “संविधान कार्यान्वयनसँग जोडिएका विधेयक र अन्य विधेयकलाई सँगै लैजानुपर्छ भन्ने सोचका साथ समय व्यवस्थापन गरिएकाले सहजता हुन्छ भन्ने मैले विश्वास गरेको छु” सभामुखले भनिन्। रासस

Lokman Sing Karki Onsari Ghartimagar sabhamukh

विशेष