विदेश

अस्ट्रेलियाली न्यायपालिकाकाे ११३ वर्षे इतिहासमा पहिलो पटक महिला प्रधान न्यायाधिश

अस्ट्रेलियाली न्यायपालिकाकाे ११३ वर्षे इतिहासमा पहिलो पटक महिला प्रधान न्यायाधिश
suprim-court-in-austrelia मंसिर - १४ । अस्ट्रेलियाको न्याय सम्पादन प्रणालीको ११३ वर्षको इतिहासमा पहिलो पटक एउटी महिला सर्बोच्च न्यायासनमा नियुक्त भएकी छन् । अस्ट्रेलियाली न्यायालयहरुको श्रेणी ब्यवस्थापन अनुसार सर्बोच्च अदालतको उच्चतम निकायः सात–सदस्यीय इजलासको वरिष्ठतम न्यायाधिशले नै मुलुकको प्रधान न्यायाधिशको कार्यभार सम्हाल्छन् । सोहीपदमा हाल, उच्च न्यायालयको माननीय न्यायाधिस पदमा कार्यरत ६२ वर्षीया सुसन काइफेललाई आगामी वर्षको जनवरीदेखि बहाली हुनेगरी अस्ट्रेलियाली सरकारले नियुक्त गरेको छ । अस्ट्रेलियाका वर्तमान प्रधान न्यायाधिश माननीय रोबर्ट फ्रेञ्चले अवकाश प्राप्त गर्नुहुने भएकोले रिक्त पदमा माननीय सुसन काइफेललाई नियुक्त गरिएको हो । आगामी जनवरीदेखि उनले अस्ट्रेलियाको १३ औं प्रधान न्यायाधिशको रुपमा पदभार सम्हाल्नु हुनेछ । उनको यस नियुक्तिलाई अस्ट्रेलियामा सन् १९०३ देखि शुरु भएको न्याय सम्पादन प्रणालीको इतिहासमा सर्बोच्च अदालतको प्रधान न्यायाधिश पदमा पहिलो पटक एउटी महिला आसिन हुन सफल भनी चर्चा गरिएको छ । पन्ध्रबर्षको कलिलै उमेरमा प्राज्ञिक शिक्षा छाड्दै ब्रिस्बेनको सरकारी विद्यालयबाट पलायन भएकी सुसनले स्थानीय एक प्राबिधिक शिक्षालयमा नीजि सचिवालय सञ्चालन सम्बन्धि (सेक्रेटरियल प्राक्टिस) तालिम लिएकी थिइन् । सो तालिमपश्चात् निजी सचिबको जागिर खाने ध्याउन्नमा लागि एउटा कानून व्यबसायीको वकालती फर्ममा दिनभर अफिसमा काम गर्दै उहाँले बल्लतल्ल स्कूलको माध्यमिक शिक्षा पूरा गरेकी थिइन् । माध्यमिक शिक्षा पूरा भएपछि उनले सदाझैँ दिनभर अफिसमा काम गर्दै राति राति निरन्तर कानून शिक्षा अध्ययन गर्नु भै बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर उपाधि हासील गरिन् । कानूनी शिक्षाको निरन्तर, अथक र गहिरो अध्ययनले नै उहाँलाई न्याय सम्पादन क्षेत्रमा सफल बनाएको र सन् १९९३ मै उहाँ क्वीन्सल्याण्ड राज्यको उच्चतम न्यायालयको पहिलो महिला न्यायाधिश भैसकेकी थिइन् । हाल, उच्च न्यायालयको इजलासमा कार्यरत तीनजना महिला न्यायाधिशहरुमध्ये उनी वरिष्ठतम र वर्तमान प्रधान न्यायाधिश माननीय रोबर्ट फ्रेन्चपछि सबभन्दा बढी समयसम्म न्याय सेवामा समर्पित सरकारी कर्मचारी हुन्। प्रधान न्यायाधिश पदनियुक्ति घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री माल्कोम टर्नबुलले नवनियुक्त माननीय सुसनको प्रशंसा गर्दै “एउटा कानून व्यबसायीको वकालती फर्ममा निजी सचिब भएर काम गर्ने एउटी महिला पनि निरन्तर अध्ययन, कडा मेहेनत र अथक परिश्रममा लागेर एक दिन देशको सर्बोच्च अदालतको प्रधान न्यायाधिश भै अनुकरणीय उदाहरण बन्न सक्छिन्” भनेका छन् । एपी

Australasia Supreme Court

विशेष