सम्पदास्थल संरक्षण गर्न नाबेल पुरस्कार विजेताको आग्रह
मंसिर–१६ । कट्टरपन्थी समूह तथा द्वन्द्वका कारण सम्पदास्थल नष्ट हुन नदिन तत्कालै अन्तर्राष्ट्रिय कारबाहीका लागि पाँच नोबेल पुरस्कार विजेताले बिहीबार आग्रह गरेका छन् ।
अबु धाबीमा एक अन्तर्राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा यी व्यक्तित्वले उक्त आग्रह गरेको हो । उनीहरुले इराक, सिरिया, अफगानिस्तान तथा मालीका प्राचीन स्मारक स्थलमा पूर्ति हुनै नसक्ने क्षति भएको उल्लेख गरेका छन् । उनीहरूले कट्टरपनाको लक्ष्यका लागि भविष्यप्रति जनताको आसा कमजोर बनाउँदै इतिहासका केही भाग सधैँका लागि गुमेको बताएका छन् ।
उनीहरूले क्रोधका शक्तिविहीन अभिव्यक्तिको समय सकिएकाले यस विषयमा कारबाही हुनैपर्ने माग गरेका छन् । उक्त आग्रहमा म्यानमारका नेता आङ सान सु की, लाइबेरियाका राष्ट्रपति हेलेन जोनसन सर्लिफ तथा संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानले हस्ताक्षर गरेका छन् । उनीहरूका साथमा साहित्यका लागि नोबेल पुरस्कार विजेता टर्कीका ओरन पामुख तथा पेरुका म्यारियो भर्गस लोसा पनि रहेका छन् ।
इस्लामिक स्टेट समूहले दुई वर्षको अवधिमा सिरियाको प्राचीन पालमिरा नगरका मन्दिर तथा कब्रस्थान तथा इराकको मोसुल सङ्ग्रहालयका मूल्यवान सङ्कलन नष्ट गरेको पनि उल्लेख गरिएको छ । सन् २००१ मा तालिवानले अफगानिस्तानको बामियानमा रहेको बुद्धको प्राचीन मूर्ति नष्ट गरेको तथा सन् २०१२ तथा १३ मा मालीको अन्सर अल–डाइन लडाकूले टिम्बुक्टुमा समाधिस्थल तथा हस्तलिपि नष्ट गरेको उल्लेख गरिएकाे छ ।
फ्रान्स तथा संयुक्त अरब इमिरेट्सको प्रायोजनमा शुक्रबार आरम्भ हुने दुईदिने सम्मेलनमा जोखिममा परेका स्मारक तथा मानवनिर्मित स्मारकको संरक्षण र पुनःस्थापनाका लागि १० करोड अमेरिकी डलरको एक कोष स्थापना गर्ने लक्ष्य राखिएको छ ।
heritage
noble prize winner