News

उत्थानशील सहरी समुदायका लागि राष्ट्रिय रणनीति मस्यौदा

उत्थानशील सहरी समुदायका लागि राष्ट्रिय रणनीति मस्यौदा
मंसिर - १३ । बहुप्रकोप उच्च भएको सहरी क्षेत्रलाई विपद् जोखिम न्यून गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उत्थानशील सहरी समुदायका लागि राष्ट्रिय रणनीति मस्यौदा तय गरेको छ । प्राकृतिक तथा मानव सिर्जित प्रकोप र तिनको जोखिम न्यूनीकरणको प्रयासलाई उत्थानशीलका रुपमा परिभाषित गर्न सुरु गरिएको छ । सो मस्यौदाले मन्त्रालयअन्तर्गतका २१७ नगरपालिकालाई समेटेको छ । मन्त्रालयद्वारा मस्यौदालाई अन्तिमरुप दिन शुक्रबार आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार सो रणनीतिभित्र ती सबै नगरपालिकाभित्र हाल र भविष्यका प्रकोपको पहिचान, व्यक्ति, परिवार, समुदाय, समाज, क्षेत्र र त्यहाँका संस्थागत व्यवस्थामा प्रकोपले पार्न सक्ने असरका आँकलन, सम्भावित क्षति न्यूनीकरणको उपाय अवलम्बन र प्रकोपका सम्भावित आघात सहने उपाय अवलम्बनका बारेमा विस्तृत विश्लेषण गरिएको छ । भूकम्प, बाढी, पहिरो, हिमताल विस्फोटन, डढेलो, खडेरी, चट्याङजस्ता प्राकृतिक प्रकोप र मानवजन्य प्रकोप आगलागी, दुर्घटना, भूक्षयलगायतका जोखिम कम गर्न अपनाइनुपर्ने संस्थागत र प्रविधिगत क्षमताका बारेमा मस्यौदामा उल्लेख गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले प्राकृतिक तथा मानवजन्य विपद्को जोखिमलाई न्यूनीकरण गर्न समुदाय र सरकार अलगअलग रुपमा हिँड्न नहुने विचार राखे । उनले विपद्का समयमा ‘एकापसमा सहयोग गर्ने’ परम्परागत ज्ञानलाई बचाउँदै थप प्राविधिक र वैचारिक ज्ञान समुदायमा पु¥याउन आवश्यक भएको चर्चा गर्दै यस्ता नीतिलाई व्यावहारिक रुपमा समुदायसम्म पुर्याए । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले प्रकोप आइलाग्दा कसरी बँच्ने भन्ने बारेमा समुदायलाई कागजी ज्ञानभन्दा व्यावहारिक ज्ञान दिनुपर्ने । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भूकम्पपछि पुनःनिर्माणका लागि स्थानीयस्तरमा पुनःनिर्माण सामुदायिक समिति गठन गर्न कार्यविधि पारित भएको जानकारी दिए। उनले स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा पुनःनिर्माणमा कठिनाइ भएको उल्लेख गर्दै विपद्का समयमा एकापसमा सहयोग गर्ने संस्कृतिलाई बढवा दिन आवश्यक रहेको बताए । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराई, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव गोपी मैनालीले कार्ययोजनालाई कार्यान्वयनमा ल्याउने जानकारी दिए ।

Sanghiya Mamila Mantrayala

विशेष