
मंसिर –१८ । उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले लोडेडिङ हटाउने अभियानमा असहयोग गर्ने प्राधिकरण संचालकहरुमाथि कार्वाही शुरु भएको बताएका छन् । काभ्रेको कुन्तावेशीमा रसकमल स्मृति कृषि सहकारी संस्थाको छैठौं साधारण सभा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।
लोडसेडिङ हटाउने उर्जा मन्त्रालयको अभियानमा अवरोध खडा गर्ने जोकोहीलाई पनि नछाड्ने चेतावनी दिँदै उनले यसमा साथ दिन सवैलाई आग्रह गरे । उर्जामन्त्री शर्माले विद्युत् प्राधिकरणभित्र परेको प्वाँल टालेको कारण केही व्यक्तिहरुमा छटपटी बढेको भन्दै त्यस्तो छटपटी अझ बढाईदिने चेतावनी दिए ।
‘बिजुली चुहिने प्वाँल प्राधिकरणभित्रै परेको रहेछ,’ उनले भने ‘मैले त्यो प्वाँल टाल्न लगाएँ, त्यसपछि मात्र लोलसेडिङ हटाउन सकियो ।’ मन्त्री शर्माले प्राधिकरणभित्र खान पल्केकाहरुको हर्कतविरुद्ध आफू कठोर भएर प्रस्तुत हुने चेतावनी दिए ।
उर्जामन्त्रालयले विद्युत प्राधिकरण संचालक समिति सदस्य लक्ष्मण प्रसाद अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई अवैधानिक गतिविधिमा संलग्न भएको आरोपमा शुक्रवार लिखित स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए उनीहरुमाथि थप कार्वाही गर्ने मन्त्रालयको तयारी छ ।
उर्जामन्त्री
जनार्दन शर्मा
लोडेडिङ
विद्युत् प्राधिकरण