News

संविधानमा समावेश महिलाको हक कार्यान्वयनमा जोड

संविधानमा समावेश महिलाको हक कार्यान्वयनमा जोड
मंसिर - १० । महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत शुक्रबार पहिलो दिन पदयात्राको आयोजना गरिएको छ । ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज’ भन्ने मूल नाराका साथ शुक्रबारबाट सुरू भएको अभियानको शुभारम्भसँगै पदयात्राको आयोजना गरिएको हो । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र विभिन्न सङ्घ÷संस्थाद्वारा आयोजित सभालाई सम्बोधन गर्दै युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले संविधानले पहिलो पटक महिलाको हक स्थापित गरी केन्द्रदेखि समुदाय तहसम्मको राज्य संयन्त्रमा सहभागितालाई सुनिश्चित गरेको हुँदा त्यसको कार्यान्वयनमा जोड दिए । मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल र राष्ट्रिय महिला आयोगका कावा अध्यक्ष भवानी घिमिरेले महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्न एकताको आवश्यकता औँल्याए । अभियानको पहिलो दिन आज ओरेक नेपालले प्रकाशन गरेको महिलामाथि हुने हिंसाको यथार्थता ‘अन्वेषी’ नामक पुस्तक सार्वजनिक गरेको छ । पुस्तक सार्वजनिक गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र अधिकारकर्मी डा रेणु राजभण्डारीले मुलुकमा व्याप्त महिला हिंसाका घटना अन्त्य गर्न सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। ओरेकले यस वर्ष अभिलेखीकरण गरेका जम्मा एक हजार ७७५ घटनाको विश्लेषण गर्दा महिलामाथि भएका हिंसाका घटना सबैभन्दा बढी तराई क्षेत्रबाट प्राप्त भएको छ । यस वर्ष तराई क्षेत्रबाट ५२ प्रतिशत (९३०), पहाडी क्षेत्रबाट २९ प्रतिशत (५१५) र हिमाली क्षेत्रबाट १९ प्रशित (३३०) महिलामाथि भएका हिंसाका घटना सङ्कलन गरिएको छ ।

Daljeet Shreepali

विशेष