ताजा खबर राजनीति News

मिले प्यूठानी र रोल्पाली, संयुक्त आन्दोलन गर्दै

मिले प्यूठानी र रोल्पाली, संयुक्त आन्दोलन गर्दै

मंसिर १४ । हाल कायम ५ नम्बर प्रदेशबाट रोल्पा, प्यूठानलगायत पहाडी जिल्ला छुट्याउन लागेको भन्दै बेग्लाबेग्लै आन्दोलन गरिरहेका जिल्लाबासीहरु आजदेखि भने संयुक्त आन्दोलनमा उत्रने भएका छन् ।

सोमबार प्यूठानको भिङ्ग्रीमा बसेको रोल्पा र प्यूठानका राजनीतिक दल र नागरिक समाजका प्रतिनिधि संलग्न सर्वदलीय, सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले प्यूठानका पूर्व सांसद मुक्तिप्रसाद शर्माको संयोजकत्वमा २३ सदस्यीय संयुक्त सङ्घर्ष समिति समेत गठन गरेको छ । उक्त समितिमा दुवै जिल्लाका राजनीतिक दलका प्रमुख, नेपाल पत्रकार महासङ्घ, उद्योग वाणिज्य सङ्घ र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष सदस्य रहेका छन् ।

सोमबार प्रकाशित संयुक्त विज्ञप्तिमा ५ नम्बर प्रदेशबाट रोल्पा र प्यूठान छुट्याउने कार्य कदापि स्वीकार्य नहुने उल्लेख गरिएको छ । जनताको भावनाविपरीत जबजस्ति गर्न खोजिए प्रतिरोधात्मक आन्दोलन गरिने विज्ञप्तिमा उल्लेख छ ।

विरोधस्वरुप दुवै जिल्लाको आयोजनामा बिहीबार रोल्पा र प्यूठानको सीमा क्षेत्र चतुरभुजमा बृहत् खबरदारी सभा गरिन लागेको पत्रकार महासंघ रोल्पाका अध्यक्ष तथा संयुक्त सङ्घर्ष समितिका सदस्य सचिव महेश न्यौपानेले जानकारी दिए ।

Andolan

विशेष