विदेश

कोलम्बियामा आधा शताब्दीसम्म जारी द्वन्द्व अव शान्तितर्फ

कोलम्बियामा आधा शताब्दीसम्म जारी द्वन्द्व अव शान्तितर्फ
मंसिर–१९ । कोलम्बियामा आधा शताब्दीभन्दा अगाडीदेखि जारी द्वन्द्वको अन्त्य भएको छ । कोेलम्बियाको सबैभन्दा ठूलो विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया (फार्क)सँग भएको शान्ति सम्झौता संसदले पारित गरेपछि कोलम्बियामा शान्ति प्रक्रिया संस्थागत भएको छ । गत सेप्टेम्बर २६ मा कोलम्बिया सरकार र फार्कबीच भएको शान्ति सम्झौता जनमत संग्रहबाट अस्विकृत भएपछि शान्ति प्रक्रिया अन्यौलमा परेको थियो । पुनः दोस्रो पटक फार्क र कोलम्बिया सरकारबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । दुई समूहबीच भएको यो हस्ताक्षर संसदले पारित गरेपछि सम्झौताले पहिलो चरण पार गरेको छ । अव यस सम्झौताको परिक्षणकाल सुरु भएको छ । अर्थात यर्थातका यो सम्झौताले कार्य गर्छ की गर्दैन यो हेर्नको लागि यसको कार्यान्वयन र निरन्तरता दिने चरण सुरु भएको छ । अक्टोबर २ मा सरकारले गरेको शान्ति सम्झौता स्वीकार्य छ वा छैन भन्ने विषयमा जनमत सङग्रह भएको थियो । जनमत सङ्ग्रहका लागि भएको मतदानमा ५२.२ प्रतिशत मतदाताले सम्झौताको विपक्षमा भोट हालेका थिए भने बाँकी ४९.८ प्रतिशतले यसको पक्षमै मतदान गरेका थिए । जनमतसङ्ग्रह हुनुभन्दा केही हप्ता पहिलेदेखि नै “स्वीकार्य हुन्छ” भन्ने पक्षमा कमसेकम दुई तिहाई मत पक्कै आउँछ भन्ने व्यापक अड्कलवाजी गरिएकोमा झिनो (शून्य दसमलब ४ प्रतिशत) को अन्तरले “शान्ति सम्झौता स्वीकार्य छैन” भन्ने पक्ष विजयी भएको हो । जनमतसङ्ग्रहको परिणाम सार्वजनिक भएपछि राष्ट्रपति जुआँ म्यानुएल सन्तोष र फार्क विद्रोही समूहले सम्झौता अस्वीकार भएपनि शान्ति प्रक्रिया खल्बलिन नदिई युद्धविरामलाई भने कायमै राख्ने प्रतिज्ञा गरेका थिए । त्यही प्रतिज्ञा, अठोट र संयमताले नै दोस्रो शान्ति सम्झौतामाफत् शान्ति प्रक्रिया संस्थागत हुने अहिलेको अवस्था सम्म ल्यायो छ । राष्ट्रपति सान्तोषले सम्झौताको पक्ष र विपक्षमा मतदान गर्ने दुबैको मतबिना भेद्भाव सम्मान गर्ने बताउँदै समर्थक र विरोधी दुबैथरीलाई वार्तामा आउन समेत आह्वान गरे । सम्झौता अस्विकृत भएकोमा विद्रोही समूह फार्क भने निकै क्रुद्ध भएको थियो । युद्ध र रक्तपात पिपासुले सर्वसाधारण कोलम्बियालीलाई आफ्नो प्रभावमा पारेको तथा परिवर्तनको पक्षधर बहूसङ्ख्यक जनसमूदायउपर घृणा र द्वेष प्रकट गर्न खोजेको फार्कको भनाई थियो । ५२ वर्षको गृहयुद्धपछि फार्क विद्रोहीले हतियार बिसाउँदै राजनीतिक प्रकियामा आउन सहमति जनाएका थिए । उक्त सम्झौता कार्यान्वयन गर्नुअघि जनताबाट अनुमोदित हुनुपर्ने प्रावधान राखिएअनुसार जनमत सङ्ग्रह गरिएको थियो । जनमत संग्रहमा पराजित भएपनि, सौभाग्यबश विद्रोहीले धैर्यता तोडेनन् । सम्झौतालाई अझ बलियो बनाउने प्रयासलाई निरन्तरता दिईरहे । तत्कालै राष्ट्रपति सान्तोसले फार्क विद्रोहीलाई नयाँ राष्ट्रिय वार्ताका लागि आह्वान गरे । फार्कसँग भएको सम्झौताको विपक्षमा बहुमत आएपछि टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति सन्तोसले भने, “युद्ध अन्त्य गर्ने हरेक कोलम्बियाली जनताको चाहना अनुसार जतिसक्दो चाँडो आवश्यक मु्द्दा समाधानका लागि तत्काल वार्ता सुरु गर्न अनुरोध गर्दछु ।” सम्बोधनका क्रममा दुखित देखिएका राष्ट्रपति सन्तोसले साझा धरातल उभिन र एकताबद्ध हुन पनि सवैलाई आह्वान गरे । सान्तोषको यही आह्वान अनुसार फार्क नेता टिमोलिओन जिमेनेजले संयमता र दृढताका साथ जनमत सङ्ग्रहको नतिजा सम्झौताको विपक्षमा आएपनि शान्ति प्रक्रियालाई छोडेनन् । फलतः संशोधित सम्झौताको रुपमा दोस्रो सम्झौता भयो र संसदबाट पारित पनि गरियो । शान्ति सम्झौताको विपक्षमा उभिँदै आएको पार्टी सेन्ट्रो डेमोक्र्याटिकका सदस्यहरूले भने नोभेम्बर २९ भएको मतदानमा बहिष्कार गरेका थिए । सिनेटमा सम्झौता परित भएपछि सिनेटका अध्यक्ष मौरिसिओ लिज्कानोले ‘शान्ति दिगो होस्, कोलम्बिया जिन्दावाद’ नारा लगाउँदै सिनेट बैठक अन्त्य गरेका थिए । यो सम्झौताले कोलम्बियामा ५२ वर्षदेखि जारी गृहयुद्धको अन्त्य गर्ने कोलम्बियाली जनता र नेताहरूले विश्वास लिएका छन् । “हामीले कोलम्बियाको सम्पूर्ण समूदाय र अन्तर्राष्ट्रिय समुदायलाई पनि यो सम्झौताको समर्थन गरिदिन आग्रह गर्दछौँ । शान्तिले लामो समयसम्म पर्खन सक्दैन”¬ शान्ति सम्झौता भएको दिन दुवै पक्षद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको थियो । क्युबा र नर्वेका कूटनीतिज्ञहरूको मध्यस्थतामा क्युबाको राजधानी हवानामा सम्झौता भएको हो । क्युबाका विदेश मन्त्री ब्रुनो रोड्रीगुजको रोहबरमा भएको हस्ताक्षर समारोहमा कोलम्बिया सरकारको तर्फबाट प्रमुख मध्यस्थकर्ता हुम्बेर्टो डे ला कल र फार्कको तर्फबाट समकक्षी इभान मारक्वेजले हस्ताक्षर गरेका छन् । दक्षिण अमेरिकी राष्ट्र कोलम्बियामा ५२ वर्षपछि जारी द्वन्द्वमा परी २ लाख २० हजारभन्दा बढी मानिस मारिनुका साथै ७० लाख मानिस विस्थापित भएका छन् । यसैकारण पनि ५२ वर्षपछि लामो गृहयुद्धको समाप्तिको घोषणा युद्धरत पक्ष शान्ति प्रक्रियामा आउनु एक अत्यन्त उपलब्धि मुलक भएको छ । यस शान्ति सम्झौता कोलम्बियाली राष्ट्रपति सन्तोसको अथक प्रयासको कदर गर्दै नोबेल पुरस्कार घोषणा गर्ने संस्थाले कोलम्बियाका राष्ट्रपति सन्तोषले सन् २०१६ को नोवेल शान्ति पुरस्कार समेत पाएका थिए । कोलम्बियाको विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया (फार्क)सँग झण्डै चार बर्ष लामो वार्ता गरी ऐतिहासिक शान्ति सम्झौता गराएकाले उनलाई नोवेल शान्ति पुरस्कारका लागि छनौट गरिएको नोवेल पुरस्कार विजेता छनौट समितिको भनाई थियो । कोलम्बियाको यस शान्ति सम्झौता संसद (कँग्रेस)बाट पारित भएपछि संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुन र राष्ट्रसङ्घीय सुरक्षा परिषद्लगायत अन्तर्राष्ट्रिय जगतले नै खुशी व्यक्त गरेका छन् । महासचिवद्वारा जारी वक्तव्यमा झण्डै आधा शताब्दी लामो द्वन्द्व अन्त्य गरी मुलुकलाई सम्बृद्धितर्फ लैजान यो शान्ति सम्झौताले सहयोग गर्ने विश्वास व्यक्त गरिएकाे थियाे । शान्ति प्रक्रियाका लागि संविधान नै मुख्य मेरुदण्ड भएको र भविष्यमा पनि शान्ति कायम गर्दै अगाडि बढ्ने मुनले विश्वास व्यक्त गरेका थिए । उनले शान्ति सम्झौतालाई कार्यान्वयन गर्न सम्वन्धित पक्षहरुले कडा मेहनेत गर्ने आशासमेत व्यक्त गरेका छन् । हत्या हिंसा अन्त्य गर्न र शान्ति सम्झौताको फाइदाबाट लाभान्वित हुन समेत मुनले सवैलाई आह्वान गरेका छन् । कोलम्बियाको सरकार र सबैभन्दा ठूलो विद्रोही समुह फार्कबीच शान्ति सम्झौता करिब ६२ वटा स्थानीय भाषामा अनुवाद गरिएको छ । कोलम्बियाको संस्कृति मन्त्रालयले दिएको जानकारीअनुसार उक्त सम्झौतालाई स्थानीय भाषाभाषीले पनि बुझ्न सक्नेगरी सो अनुवाद गरिएको हो । कोलम्बियाका सबै जाति जनजाति तथा स्थानीय भाषाभाषीले सरकार र विद्रोहीका बीचमा सम्पन्न भएको सो शान्ति सम्झौतामा के छ भन्ने बारेमा थाहा पाउन भन्ने उद्देश्यले सो अनुवाद गरिएको हो । कोलम्बियाको सबैभन्दा ठूलो विद्रोही सङ्गठन फार्कसँग शान्ति प्रक्रिया सुरु भइरहेकै यस अवस्थामा कोलम्बिया सरकार र कोलम्बियाको दोस्रो ठूलो विद्रोही सङ्गठन नेशनल लिवरेशन आर्मी (इएलएन)का वीचमा शान्ति वार्ता हुने भएको छ । दुवै पक्षले शान्ति वार्ता गर्ने घोषणा सहितको संयुक्त विज्ञप्तीमा वार्ताका एजेण्डाहरुका बारेमा गृहकार्य भइरहेको उल्लेख गरिएको छ । राष्ट्रपति सन्तोसको कार्यकालमै यो अर्को राम्रो सुरुवात हो । कोेलम्बियाको सबैभन्दा ठूलो विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया (फार्क)सँग भएको शान्ति सम्झौता सफलतापूर्वक कार्यान्वयन होस । कोलम्बियाले अवका दिनमा बारम्बार यस्ता हत्या हिंसाको भोग्न नपरोस् भन्ने अन्तर्राष्ट्रिय जगतको नै कामना रहेको छ । रासस

colombia

विशेष