कोलम्बिया सरकार र फार्कद्वारा संशोधित शान्ति सम्झौतामा हस्ताक्षर
मंसिर–१० । कोलम्बियाका राष्ट्रपति जोन म्यानुएल सन्तोष र रिभोलुसनरी आर्मड फोर्सेस फर कोलम्बिया (फार्क)का नेता रोड्रिगो लोन्डोनोले संशोधित शान्ति सम्झौतामा बिहीबार हस्ताक्षर गरेका छन् । सो शान्ति सम्झौता संसद् (कँग्रेश)मा पेश गरिने छ ।
यसअघिको शान्ति सम्झौता गत अक्टोबर २ मा भएको जनमतसङ्ग्रहबाट अस्विकृत भएको थियो । वर्तमान राष्ट्रपति तथा प्रतिपक्षी दलका नेता अल्भारो उरिबे नेतृत्वको पार्टीले सो सम्झौताले विद्रोहीलाई विगतका अपराधबाट छुट दिन लागिएको भन्दै विरोध जनाएपछि शान्ति सम्झौता अस्विकृत भएको थियो ।
संशोधित शान्ति सम्झौतामा अघिल्लो शान्ति सम्झौताका कमजोरी सच्याइएको र प्रतिपक्षीहरुको मागलाई सम्वोधन गर्ने प्रयास गरिएको सन्तोषले बताएका छन् । नयाँ सम्झौताले प्रतिपक्षी दललाई पनि जिम्मेबार बनाउने उनकाे विश्वास छ ।
तर प्रमुख प्रतिपक्षी दलले भने सम्झौताप्रति असन्तुष्टी जनाउदै आएको छ । नोवेल शान्ति पुरस्कार विजेता समेत रहेका राष्ट्रपति सन्तोषले पूर्वराष्ट्रपति उरीबेलाई मनाउन धेरै प्रयास गरेका थिए । झण्डै ५२ वर्षदेखिको द्वन्द्व अन्त्य गर्नेगरी यसअघि भएको शान्ति सम्झौता जनमतसङ्ग्रहबाट थोरै मत अन्तरले अस्विकृत भएपछि सरकार र विद्रोही फार्कका बीच नयाँ सम्झौतामा हस्ताक्षर भएको हो ।
यो सम्झौताले फार्क विद्रोही समूहलाई राजनीतिक पार्टीको रुपमा रुपान्तरण गर्ने उद्देश्य लिइएको छ । सन्तोषले संसदमा सो सम्झौताको पक्षमा मतदान गर्न संसद्का सदस्यलाई दवाव दिएका छन् । संसदमा सन्तोषको गठबन्धनको बहुमत रहेको छ ।
colombian government
FARC
peace deal