News

कञ्चनका पति मोहनको सनसनीपूर्ण बयान, कथाले लियो भिन्दै मोड !

कञ्चनका पति मोहनको सनसनीपूर्ण बयान, कथाले लियो भिन्दै मोड !

mohan-regmi-nepalaaja


पवित्र समाज नेपालद्वारा उद्धार गरिएकी कञ्चन रेग्मीको कथा शुरुमा नेपालआजले प्रकाशित गरेको थियो । समाजकी संचालिका दिक्षा चापागाईले फेसबुकवालमा कञ्चनलाई उद्धार गरिएको तस्विर पोष्ट गरेकी थिइन् । सोही पोष्टलाई पछ्याउँदै नेपालआजले फिचर स्टोरी तयार गरेको थियो । उनले पतिमाथि समलिङ्गीको आरोप लगाएकी थिइन् ।

सो बखत कञ्चनले परिवारको प्रतिष्ठा र छोराहरुको भविष्यका लागि भन्दै पतिको नाम उल्लेख गर्न इन्कार गरेकी थिइन् । टेलिभिजन कार्यक्रममा कञ्चनको जीवन कथा आइसकेपछि र पतिको आंशिक पहिचानसमेत खुलेपछि विषयले व्यापकता लियो । नेपालआजले शुरुमा प्रकाशित गरेको कञ्चनको कथालाई हेडलाइन परिवर्तन गरी पुनः प्रकाशित गर्यो ।

कञ्चनका श्रीमान को हुन् ? चौतर्फी खोजि शुरु भइसकेको थियो । नेपालआजले कञ्चनसँग उनको श्रीमानका बारेमा बताइदिन आग्रह गर्यो । उनले फोन चापागाईंलाई दिइन् । चापागाईंले श्रीमान र छोराहरुको नाम बताए पनि फोन नम्बर नभएको जनाइन् । साथै, सञ्चो-बिसञ्चो बाहेकका कुरा कञ्चनसँग नगर्न आग्रह गर्दै सबै कुरा आफूलाई सोध्न सुझाइन् । श्रीमानको नाम थाहा भइसकेपछि हामीले फेसबुक सर्च गर्यौं । उनको वालमा उनीमाथि आक्रोश व्यक्त गरिएको थियो । कञ्चनको अन्तरवार्ता ट्याग गरिएको थियो । मोहनले सत्य बुझेर मात्र टिप्पणी गर्न अनुरोधसहित स्टाटस लेखेका थिए । उनले छोराहरुलाई विषयमा नजोड्न आग्रह गरेको भेटियो ।

मीना अारजे थापा नामक फेसबुक युजरको वालमा निर्दोष छोराहरुमाथि आलोचना किन ? र याे विषय एकतर्फी मात्र किन ? भन्ने आशयको पोष्ट गरिएको नेपालआजले फेला पार्यो । थापाको वालमा पनि उनीमाथि लाञ्छनासहित टिकाटिप्पणी भइरहेको थियो । उनले रेग्मी परिवारलाई आफूले पहिले देखि चिनेको र विषयवस्तु एकतर्फी रुपमा आइरहेको स्पष्ट उल्लेख गरेपछि विषयवस्तु थप सन्देहपूर्ण बन्यो ।

अनेक प्रयत्नका बाबजुत मोहन रेग्मीको सम्र्पक नम्बर फेला पर्यो । उनको बोलि जस्ताको तस्तै राख्न चाहेको जनाएपछि उनी सार्वजनिक हुन राजी भए । कञ्चनले माइती नभएको बताएपनि मोहनले कञ्चनको आमासहित दाजुहरुको फेहरिस्त बताए । आफूहरु डेरा गरी बस्दाको ठेगाना दिए । उनले आफ्नो वैवाहिक जीवनमा भएका अनेकौ घटना सुनाए ।

नेपाल आजको टिम रेग्मी परिवार डेरा गरी बसेको स्थानमा बुझ्नका लागि पुग्यो । जहाँ कञ्चनको कथासँग बाझिने खालका सन्दर्भ सुनिए । कञ्चनले दाबी गरेजस्तो उनी नर्सका रुपमा ओममा काम नगरेको मोहनको भनाइ छ । शिक्षकसँग दुरव्यवहार गरेपछि अध्ययनकै बीचमा उनी निष्कासित भएको मोहनले नेपाल आजसँगको कुराकानीमा बताएका छन् ।

उनले कञ्चनले जाँडरक्सी खाने र परपुरुषलाई घरमा ल्याएर राख्ने गरेको सम्मका गम्भीर सन्दर्भ उठाएका छन् । र, सोको साक्षीका रुपमा छोराहरु रहेको र उनीहरुकै सल्लाहमा आफूले सम्बन्ध बिच्छेद गरेको जनाएका छन् । उनले अन्तरवार्तामा बहालवाला न्यायाधीशदेखि कञ्चनको आमासम्मलाई साक्षीका रुपमा उल्लेख गरेका छन् । उनले कञ्चनको कथालाई पूर्णतया काल्पनिक भन्दै बास्तविक पीडित आफू भएको जिकिर गरेका छन् ।

मोहनको नम्बर नरहेको जनाएकी दिक्षाले मोहनसँग यसअघि नै मोबाइलमा सम्र्पक गरेको पत्ता लाग्यो । यो विषय अति संवेदनशील बनेको छ । श्रीमानले सम्बन्धित टेलिभिजनलाई आफ्नो कुरा नसुनी कार्यक्रम प्रशारण नगर्न फेसबुकमार्फत पहिले नै आग्रह गरेको देखिन्छ । कार्यक्रम प्रस्तोताले समेत पीडक भनिएको परिवारलाई गाली नगर्न आग्रह गरेका छन् । उनले पीडक भनिएको परिवारको समेत अभिव्यक्ति सकेसम्म बाहिर ल्याउने सार्वजनिक घोषणा गरेका छन् । यो सबै दृष्टान्त हेर्दा कञ्चनको कथा सरल र सहज देखिदैन ।

पीडित को ? पीडक को ? गम्भीर प्रश्न बनेर तेर्सिएको छ । कञ्चनले भिडियो अन्तरवार्ता दिइसकेपछि रेग्मी परिवार निशानामा परेको छ । रेग्मी परिवार आफू पीडित भएको बताउँछ । संचारमाध्यमले सबै पक्षको आवाज दिनुपर्छ । घटनामा संलग्न एक पक्षको आवाज मात्र बाहिर आउँदा न्याय हुन सक्दैन ।


Kanchan Regmi mohan regmi

विशेष