कभर स्टोरी News स्वास्थ्य

मृत शरीरको मुख्य बिक्रेता शिक्षण अस्पतालः एक शवको दाम ७ हजार

मृत शरीरको मुख्य बिक्रेता शिक्षण अस्पतालः एक शवको दाम ७ हजार

body-donation-nepalaaja


मंसिर १७ । विश्वको जुनसुकै देशमा पनि मेडिकल शिक्षाका विद्यार्थीलाई अभ्यासका लागि मृत शरीर –(cadaver क्याडभरको) आवश्यकता पर्दछ ।

डाक्टर बन्नु पूर्व मेडिकल कलेजमा विद्यार्थीहरुको लागि क्याडभरको विभिन्न अंग चिरफार (डाईसेक्सन) गर्न लगान्छ । यस्तै अभ्यासबाट विद्यार्थीहरु दक्ष डाक्टर बन्दछन् ।

नेपाल मेडिकल काउन्सिलको रेकर्ड अनुसार नेपालमा हालसम्म २० वटा मेडिकल कलेजले मेडिकल साइन्सको शिक्षा दिँदै आएका छन् । ती मध्ये सातवटा उपत्यकाभित्र र बाँकी १३ वटा उपत्यका बाहिर छन् ।

मेडिकल साइन्सका जानकारहरुका अनुसार डाक्टर बन्नको लागि क्याडभर डाइसेक्सनको विकल्प नै छैन । क्याडभर डाइसेक्सनको अभ्यास नगरी डाक्टर बन्न नै सकिदैन । यो एमबिबिएसको एनोटोमी कोर्षमा अनिवार्य पढ्नुपर्छ । त्यसैले, सामान्य डाक्टर होस् या शल्यक्रिया विशेषज्ञ डाक्टर बन्नको लागि एमबिबिएस पढ्ने सबैले क्याडभर डाइसेक्सनको अभ्यास गर्नै पर्छ ।

‘डाक्टर पढ्ने विद्यार्थीहरुको अभ्यासको लागि क्याडभर कहाँबाट आउछ ? सबै विद्याथीहरुले अभ्यास गर्न पाउँछन की पाउँदैनन् ? धेरैजसो मेडिकलका विद्यार्थीहरु बिरामीको नाडी नछामी र क्याडभर डाइसेक्सन अभ्यास नगरीकन डाक्टर बन्छन ?’ यी प्रश्न पछिल्लो समय चौतर्फी बहशमा छन् । डाक्टर गोविन्द केसीको एउटा मागभित्र विद्यार्थीको प्रयाप्त अभ्यासका बारेमा छ, जुन क्याडभर डाइसेक्सनसँग पनि सम्बन्धित छ ।


नेपालमा क्याडभर (मृत शरीरको) अवस्था

नेपालमा शरीरदानको आवश्यकताको महसुस धेरै पहिलादेखि भएको हो । तर, अझै पनि नेपालमा शरीरदान गर्ने कुनै नियम प्रावधान बनेको छैन । ‘शरीरदानको नियम नै नभएको देशमा कहाँबाट क्याडभर आउछ ? मेडिकल साइन्स पढ्ने विद्यार्थीहरुले कसरी अभ्यास गरिरहेका छन् । ?’ प्रश्न गम्भीर छ ।

नेपालको नजिकैको देश बंगलादेशमा डाक्टरी पढाइ गुणस्तरीय हुने बंगलादेश मेडिकल कलेजमा पढ्दै गरेका नेपाली विद्यार्थी सुशील महत बताउछन् । उनी भन्छन ‘बंगलादेशमा क्याडभर सक्कली पाइन्छ । बोन, मुटु, तथा अन्य आन्तरिक अंगहरु सक्कली नै हुन्छ । क्याडभरमा धेरैभन्दा धेरै डाइसेक्सन गर्न पाइन्छ । किनकि त्यहाँ शरीरदानको प्रावधान छ । मेडिकल पढ्ने विद्यार्थीहरुको लागि क्याडभरको कमी कहिल्लै हुँदैन  ।’

उनको अनुसार बंगलादेशको कलेजमा एउटा समूहले डाइसेक्सनको लागि एउटा क्याडभर बढिमा २ देखि ३ महिना मात्र चलाउँछन् । त्यसपछि नयाँ क्याडभर उपलब्ध हुन्छ । थोरै समूहले धेरै क्याडभरमा अभ्यास गर्न पाइन्छ । त्यसैले नेपाल र बंगलादेशको डाक्टरी पढाइमा अन्तर छ ।

नेपालमा बंगलादेशको भन्दा ठीक उल्टो छ । नेपालमा शरीरदानको प्रावधान नभएको कारणले क्याडभर सजिलै पाइदैन । ४० सिट भएको मेडिकल कलेजले १५० जनासम्म विद्यार्थी भर्ना गरिरहेका छन् । डाइसेक्सनको लागि क्याडभर सजिलै पाइदैन । महाराजगंज मेडिकल क्याम्पसमा अध्यनरत एक विद्यार्थी भन्छन ‘डाइसेक्सन अभ्यास ठूलो समूहमा गर्नुपर्ने हुन्छ ।’

विसं २०५७ सालभन्दा अगाडि नेपालमा मेडिकल पढ्ने विद्यार्थीहरुको अभ्यासको लागि क्याडभर भारतबाट आउथ्यो । नेपालमा भएका सबै मेडिकल कलेजहरु क्याडभरको लागि भारतसँग निर्भर रहन्थे । २०५७ सालमा फोरेन्सिक मेडिसिन विभाग खुलेपछि भारतबाट ल्याउनुपर्ने झन्झट हटेको महाराजगंज मेडिकल क्याम्पसका उपप्राध्यापक डाक्टर रिजेन श्रेष्ठ बताउछन । उनी भन्छन ‘२०५७ सालभन्दा पहिले हामी भारतमा निर्भर थियौँ । अहिले डेथ बडी हामीसँगै छ ।’


कहाँबाट आउछ क्याडभर (मृत शरीर )?

त्रिवी शिक्षण अस्पताल महाराजगंजमा विभिन्न किसिमका बेवारिसे लाशहरु आउछन् । बेवारिसे रुपमा आएका लाशहरुको आफन्तको खोजी प्रहरीले गर्दछ । २८ दिनसम्म खोजीसक्दा पनि बेवारिसे लाशहरुको आफन्त नभेटेपछि उक्त लाशलाई प्रहरीले फोरेन्सिक मेडिसिन विभागमा बुझाइदिन्छ ।

उपप्राध्यापक श्रेष्ठ भन्छन ‘फोरेन्सिक मेडिसिन विभागमा विभिन्न मेडिकल कलेजहरुले क्याडभर माग गरेर निवेदन दिन्छ । उक्त निवेदन प्राप्त भएपछि प्रहरीलाई फोरेन्सिक मेडिसिन विभागले निवेदन दिन्छ । प्रहरीले स्वीकृती दिएपछि मेडिकल कलेजहरुले अभ्यासको लागि क्याडभर पाउँछन । ’

श्रेष्ठको अनुसार मेडिकल कलेजले एउटा क्याडभर लगेबापत सात हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो दर नेपाल सरकारले तोकेको हो । मेडिकल कलेजलाई आवश्यक पर्ने बेवारिसे लाश चोटपटक लागेको छैन भने मात्र प्रयोग गर्न सकिने डाक्टर श्रेष्ठ बताउछन् । उनी भन्छन ‘टिचिङबाट विपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बाहेक सबैले बार्षिक ७ देखि १२ वटा सम्म क्याडभर लैजान्छन । विपि स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहेक सबै मेडिकल कलेजहरु क्याडभरको लागि टिचिङमा निर्भर छन् ।’

पाटन अस्पताल प्रशाशनका अनुसार विभिन्न ठाउँमा फेला परेका बेवारिसे लाशहरु सम्बन्धित जिल्लामा जान्छ । जुन जिल्लामा लाश भेटिएको हो, त्यही जिल्लाको अस्पतालमा जान्छ । २८ दिनसम्म पनि दावी नपरेका लाशहरु प्रहरीले नगरपालिकालाई बुझाएर दाहसस्कार गर्ने पाटन अस्पतालका प्रशासन अधिकृत तिर्थराज भुजेल बताउछन् । उनी भन्छन् ‘हाम्रो अस्पतालमा आएका बेवारिशे लाशहरु नगरपालिकाले दाहसस्कार गर्छ । हाम्रो विद्यार्थीको लागि चाहिने क्याडभर टिचिङबाट आउछ ।’


क्याडभर (मृत शरीर) विद्यार्थीहरुको लागि पर्याप्त छ कि छैन ?

महाराजगंज मेडिकल क्याम्पसका प्राध्यापक डाक्टर गोविन्द श्रेष्ठका अनुसार मेडिकल कलेजहरुको लागि क्याडभर पर्याप्त छ । बेवारिसे लाशहरुले नै अहिलेसम्म पुगिरहेको छ । तर, फोरेन्सिक विभागसँग बेवारिशे लाश कति आए र कुन कलेजले कति लगे एकिन डाटा नभएको श्रेष्ठ बताउछन् ।

एउटा कलेजले ७ देखि १२ वटासम्म क्याडभर लैजादा २० वटा कलेजलाई १६० वटा भन्दा बढी क्याडभर चाहिन्छ । टिचिङ अस्पतालमा वर्षमा कसरी र कहाँबाट त्यतीधेरै वेवारिसे लाशहरु आउछन ? आएको सबै वेवारिशे लाशहरु मेडिकल साइन्सका विद्यार्थीहरुको डाइसेक्सनको लागि उपयुक्त हुँदैन  ।

अन्य जिल्लामा आएका बेवारिसे लाशहरु नगरपालिका मार्फत नै दाहसंस्कार गरिन्छ । यसरी हेर्दा मेडिकल पढ्ने विद्यार्थीहरुको लागि क्याडभर पर्याप्त हुने देखिदैन । किनकी २० वटा मेडिकल कलेजमा विद्यार्थीहरुको चाँप धेरै छ ।


यसकारण शरीरदान असम्भव

विश्वको विभिन्न देशमा शरीरदानको व्यवस्था भएतापनि नेपालमा शरीरदानको कानून अझैसम्म बनेको छैन । जसको कारण मेडिकल पढ्ने विद्यार्थीहरुको लागि क्याडभरको अभाव भइरहेको छ । पाटन अस्पतालको प्रशाशन अधिकृत तिर्थराज भुजेल भन्छन ‘हाम्रो अस्पतालमा शरीरदान गर्न ईच्छा व्यक्त गरेर धेरै आईसकेका छन । धेरै दम्पतीहरुले बुझेर गएका छन् । कानून नै नबनेकाले शरीरदान असम्भव छ । ’

महाराजगंज मेडिकल क्याम्पसका उपप्राध्यापक डाक्टर रिजेन श्रेष्ठ भन्छन् ‘शरीरदान गर्न ईच्छा बोकेर आउने धेरै छन् । तर, नियम नबनेकाले सम्भव छैन । शरीरदानको नियम बन्नको लागि भौतिक पूर्वाधार, शव राख्ने घर र नीति नियम बन्नुपर्छ । त्यो बन्ने हो भने नेपालको मेडिकल शिक्षामा चमत्कार हुनेछ । विद्यार्थीहरुले राम्रोसंग अभ्यास गर्न पाउनेछन् ।'


नेपालमा रहेका मेडिकल कलेजहरु

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, काठमाडौँ                        विराट मेडिकल कलेज, विराटनगर

चिकित्सा संस्थान, काठमाडौँ                                                      वि पी स्वास्थ्य विज्ञान,धरान

मणिपाल चिकित्सा विज्ञान कलेज, पोखरा                                 चिकित्सा विज्ञान कलेज, चितवन

नेपाल मेडिकल कलेज, काठमाडौँ                                                काठमाडौँ मेडिकल कलेज, काठमाडौँ

नेपालगन्ज मेडिकल कलेज, बाँके                                               विश्वव्यापी चिकित्सा विज्ञान, भैरहवा

काठमाडौँ विश्वविद्यालय, काभ्रे                                                 राष्ट्रिय मेडिकल कलेज, वीरगञ्ज

जानकी मेडिकल कलेज, जनकपुर                                              चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, काठमाडौँ

नोवेल मेडिकल कलेज, विराटनगर                                             किष्ट कलेज, ललितपुर

लुम्बिनी मेडिकल कलेज, पाल्पा                                                चितवन मेडिकल कलेज, चितवन

पाटन स्वास्थ्य विज्ञान, प्रतिष्ठान ललितपुर                              गण्डकी मेडिकल कलेज, पोखरा

प्रस्तुतिः सागर बुढाथोकी

body donation dead body buying and selling क्याडभर डाइसेक्सन

विशेष