News

जलविद्युतकोे साठी प्रतिशत सुरुङ निर्माण

जलविद्युतकोे साठी प्रतिशत सुरुङ निर्माण
surungमंसिर १३ । म्याग्दीको नारच्याङ–१ मा घलेम्दी खोला जलविद्युत् आयोजनाको ६० प्रतिशत सुरुङ निर्माण भएको छ । घलेम्दी हाइड्रो लिमिटेडले विसं २०७१ देखि निर्माण सुरु गरेको पाँच मेघावाट क्षमताको आयोजनाको हालसम्म एक हजार २५ मिटर सुरुङ निर्माण भएको हो । इन्टेकतर्फबाट ३७० मिटर र विद्युत् गृहतर्फबाट ६५५ मिटर सुरुङ निर्माण भएको आयोजनाका निर्देशक अनन्तराज पोख्रेलले जानकारी दिए । उनका अनुसार आगामी चैत महिनाभित्र बाँकी ६६० मिटर सुरुङ निर्माण सक्ने लक्ष्य राखिएको छ । कुनै अवरोध, विपद्, मजदुर र निर्माण सामग्रीको अभाव नभए आयोजनाबाट आगामी एक वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । बाँध, सुरुङको प्रवेशबिन्दुतर्फ नहर बनाउने र फोरवेबाट विद्युत्गृहतर्फ पानी खसाल्ने पेनस्टक निर्माणको काम भइरहेको छ । यसैगरी उपकरण र मेसिनरी सामान खरिदका लागि प्रक्रिया अघि बढेको आयोजनाका इन्जिनियर पुस्कर श्रेष्ठले बताए । आयोजनामा दैनिक २०० जनाको हाराहारीमा जनशक्ति परिचालन भएका छन् । एक सय जना मजदुर आयोजना प्रभावित नारच्याङ गाविसकै छन् । आयोजनाप्रति समुदायको अपनत्वको भावना र सहयोग रहेको घलेम्दी हाइड्रो लिमिटेडका कार्यालय प्रमुख विमल रिजालले बताए । उनका अनुसार रु ८५ करोड लागत अनुमान गरिएको आयोजनामा संस्थापक सेयर सदस्यको रु ३० करोड लगानी रहेको छ । सेयर लगानीमा आयोजना प्रभावित क्षेत्र र जिल्लावासीलाई प्राथमिकता दिइएको रिजालले बताए ।

surung

विशेष