हिंसाविरुद्धको सोह्रदिने अभियानः ग्रामीण भेगका महिला अधिकारका बारेमा बेखबर
मंसिर ११ । जाजरकोटकी जयकुमारी विक अघिल्लो दिन बाँकी रहेको मकैको रोटी र नुन प्लास्टिकमा बेरेर बिहानै साँढे ५ बजे डोको बोकेर स्याउला ल्याउन जंगल लागिन् । जयकुमारीका श्रीमान् अघिल्ला दिनको मदिराको नशाले नछाडेका कारण बिहान ९ बजेसम्म ओच्छ्यानमै थिए । दुई छोरा र एक छोरी साना भएका कारण घरको खलोमा बसेर माटो खेलिरहेका थिए ।
भोक लाग्यो, जेई (आमा) भन्दै बच्चाबच्ची कराएको प्रष्टै सुनिन्थ्यो । मदिरा खाएर सुतेका बाबुको उठ्ने कुनै छाँटकाँट थिएन । बिहान काममा गएकी जयकुमारी स्याउला लिएर १० बजे फर्किन् । अनि छोराछोरीलाई मकैको रोटी पकाएर खुवाउन थालिन् ।
उता जयकुमारीका श्रीमानको निन्दा खुलेलगत्तै पुनः मदिरा सेवन गरेर खाना बनाउन ढिला गरेको भन्दै श्रीमतीसँग झगडा गर्न थाले । मदिरामा लठिएका रामबहादुरलाई श्रीमती बिहान नुनसँगको रोटी कम्मर बेरेर स्याउला ल्याएर आएको कहाँ थाहा थियो र ? उल्टै खाना ढिलो बनाएको भन्दै झगडा गर्दा जयकुमारी भाग्यलाई सराप्दै रुदै बसिन् ।
त्यस्तै खगेनकोट–२ का कालीबहादुर परियारले घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गरे । श्रीमती रतीकलाबाट दुईवटा छोरा छन् । रतीकला बहुविवाहको उजुरी दिएर न्याय पाउने कामभन्दा मेरो भाग्यमा यस्तै रहेछ, कसले सहयोग गर्छ हामीलाई, भन्दै श्रीमानको धम्कीकाबीच घरमै बसिरहेकी छिन् । उनका श्रीमानले रतीकलाको नागरिकता, विवाह दर्ता, छोराछोरीको जन्मदर्तासम्म गरिदिएका छैनन् ।
यी त प्रतिनिधि घटना मात्र हुन् । जिल्लाका अधिकांश ठाउँमा यस्ता समस्याले जरो गाडेको प्रशस्त देख्न, सुन्न पाइन्छ । जिल्लाका ग्रामीण भेगका अधिकांश महिला अधिकारका विषयमा जानकारी नै नहुँदा दैनिक हिंसा बढिरहको भए पनि अत्याचार सहेर बस्नु पर्ने बाध्यता रहेको छ । हिंसापीडित अधिकांश महिलाका नागरिकता, विवाह दर्तासमेत श्रीमानले नगरिदिँदा कानुनी उपचार खोज्न लड्न निकै समस्या हुने गरेको अधिवक्ता प्रकाशकुमार शाहीले बताए ।
छोराछोरी भइसके किन गर्नुप¥यो विवाह दर्ता, घाँस, दाउराको काम गर्ने महिलालाई किन चाहियो नागरिकता भन्ने जस्ता चिन्तनका कारण थप समस्या आएको पञ्चभयार मावि खगेनकोट–७ का शिक्षक वीरबहादुर खत्रीले बताए ।
महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएकोसमेत यहाँका महिला बेखबर छन् । सूचना, प्राविधिको पहुँच नभएका जाजरकोटका गाउँमा सदरमुकाम बाहेक अन्य ठाउँका महिलालाई १६ दिने अभियानका विषयमा जानकारी छैन ।
गाविस, जिल्ला सदरमुकाम, बजारमा समेत महिलाभन्दा पुरुष नै बढी खटिने र महिलालाई घरायसी काममा मात्र लगाउने भएका कारण महिलाले अधिकारको विषयमा जानकार नभएको अधिकारकर्मी पार्वती विकले बताए ।
संघ÷संस्थाले ग्रामीण क्षेत्रमा सञ्चालन गर्ने महिलाका कार्यक्रममा महिलालाई नपठाएर श्रीमान् नै जाने र श्रीमतीको नाम लेखेर आफैँ सही गरेर आउने चलनले गर्दा आफ्ना अधिकारका विषयमा महिला जानकारी पाउनबाट वञ्चित बनाइएको नायकवाडा–७ की महिला स्वयम्सेवी कृष्णकुमारी शाहीले बताइन् ।
वर्षौंभरी काम मात्र गर्ने, नियमित सरसफाइ अनि पोसिलो खाना पनि नपाउने यहाँका ग्रामीण क्षेत्रका महिलाको जीवन पद्धति दयनीय रहेको छ ।