सञ्चार माध्यमले आफ्नो नाम बिगारेकोमा प्रमकाे आपत्ति


नाम बिगारेको प्रमको आपत्ति सञ्चार माध्यमले आफ्नो नाम बिगारेर प्रस्तुत गर्ने गरेकामा प्रधानमन्त्रीले आपत्ति जनाए । “मेरो राहदानी, नागरिकता, राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र, मन्त्रिपरिषद्को बैठकमा गर्ने हस्ताक्षर, प्रमुख राजनीतिक दलको बैठकमा गर्ने हस्ताक्षरमा समेत ‘प्रचण्ड’ लेख्ने गरेको छु । तर सञ्चार माध्यमले किन मेरो नाम बिर्गाछ यो मैले बुझ्न सकेको छैन”–प्रधानमन्त्रीले भने । उनले प्रचण्ड क्रान्ति, परिवर्तनको नाम भएकाले केही सञ्चार माध्यमलाई स्वीकार गर्न गाह्रो भएको बताए । सरकारी सञ्चार माध्यमले समेत आफ्नो नाम बिगारेको भन्दै उनले सूचना तथा सञ्चारमन्त्रीलाई किन त्यस्तो भइरहेको छ भन्दै तत्काल निरुपण गर्न निर्देशन दिए । उनले सञ्चारकर्मीको समस्या समाधान गर्ने केही ठोस योजनाका साथ सरकार अगाडि बढेको र केही दिनभित्रै परिणामसमेत निस्कने बताए । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले श्रमजीवी पत्रकारको हितका लागि सरकारले नयाँ सोचका साथ काम गर्ने सोचेको तर कर्मचारीको व्यवहार आलटाल गर्नेमा नै केन्द्रित रहेको कारण केही समय लागेको उल्लेख गरे । सञ्चार माध्यममा ग्रामीण क्षेत्रको, परिवर्तन र उत्साहको समाचार नआउने गरेकोमा चिन्ता व्यक्त गर्दै उनले कमसेकम सरकारी सञ्चारमाध्यममा ती सामग्री प्रस्तुत भइरहेकाे बताए । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले सकारात्मक समाचार प्रवाह गर्न र जनताको विषय नै सञ्चार माध्यमको प्राथमिकतामा पर्नुपर्ने बताउँदै प्रेस सेन्टर नेपालमा आबद्ध पत्रकारले सोही विषयलाई ध्यान दिनुपर्नेमा जोड दिइन् । प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालको अध्यक्षतामा बसेको बैठकमा साङ्गठिनक र श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि चाल्नुपर्ने कदमलगायत विषय समेटिएको महासचिव विष्णु सापकोटाले जानकारी दिए । रासस Prachanda puspa kamal dahal