विदेश

थाइल्यान्डका युवराजद्वारा राज्याभिषेकको स्वीकारोक्ति

थाइल्यान्डका युवराजद्वारा राज्याभिषेकको स्वीकारोक्ति
thailand-prince मंसिर - १५ । थाइल्यान्डका युवराज महा भाजिरालोङकोर्नलाई नरेश बनाउने मन्त्रिपरिषद्को प्रस्तावलाई अनौपचारिक रुपमा उनले स्वीकार गरिसकेकाे उपप्रधानमन्त्री प्रावित वङसुवानले बुधबार बताएका छन्। “युवराजले राज्याभिषेकका लागि गरिएको निमन्त्रणालाई स्वीकार गरिसक्नुभएको छ, राज्याभिषेकका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका छौँ,” प्रवितले बुधबार बिहान संवाददाताहरुलाई बताए । थाइल्यान्डको संसद्ले मङ्गलबार उनलाई राज्याभिषेकका लागि औपचारिक रुपमा आग्रह गरेको थियो । युवराज भाजिरालोङकोर्न आफ्ना पिताको देहावसानको निकै सातापछि मुलुकको नरेश बन्ने मार्ग खुल्ला भएको हो । अत्यधिक श्रद्धा गरिने नरेश भूमिबोल अदुल्यादेजको गत अक्टोबर १३ मा ८८ वर्षको उमेरमा देहावसान भएको थियो । उनले थाइल्यान्डमा ७० वर्ष शासन गरेका थिए । यसअघि युवराज भाजिरालोङकोर्नले आफ्ना पिता भूमिबोलको देहावसानपछि आफू शोकमा रहेको अवस्थामा आफ्नो नाम नरेशका रूपमा घोषणा गर्ने काम रोक्न आग्रह गर्नुभएको सैनिक सरकारले घोषणा गरेको थियो । मङ्गलबार मन्त्रिपरिषद्ले घोषणा गरेपछि स्वर्गीय नरेश भूमिबोलको उत्तराधिकारीका विषयमा आशङ्का हटेको छ । चौँसट्ठी वर्षीय युवराज भाजिरालोङकोर्नलाई चार दशकअगाडि नै नरेश भूमिबोल अदुल्यादेजको उत्तराधिकारीका रूपमा घोषणा गरिएको थियो । औपचारिक रुपमा थाइल्यान्डमा नरेशको सीमित संवैधानिक अधिकार रहेको छ । सात दशकसम्मको शासनमा भूमिबोलले सम्मानजनक राजाका रुपमा रहेका थिए । विशेषगरी उनी थाइल्यान्डको शक्तिशाली सैनिक सम्भ्रान्त वर्गमा शक्तिशाली सञ्जाल तयार गरेका थिए । उनले थाइल्यान्डमा सङ्कटको समयमा मध्यस्थकर्ताको कार्य पनि गरेका थिए । तालिम प्राप्त विमानचालक रहनुभएका युवराज भाजिरालोङकोर्नले आफ्नो पिताको जस्तो सम्मान प्राप्त गर्न बाँकी छ । उनको तीनपटक सम्बन्ध विच्छेद भएको र प्रहरीको भ्रष्टाचारका विषयमा उनका पूर्वपरिवारको नामसमेत जोडिने गरेको छ । नरेश भूमिबोलको देहावसानपछि युवराज भाजिरालोङकोर्नले अन्त्येष्टिका केही दैनिक संस्कारमा भाग लिनु भए तापनि कुनै सार्वजनिक भनाइ राखेका छैनन् । एक वर्षको शोक अवधिसम्म अन्त्येष्टिको संस्कार कायम रहने त्यहाँको प्रचलन रहेको छ । थाइल्यान्डमा स्वर्गीय नरेशको अन्त्येष्टिको संस्कार सम्पन्न भएपछि मात्र नयाँ नरेशलाई श्रीपेच पहि¥याउने चलन रहेको छ ।

Thailand Prince

विशेष