News

संविधान अपाङ्गमैत्री छ– प्रधानमन्त्री

संविधान अपाङ्गमैत्री छ– प्रधानमन्त्री
puspa-kamal-dahal-prachanda मंसिर - १७ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधान अपाङ्गमैत्री रहेको बताएका छन् । पच्चिसौँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा अपाङ्गता भएका विभिन्न सङ्गठनद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, “हामीले विश्वका विकसित भनिएका देशका संविधान पनि हेरेका छौँ । हाम्रो संविधान अपाङ्गता भएकाहरुको अधिकार र सहज जीवनयापनका लागि पूर्ण छैन तर अपाङ्गमैत्री छ । यसको सफल कार्यान्वयन गर्न सकेमा धेरै अधिकार प्राप्त हुनेछन् ।” प्रधानमन्त्रीले संविधानले राष्ट्रिय सभामा अपाङ्गता भएकाहरुको प्रतिनिधित्वको सुनिश्चितता गरेको र स्थानीय तहदेखि नै नीतिनिर्माणमा तिनको प्रतिनिधित्व गराउनेतिर बल गर्नुपर्नेतिर ध्यान दिनुपर्ने बताए । प्रधानमन्त्रीले प्रधानमन्त्रीको नेतृत्वमा रहेको अपाङ्गता अधिकारसम्बन्धी ‘डेस्क’लाई तुरुन्तै सक्रिय पारेर काम अघि बढाइने जानकारी दिए । “अपाङ्गता भएकाहरुको जीवन निर्वाह भत्ता ज्यादै न्यून छ, यसलाई बढाउन पहल गर्नेछु । निजामती र सरकारी सेवामा रहेका अपाङ्गता भएका कर्मचारीले स्वास्थ्यका कारण काम गर्न नसकेमा निश्चित मापदण्ड बनाएर पेन्सनको व्यवस्था गर्ने व्यवस्थाका लागि पहल गर्नेछु ”, उनले भने । अर्काे प्रसङ्गमा प्रधानमन्त्रीले संविधान कार्यान्वयन गरी निर्वाचनमा जानु सरकारको प्राथमिकता रहेको बताउँदै सरकार सबै पक्षलाई मिलाएर अगाडि जाने पक्षमा रहेको तर आफू मात्रै सही र अरु गलत भन्ने मान्यता नराख्न सबैलाई आग्रह गरे । कार्यक्रममा अपाङ्गता भएकाहरुका प्रतिनिधिले संविधानमा अपाङ्गता भएकाहरुको अधिकारको सुनिश्चितता, सहज जीवनयापन, अपाङ्गमैत्री संरचना, रोजगारीलगायत विषयलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको पूर्वसांसद इन्दिरा गुरुङले जानकारी दिइन् ।

Prachanda

विशेष