News

व्यवस्थापिका संसदको बैठक शुक्रबारसम्मका लागि स्थगित

व्यवस्थापिका संसदको बैठक शुक्रबारसम्मका लागि स्थगित
मंसिर – १६ । सरकारले संविधान संशोधनको प्रस्ताव फिर्ता गर्न माग गर्दै प्रमुख विपक्षि दल नेकपा एमालेलगायतका केही दलहरुले व्यवस्थापिका संसदको बैठक अवरुद्ध गरेका छन् । प्रदेशको सीमाङ्कन हेरफेरसहित सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता गर्न माग गर्दै नेकपा एमाले लगायत विपक्षी दलहरूले संसद बैठक अवरुद्ध गरेका हुन् । संसदको बिहीवार बसेको बैठकलाई विपक्षी दलहरुले अवरोध सृजना गरेपछि सभामुख ओनसरी घर्ती मगरले शुक्रबार दिउँसो तीन बजेसम्मका लागि बैठक स्थगित गरेकी छिन् । संसदको बैठकको शुरूमै सभामुखसँग समय लिएर एमाले उपाध्यक्ष वामदेव गौतमले नेपाली जनता संशोधनको विपक्षमा रहेसम्म एमाले, राजमो, नेमकिपा लगायतका दलहरू संसदको बैठक अवरुद्ध गर्ने र बैठकलाई अगाडि बढ्न नदिने बताए । एमाले लगायत विपक्षी दलका सांसदहरू उभिएर विरोध गरेपछि सभामुख घर्तीले बिहीवारको बैठकमा संशोधन विधेयकको कार्यसूची नभएको भन्दै बैठक सुचारु गर्न आग्रह गरेकी थिइन् । विपक्षी सांसदहरूले विरोध जारी राखेपछि सभामुख घर्तीले संसद बैठक शुक्रवार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेकी हुन् । गौतम बोलिरहँदा संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा हिजो बिरामी परेका नेकपा एमालेका अध्यक्ष केपी ओली पनि उपस्थित थिए । संसद बैठक अवरुद्ध भएपछि प्रधानमन्त्री प्रचण्ड र एमाले नेताहरू हात मिलाउँदै संसदको लबीतर्फ लागेका थिए ।

onsari gharti magar samsad baithak Samsad Bhawan

विशेष