News

निर्वाचनका लागि कानुन बनाऊ : प्रमुख निर्वाचन आयुक्त

निर्वाचनका लागि कानुन बनाऊ : प्रमुख निर्वाचन आयुक्त
मंसिर–१६ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आगामी चैतमा गर्ने भनेको स्थानीय तहको निर्वाचन हुने अवस्था कम हुँदै गएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा स्थानीय निकायको निर्वाचन गर्ने हो भने त्यसका लागि आवश्यक पर्ने स्थानीय निकाय कार्यविधि ऐन २०४८ परिमार्जन गर्नुपर्ने बताउँदै उनले भने, “अहिले देशव्यापी रुपमा निर्वाचनको ठूलो माग छ, म आफँै मधेस, पहाड र हिमालका धेरै ठाउँमा जाँदा त्यहाँका जनताको चुनाव हुनुपर्छ भन्ने माग छ, आयोग यसमा गम्भीर छ ।” प्रमुख आयुक्त यादवले स्थानीय तहको निर्वाचन गर्ने हो भने त्यसका लागि चाहिने मतदाता नामावली ऐन, राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, स्थानीय तह कार्यविधि ऐन तथा स्थानीय तह निर्वाचन कार्यविधि ऐन सरकारले चाँडो पारित गर्नुपर्ने बताए । उनले सबै निकायको निर्वाचन गराउन आयोग तयार रहेको बताउँदै पुरानो संरचनाअनुसार नै स्थानीय निकायको चुनाव गराउने हो भने भूगोलको समस्या नहुने विचार व्यक्त गरे । कानुन नै नभएको अवस्थामा आफूहरुले यति समयमै निर्वाचन हुन्छ भनेर भन्न सक्ने आधार नभएको उनकाे भनाइ थियो । प्रमुख आयुक्त यादवले विसं २०७४ माघ ७ गतेभित्रै तीनवटै निकायको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता भएकाले त्यसका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

Dr. Ayodhi Prasad Yadav

विशेष