अर्थ ताजा खबर News

फागुन १९ बाट पुराना गाडी सञ्चालनमा प्रतिबन्ध

फागुन १९ बाट पुराना गाडी सञ्चालनमा प्रतिबन्ध

मंसिर ५ । सरकारले आगामी १९ फागुनदेखि २० वर्ष पुराना भाडाका गाडी सञ्चालन गर्न नदिने भएको छ । प्रदूषण नियन्त्रण र बढ्दो सवारी चापलाई न्यूनीकरण गर्न सरकारले कडाइ गर्न लागेको हो। १८ फागुन ०७१ मा सरकारले राजपत्रमा सूचना निकाल्दै २० वर्ष पुराना गाडीको सम्पूर्ण राजस्व तिर्न समयावधि दिएको थियो। आगामी फागुनमा दुई वर्षको अवधि पूरा हुने भएकाले १९ गतेदेखि भाडाका गाडी सञ्चालनमा प्रतिबन्ध लगाउन लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए। ‘कार्य्विधि बनाउने काम भइरहेको छ,’ उनले भने, ‘केही दिनभित्रै सूचना निकाल्छौँ, फागुन १९ गतेबाट २० वर्ष पुराना भाडाका गाडी प्रयोग गर्न पाइँदैन।’

व्यवसायी आफैँले पुराना गाडी पत्रु बनाउनुपर्ने

आगामी १९ फागुनपछि पुराना गाडी व्यवसायी आफैँले पत्रु बनाउनुपर्ने भएको छ । बस, ट्रक, माइक्रोबसलगायतका भाडाका सवारीसाधन कवाडीमा बेच्नुपर्ने हुन्छ । सवारी तथा यातायात व्यवस्था ऐनमा २० वर्ष पुराना गाडी हटाउनुपर्ने प्रस्ट प्रावधान छैन । तर, यातायात व्यवस्था विभागले आवश्यकताअनुसार पुराना गाडी नियन्त्रण गर्न सकिने जनाएको छ। सोही आधारमा विभागले २० वर्ष पुराना गाडी हटाउन लागेको हो ।

निजी गाडीमा पनि लाग्न सक्छ प्रतिबन्ध

पहिलो चरणमा भाडाका सवारीसाधनमाथि २० वर्षको प्रावधान लागू गर्न लागिएको हो । क्रमशः निजी गाडी तथा मोटरसाइकलमा पनि लागू गरिने यातायात व्यवस्था विभागका प्रवक्ता डा. पाण्डेले बताए । अटेर गरे ट्राफिकले नियन्त्रणमा लिने

२० वर्ष पुराना गाडीको विवरण संकलन भइरहेको र १९ फागुनदेखि ती गाडी सञ्चालन भएमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिने यातायात व्यवस्था विभागका प्रवक्ता डा। टोकराज पाण्डेले बताए। तर, व्यवसायी असन्तुष्ट छन्। ‘मिहिन ढंगले छलफल गरेर मात्र पुराना गाडी हटाउनुपर्छ,’ राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला भन्छन्, ‘व्यवसायीको ठूलो लगानी छ, त्यसलाई त्यत्तिकै फाल्न मिल्दैन, सरकारले क्षतिपूर्ति दिनुपर्छ।’ २० वर्षभन्दा पनि गाडी कुदेको किलोमिटरलाई आधार बनाएर पुराना गाडी हटाउनुपर्ने उनी बताउँछन् ।

नयाँ पत्रिका

Old bus

विशेष