News

'लुम्बिनीलाई विभाजन गर्न नहुने'

'लुम्बिनीलाई विभाजन गर्न नहुने'
मंसिर - ११ । नेपाली काँग्रेसकी नेत्री पुष्पा भुसालले लुम्बिनीको ऐतिहासिक र धार्मिक पहिचान इतिहास भएकाले त्यसलाई टुक्र्याउनु वा विभाजन गर्न नहुने बताएकी छिन् । रिपोर्टर्स क्लबमा शनिबार आयोजित साक्षात्कारमा न्यूनतम् मापदण्ड बनाएर विगतमा सात प्रदेश बनाएको चर्चा गर्दै प्रदेशलाई मर्ज गर्ने वा छुट्याउन मापदण्ड बनाएर प्रदेश सभालाई अधिकार दिनुपर्नेमा जोड दिइन् । उनले भनिन् –“संविधानलाई कार्यान्वयन गर्न तीनवटा निर्वाचन समयमै सम्पन्न गर्न सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ ।’’ नेकपा (एमाले)का नेता रवीन्द्र अधिकारीले संविधानको व्यवस्था बाहिर गएर संविधान संशोधन गरिए एमालेले प्रतिवाद गर्ने बताउँदै सबै दल मिलेर संविधानलाई बलियो बनाउनुपर्नेमा जोड दिए। उनले संविधान गतिशील दस्तावेज भएकाले संविधान संशोधन हुनुहुँदैन भन्ने एमालेको मान्यता नरहेको बताउँदै संविधानको व्यवस्थाभित्र बसेर संशोधन आयो भने एमालेले साथ दिने बताए । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले सरकारले संविधान संशोधनको प्रस्तावका बारेमा मधेसी मोर्चाको बैठकले निर्णय गर्ने बताए । उनले सयौँ वर्षदेखिको एकात्मक शासन प्रणालीको अन्त्य गर्दै नेपाल सङ्घीयतामा गएको र मधेसी जनताको भावना प्रतिविम्बित भएको संशोधन प्रस्ताव आयो भने मधेसवादी दलहरुले संविधान संशोधन प्रस्तावको समर्थन गर्ने जानकारी दिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली नेता दिलनाथ गिरीले आफूहरु सत्तामा रहे पनि संविधान संशोधनको प्रस्ताव आधिकारिकरुपमा नआएको बताउँदै मधेसको समस्या जल्दाबल्दा भएकाले सर्वस्वीकार्यता बढाउन संविधान संशोधन गर्न पार्टी सकारात्मक रहेको बताए । उनले मधेसको समस्या जटिल भएकाले सम्बोधन हुनुपर्ने तर प्रतिपक्षको पनि भावना संविधान संशोधनमा प्रतिबिम्बित हुनुपर्ने बताए ।

Puspa Bhusal Rabindra Adhikari

विशेष