News

स्थानीय निकायको निर्वाचन गर्न चार दल सहमत

4-dal
म‌ंसिर–१५ । संविधानको कार्यान्वनयका लागि सबै राजनीतिक दल स्थानीय निकायको निर्वाचन गर्न सहमत भएका छन् । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएकाे बैठकमा सहभागी सबै राजनीतिक दल स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनका आधारमा र प्रतिवेदन आउन ढिलो भएमा पुरानै संरचनाअनुसार निर्वाचनमा जान सहमत भएका हुन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम र भीम रावल, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहाल र राप्रपाका अध्यक्ष कमल थापा सहभागी उक्त बैठकमा सबै राजनीतिक दलले निर्वाचन जान तयार रहेको अभिव्यक्ति दिएको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए । स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन आउन ढिलो हुने वा कानुन अपुग भएका अवस्थामा पुरानै संरचनाअनुसार निर्वाचनमा जान एमाले तयार भएको उनले जानकारी दिए । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री हरहालतमा निर्वाचनमा जान सहमति बनाउने पक्षमा रहेकाे र सोही उद्देश्यले बोलाइएको आजको बैठकमा स्थानीय निकायको निर्वाचन गराउने विषयमा सबै राजनीतिक दलका नेताले समर्थन जनाएकाे बताए । सरकारले स्थानीय निकायको निर्वाचन चैतको अन्तिम साता वा वैशाखको पहिलो साता गर्ने तयारी गरेको छ । त्यस विषयमा मधेसी मोर्चासँग भोलि छलफल गरेर अगाडि बढ्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिए । नेकपा(एमाले)का उपाध्यक्ष भीम रावलले पुनःसंरचना आयोगले ल्याएको प्रतिवेदनलाई सम्मान गर्ने र निर्वाचनमा जाने भन्ने विषयमा एमालेको विमति नभएको आफूहरुले बताएको जानकारी दिए । उनले भने – “स्थानीय निकाय वा अन्य निकायको निर्वाचन सबैमा जान एमाले तम्तयार छ ।” स्थानीय निकायको निर्वाचनमा जानुपर्छ भन्ने विषयमा सबै राजनीतिक दल सहमत भएको बैठकमा सहभागी काँग्रेस नेता डा रामशरण महतले जानकारी दिए । स्थानीय तह वा निकाय जुनसुकै भए पनि निर्वाचन गर्नुपर्छ भन्ने विषयमा बैठकमा छलफल भएको उनकाे भनाइ थियो ।

constitution nirbachan Prachanda

विशेष