विदेश

म्यानमारमा जातिसंहारविरुद्ध मलेसियाली मुसलमानको प्रदर्शन

म्यानमारमा जातिसंहारविरुद्ध मलेसियाली मुसलमानको प्रदर्शन
मंसिर–१९ । म्यानमारमा अल्पसंख्यक आदिबासी रोहिङ्ग्या मुसलमान जनसमुदाय उपर भएको आमहत्याको बिरोध गर्दै आइतबार मलेसियाली मुसलमानहरुले राजधानी क्वालालम्पुरमा म्यानमारसरकार बिरुद्ध ठूलो प्रदर्शन गरेका छन् । मलेसियाका प्रधानमन्त्री नजीब रजाक स्वयंको नेतृत्वमा हजारौं मुसलमानहरुले भाग लिएको एउटा जुलूसले नगर परिक्रमा गर्दै क्वालालम्पुरको स्थानीय रङगशाला पुगी म्यानमार सरकारको कडा आलोचना गर्दै बिरोध गरेको छ । क्वालालम्पुर रङगशालाको बिरोधसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री रजाकले आदिबासी रोहिङ्ग्या जनसमुदायउपर भएको अत्याचारलाई “जातिहत्या”को संज्ञा दिँँदै विश्वले आफ्नो भाइचाराको आम नरसंहार भइरहेको टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । “अति भनेको अति नै हो, रोहिङ्ग्या जनसमुदायको अधिकार रक्षाका लागि मलेसिया सरकार जस्तोसुकै सङ्घर्ष र सहयोग गर्न पनि तयार रहेको, इस्लामहरुको बाहुल्य भएको मलेसियाको यस बिरोध प्रदर्शनले म्यानमारकी नेतृ आङग सान सुकी र उनको सरकारलाई गतिलो सन्देश गएको” भनी प्रधानमन्त्री रजाकले बताए । म्यानमारमा विगतका केही हप्तादेखि बहुसंख्यक बौद्ध समुदायले अल्पसंख्यक रोहिङ्ग्या मुसलमान जनसमुदाय उपर आमहत्या र अत्याचारको शृङ्खला नै मच्चाइ रहेकामा यसलाई नियन्त्रण गर्न प्रजातन्त्रबादी नेतृ आङग सान सुकिको सरकार उदासीन र असफल रहेको आरोप लगाइँदै आएको छ । रोहिङ्ग्या जनसमुदाय उपर भइरहेको शृखलाबद्ध अत्याचारले दक्षिणपूर्वी एसियाका अतिरिक्त विश्वका अन्य देशमा बस्ने मुसलमान समुदायलाई पनि तताइ रहेको जनाइएको छ । यता, आगामी सन् २०१८ मा मलेसियामा आमनिर्वाचन हुन गइरहेको सन्दर्भमा प्रधानमन्त्री रजाक स्वयंले बिरोध प्रदर्शनको नेतृत्व लिन जानुमा उनको स्वार्थ लुकेको भनी केही मलेसियाली आलोचकहरु आरोप लगाउँछन् । आर्थिक भ्रष्टाचारको काण्डमा चुर्लुम्म डुब्नुभएका प्रधानमन्त्री रजाकले मलेसियाली मुसलमानहरुको सहानुभूति र समर्थन बटुली आगामी निर्वाचनमा पनि विजयी हुने सपना देख्न थाल्नुभएको भनी विपक्षीले टिप्पणी गरेका छन् । रासस÷एपी

Malaysia muslims Myanmar

विशेष