सुत्केरी संवाद ‘आफ्नो राम्रोको लागि देउताको मन दुखाउनुहुन्न’
बाजुरा, हुम्ला र मुगुका गाउँमा अहिले पनि सुत्केरीलाई गाईबस्तुको गोठमा, अमानवीय कष्टमा राखिन्छ । ‘नियमित गर्भ परीक्षण’, ‘सुरक्षित मातृत्व’ र ‘पोषणयुक्त खाना’ जस्ता सरकारी प्रचारवाजी भन्दा फरक हदै दयनीय छ सुत्केरीको अवस्था । खोज पत्रकारिता केन्द्रका लागि बाजुरा, हुम्ला र मुगुबाट फर्केर मीना शर्मा साथमा प्रकाश सिंह ।
नन्दसरा सार्की (२३) बाजुरा, बाँधु मंसिर २० । आज मैले बच्चा जन्माएको १२ दिन भयो । सुत्केरी भएपछि म यो गोठमा बस्दै आएकी छु । बच्चा जन्मिसकेपछि सुत्केरी र बच्चालाई घरमा छुन नहुने भएकाले म गाईगोठमा बसेकी हुँ । छुई (महीनावारी) र सुत्केरी भएको समयमा म मात्र होइन हाम्रो घरका सबै महिला यसैगरी गाईगोठमा बस्ने गर्छौं । मेरो माईत हुम्ला हो, त्यहाँ पनि म जस्ता सबै गोठमा नै बस्छन् । अहिलेसम्म मैले पाँचवटा बच्चा जन्माइसकेकी छु । प्रत्येक पटक एक महीना गोठमा बस्दै आएकी छु । हाम्रोतिर सुत्केरी भएको बेलामा १० दिन मात्र घरकाले पकाएर खान दिन्छन् । ११औं दिनदेखि मैले आफैं पकाएर खान थालेकी हुँ । मेरा दुई बच्चा भगवानका नजिक भए । यो बच्चालाई चिसो लागेको छ । चिसोले गर्दा खोकी लागेको र पातलो दिसा गरेको छ । त्यसैले बच्चा लिएर घाममा बसेकी छु । आगो नबाल्दा कोठा धेरै चिसो हुन्छ । पहिलेका दुई बच्चा पनि चिसो हुँदाहुँदै मरेका हुन् । तर, जन्माएका सबै बच्चा कहाँ बाँच्छन् र ? सबैका बच्चा मरेका हुन्छन् त्यसैले मेरा पनि मरे । स्वास्थ्य चौकीमा बच्चा जन्माउँदा डाक्टरले गोठमा बस्न हुन्न भने तर पनि हामी बस्ने गोठमै हो । घरमा बस्न हुन्न । देउता रिसाउनुहुन्छ । देउता लागेपछि परिवारमा समस्या हुन्छ, बालीनाली राम्रो हुँदैन । जीवित भएका बच्चालाई पनि राम्रो हुँदैन । म पनि गोठमा जन्मिएँ, आमासँगै एक महीना गोठमा बसें । मलाई केही भएको छैन । त्यसैले गोठमा बसेर केही हुने होइन । आफ्नो राम्रोको लागि देउताको मन दुखाउनुहुन्न । देउता रिसाउनुभयो भने विनाश हुन्छ । संस्थाका ‘सर’ र ‘म्याडम’ आएर गोठमा बस्नुहुन्न भन्नुहुन्छ तर हामीलाई गोठमा बसेर राम्रो भइरहेको छ । खान पाएकै छौं, परिवारसँगै छौं । मैले अरू बच्चा जन्माएँ भने अब पनि बस्ने गोठमै हो । परिवारलाई नराम्रो हुने काम गर्नुहुँदैन । पहिलाका सबै जना गोठमा बस्दा केही भएको छैन भने हामी बस्दा के समस्या हुन्छ र ? चल्दै आएको चलन किन नमान्ने ? गोठमा बस्दा बच्चा म¥यो भने आमा मात्र चाहिं धेरै दिन गोठमा बस्नु पर्दैन । मेरा छोरी मात्र छन्, अंश खाने छोरो जन्माउनु छ । पाप ग¥यो भने छोरो जन्मिंदैन । छोरो जन्मँदा पनि गोठमै बस्ने हो ।
सरस्वती बुढथापा (२१), बाजुरा रुगिन १२ कात्तिक । बच्चा जन्मिएको आज १२ दिन भयो । स्वास्थ्य चौकीमा बच्चा जन्मिसकेपछि २४ घण्टा म स्वास्थ्य चौकीमै बसें । डाक्टरले बच्चा र आमाको स्वास्थ्य राम्रो छ भनेपछि घर आयौं । घर आएदेखि म यही गोठमा बसेकी छु । बच्चा जन्माउँदा हाम्रो गाउँमा सबैजना गोठमा बस्छौं । भान्सा र घरको अन्य ठाउँमा जाँदा देउता रिसाउने हुँदा हामी गोठमा बस्ने गरेका हौं । स्वास्थ्य (चौकी) मा जाँदा सफा बस्नुपर्दछ, गोठमा बस्नुहुन्न भन्नुहुन्छ तर यस्तो छुई भएको समयमा गोठमै बस्नु प¥यो नि ! आमा, हजुरआमाले पनि गोठमै बच्चा जन्माउनुभयो, गोठमै बस्नुभयो । उहाँहरूलाई केही भएको छैन, हामीलाई पनि केही हुँदैन । यस्तो बेलामा म भान्सामा बसेर घरमा केही अनिष्ट भयो भने के गर्ने ? देउता नमान्दा देउता रिसाउँछन् र देउता रिसाए भने अन्न फल्दैन, बच्चाहरू अपाङ्ग हुन्छन्, खडेरी हुन्छ, पहिरो जान्छ । यस्तो थाहा हुँदाहुँदै कसरी घरमा बस्ने ? गोठमा बस्दा भूतप्रेत नआओस् भनेर ढोकामा बन्चरो झ्ुण्ड्याउने याउने गर्छौं र कम्मरमा हँसिया राख्छौं । देउता खुशी बनायो भने भूत डराउँछ तर कहिलेकाहीं गल्ती हुँदा भूत लाग्न सक्छ भनेर हँसिया र बन्चरोसँगै राखेका हौं । सुत्केरी बस्ने गाईगोठमा एक महीनासम्म कोही बस्दैन, आमा र बच्चा मात्र बस्छन् । सबैले गरिरहेको काम किन नगर्ने ? आफ्नो संस्कार मान्नु प¥यो । स्वास्थ्यका ‘सर’ ‘म्याडम’ ले भनेको सबै कुरा घरमा गर्न मिल्दैन ।
मागी चदारा (१७) मुगु, ह्याङ्गलु १४ कात्तिक । आज छोरी जन्मिएको १३ दिन भयो । छोरीलाई गोठमा सुताएर धान काट्न खेत गएकी । अब (दिनको ११ बजेको छ) यो घाँस भैसा (भैंसी) लाई हालिदिएर, खाना खाने अनि छोरीलाई दूध खुवाएर फेरि घाँस काट्न जान्या (जाने) हो । स्वास्थ्य (चौकी) नजिकै छ, पाँच मिनेटमा पुगिन्छ । स्वास्थ्यमा गयो भने नियमित जँचाउनु पर्छ, गोठमा बस्नुहुन्न भन्नहुन्छ त्यसैले घरमै बच्चा जन्माएँ, स्वास्थ्य गइनँ । स्वास्थ्य र संस्थाका ‘सर’ ‘म्याडम’ हरू आएर गोठमा बस्नुहुन्न सफा ठाउँमा बस्नुपर्छ भन्नुहुन्छ तर भनेजस्तो सबै कुरा कहाँ पुग्छ र ? गाउँका मान्यजन र ठूलाले गोठमा बस्नुपर्छ भनेपछि घरमा बस्नु भएन । मलाई बच्चा जन्माउने बेथा लागेपछि गोठमा गएँ, छोरी त्यहीं जन्मिई । आमा, सासू, जेठानी, भाउजू र छिमेकी सबै जना गोठमा बस्नुहुन्छ तिनीहरूलाई केही भएको छैन, मलाई के हुन्छ र ? १५ वर्षमा भागेर विवाह गरेकी हुँ । लभ परेर बिहे गरे पनि बिहेपछि सधैं कहाँ माया गर्छन् र ? अहिले सबै काम गर्नुपर्छ । छुई भएर घरको काम गर्न नभए पनि मेलापातको काम गर्न हुन्छ । त्यसैले धान काट्न आएकी हुँ । धान काट्ने ठाउँमा केटीहरू मात्र हुन्छन् । हामी जस्ता छुई भएका महिलाले पुरुषलाई छुन हुँदैन । अब अर्को बच्चा जन्माउँदा पनि म गोठमा नै बस्छु । देउता रिसाउँछन् भन्ने थाहा हुँदा भान्सामा बस्छु भन्न मिल्छ र ? पढे पनि संस्कार मान्नुपर्छ । तपाईं के आफ्नो संस्कार मान्नुहुन्न ? छुई हुँदा छुनुहुन्छ देउता ? रिसाउन्नन् ? किन गोठमा बस्नहुन्न भन्नुहुन्छ ? बच्चासँग सुत्केरी सबैका अगाडि बस्दा लाज लाग्दैन र ? सबैले मानेको कुरा हामीले पनि मान्नुपर्छ ।
चिनकला चदारा (२२) मुगु, ह्याङ्गलु १४ कात्तिक । आज बच्चा जन्मिएको ६ दिन भयो । बच्चा यही गोठमा जन्मिएको हो । गर्भवती भएको समयमा स्वास्थ्य (केन्द्र) मा जँचाउन गएकी थिएँ । डाक्टरले बच्चा जन्माउन स्वास्थ्यमा आउनुपर्दछ भने पनि गइनँ । स्वास्थ्यमा गएपछि पैसा दिन्छ भन्नुहुन्थ्यो । समस्या केही भएन, घरमै जन्माएँ । सबैजना गोठमा बस्नुहुन्छ त्यसैले म पनि गोठमा बसें । मेरो घर नजिकै अर्की सुत्केरी पनि गोठमा बसेकी छन् । सुत्केरी भएको बेलामा आफैं खाना बनाएर खानुपर्छ । छुई हुने भएकाले कोहीलाई छुन हुँदैन । घाँस काट्ने, कोदो काट्ने, कपडा धुने जस्तो घर बाहिरको काम गर्न हुन्छ । सबै जना बसेको गोठमा हामी बस्न किन समस्या हुन्छ र, हुँदैन । सुत्केरी हुँदा आमा र बच्चा दुवै फोहोर हुन्छन्, त्यसैले गोठमा बस्नुपर्दछ । देउताले दुःख पर्दा सबैलाई बचाउनुहुन्छ । अनि भान्सामा बसेर देउता रिसाउने काम गर्नु भएन नि ! अरु बच्चा जन्मँदा पनि गोठमै बस्ने हो । देउता रिसायो भने घरका लोग्नेमान्छेलाई समस्या हुन्छ । बालोबैंसमा मर्नुपर्छ । सन्तान अपाङ्ग हुन्छन् । घरमा संकट आउँछ । यस्तो थाहा पाएर पनि घरमा बस्न हुन्छ र ? ३० दिन गोठमा बस्दा परिवारका सबैलाई राम्रो हुन्छ । पाप ग¥यो भने सन्तानलाई नराम्रो हुन्छ । ३० दिन मैले दुःख काट्दा के हुन्छ र ?
दुधारी धामी (२४) हुम्ला, मैला २०७२ माघमा मैले गोठमै बच्चा जन्माएँ । एक महीना गोठमा बसें । सुत्केरी बेथा लागेपछि छिमेकी महिलाले मलाई गोठमा लगेका थिए । अरूको जस्तै हँसियाले बच्चाको नाल काटेको हो । म २४ वर्षकी भएँ, मेरा दुई बच्चा छन् । पहिलाको बच्चा हुँदा पनि म गोठमै बसेकी हुँ । केही भएको छैन । हाम्रो यहाँको चलन यस्तै छ । आमाले मलाई गोठमै जन्माउनुभएको हो । अहिलेसम्म मलाई केही भएको छैन । घरभित्र बसेर देउता रिसाएर समस्या भयो भने कसरी पाप कटाउने त ? पुर्खाहरूको पालादेखि देउता रिसाउने भएकाले गोठमा बसेको भन्नुहुन्छ आमाले । भनेको मान्नु प¥यो नि ! सुत्केरी भएको समयमा दूध खाँदा गाई भैसा (भैंसी) ले दूध नदिने हुँदा दूध खान मिल्दैन । गोठमा बस्दा आधा ज्यान घटे पनि आफ्नो चलन मान्नु प¥यो । पानी पर्दा वर्षाको समयमा गोठमा कीरा आउँछन् अलि समस्या हुन्छ । तर जे जसरी भए पनि बस्नुपर्दछ ।
भावना बुढा (२२) हुम्ला, मैला २०७२ सालमा मैले गोठमै बच्चा जन्माएँ । एक महीनासम्म गोठमै बसें । समस्या भएर बच्चा जन्माउन नसके मात्र स्वास्थ्य (केन्द्र) जाने हो । स्वास्थ्य टाढा छ, घरको काम छोडेर कसरी त्यहाँ जानु । हरियो तरकारी, झेल खानेकुरा खाँदा बच्चालाई कुवत (पखाला) लाग्न सक्छ । यसमा होस पु¥याउनुपर्छ । आफैं खाना बनाउनुपर्दछ । छुई नबार्नेलाई देउताले धेरै दुःख दिएको आमाले सुनाउनु हुन्छ । परिवार, बालीनाली र आफ्ना सन्तानलाई राम्रो होला भनेर हामी गोठमा बस्ने गर्छौं ।
रामुदेवी मल्ल, बाजुरा बाँधु म स्वास्थ्य स्वयमसेविका हुँ । १० वर्षदेखि यो काम गर्दै आएकी छु । गोठमा बस्नुहुन्न भनेर बुझउन मुश्किल छ । गर्भवती परीक्षण, भिटामिन, जुकाको औषधि, आइरन चक्कीलगायतका औषधि खानुपर्दछ भन्ने कुरामा केही चेतना फैलाउन सकिएको छ तर गोठमा बस्नुहुन्न भनेर बुझउन मुश्किल छ । देउता लाग्दा (लाग्छ) भन्दाउन (भन्दा हुन) अरू के हुनु । केही लाग्या (लागेको) नाइँ (होइन), चेतनाको कमी हो । गोठमा बस्नुहुन्न भनेर घरपरिवार सबैलाई एकठाउँमा राखेर भने पनि बुझउन सकिएन । कोल्टी टाढा छ । रेडियो, टेलिभिजन केही छैन । संस्थाका ‘सर’ ‘म्याडम’ आएको बेला उहाँहरूको अगाडि हुन्छ भने पनि बेथा लाग्यो कि गोठमा लगिहाल्छन् । आफ्नै गाउँको भएर हामीले भनेको नसुनेको होला कि ? घरमा बस्दा केही हुँदैन भनेर मेरो बच्चा जन्मँदा म घरभित्र बसें तर पनि बुझउन सकिनँ । भान्सामा र देउता भएको कोठामा नराखे पनि सफा र घरको अर्को कोठामा राख्नु पर्छ भन्दा मान्दैनन् । सयमा दुई—तीन प्रतिशतले घरमा राख्छन् होला अरूले मान्दैनन् । सुत्केरीलाई घरमा राखेको बेलामा घरमा कोही बिरामी भयो, बस्तुभाउ बिरामी भयो भने छुई भएर हो भन्छन् । रुढिवादी हटाउनु गाह्रो काम रहेछ । बुहारीहरूले संस्कार तोड्न सक्दैनन् । सासू ससुराहरूले हाम्रा पालामा गोठमा बस्दा केही भएन अहिलेकालाई के हुन्छ भन्छन् । हाम्रा पालामा १० बच्चा गोठमा जन्माइयो, बसियो केही भएन । अहिलेका स्वास्थ्य (केन्द्र) जानुुपर्छ, गोठमा बस्नुहुन्न भन्छन् । के जमाना आयो भनेर कराउँछन् । यस्तो भएपछि कसैले पनि परम्परा तोड्ने हिम्मत गर्दैन । पहिला त गाईको गोठमा पोस्रो (मल, गोबर) पनि सफा नगरी राख्थे अहिले भने चिसो पोस्रो फाले पनि फोहोर चाहिं सफा गर्दैनन् । कसैले सफा गरेर पराल ओछ्याउँछन् । तर धेरैको त फोहोरै हुन्छ । हामीले नियमित परीक्षण गर्नुपर्दछ सफा बस्नुपर्दछ, पोषिलो खानुपर्दछ भनेर सिकाउने मात्रै हो । सबैलाई त्यो कहाँ पुग्छ र ? गाईकै गोठमा राखे पनि लिपपोत गरेर सफा बनाऊ भन्दा छाउ बस्ने गोठ पनि के सफा गर्नु भन्ने जवाफ दिन्छन् । पोहोरसाल मात्र फोहोरमा बसेकी एउटी सुत्केरीको धेरै रगत बगेर कोल्टी लैजाँदा बाटोमै मृत्यु भयो । फोहोरले गर्दा पाठेघरमा संक्रमण भएको रहेछ । बच्चालाई निमोनिया हुने, बिरामी हुने, आमालाई तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, पाठेघरमा संक्रमण हुने कारण गोठमा बसेर हो भन्दा देउता खुशी पा¥यो भने केही हुँदैन भन्छन् । आफ््नै गाउँकालाई बुझउन झनै मुश्किल ।
धनबहादुर फडेरा, रुगिन स्वास्थ्य चौकीका निमित्त प्रमुख सुत्केरी निकै संवेदनशील अवस्था हो । तर पनि यहाँ गाई गोरु राख्ने गोठमा सुत्केरी राख्ने चलन छ । घरमा राखे देवीदेवताले सराप्छ भन्ने मान्यता छ । स्वास्थ्य अवस्था एकदमै नाजुक छ । दुई वर्षदेखि म यहाँ छु । गोठमा बस्दा ज्वरो आउने, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने समस्या हुन्छ । अवस्था जटिल भएपछि मात्र स्वास्थ्यमा आउँछन् । कहिलेकाहीं बचाउनै समस्या हुन्छ । सरसफाइ छैन, पानी छैन । गाई गोरु बस्न नसक्ने साँघुरो गोठमा बस्नुपर्छ । कपडा पनि राम्रो हुँदैन । गोठ चिसो हुन्छ, सुक्खा हुँदैन । निमोनियाको डर धेरै छ । चेतनाको कार्यक्रम छ तर उनीहरू आफ्नो संस्कार छोड्न चाहँदैनन् । सुत्केरीलाई दूध, दही, घ्यू दिन्नन् । एक महीनासम्म मासु पनि दिंदैनन् । हिजोको भन्दा अवस्था अहिले केही सुधारिएको छ । मेरो घर कालीकोट हो, कर्णालीका पाँचै जिल्ला घुमेको छु । अहिले पनि यस क्षेत्रका ८० प्रतिशतले सुत्केरी राख्ने गोठमै हो । बीए पास गरेका श्रीमानले पनि श्रीमती सुत्केरी हुँदा गोठमै राख्छन् । अनि कसरी चेतना अभाव भन्नु ?
गोठमा हुर्कंदैछ एउटा पुस्ता महिला भएकाले पनि होला ‘छाउ’ का बारेमा अलि बढी नै चासो लाग्छ । छाउ त नेपालभरि नै छ भन्ने मलाई जानकारी छ । तर आफ्नै आँखाले दुर्गम ठाउँको समस्या हेर्न भनेर मैले बाजुरा, हुम्ला र मुगुका दुर्गम गाउँबस्ती जाने निधो गरें । ६ कात्तिक २०७३ मा काठमाडौंबाट सुदूरपश्चिम निस्किएँ । बसको यात्रा पछि ८ कात्तिकमा बाजुराको मार्तडी पुगें । त्यसपछि १० दिनको पैदल यात्राको तयारी भयो । जिल्लाको अति दुर्गम गाविस बिच्छ्या, रुगिन, छिमेकी हुम्लाका मैला, मदेना र अर्को छिमेकी मुगुको ह्याङ्गलु, श्रीकोट र सेरी पुग्ने योजना तय भयो । ९ कात्तिक बिहान बाजुराका पत्रकार प्रकाश सिंह र मेरो यात्रा मार्तडीबाट शुरू भयो । पाण्डुसैन जान हिंडेको एक घण्टा नहुँदै जीप हिलोमा फस्यो । आधा घण्टाको प्रयास पछि हिलो बाटोबाट बल्लतल्ल जीप निकालियो । चार घण्टामा हामी पाण्डुसैन पुग्यौं । त्यहाँबाट तीन घण्टा पैदल हिंडेर हामी कोल्टी पुग्यौं । १० कात्तिक बिहान कोल्टीबाट बाँधुतर्फ हाम्रो यात्रा शुरू भयो । अब हामी हिंड्ने बाटोमा मालबाहक खच्चरको एकछत्र राज थियो । पत्रकारको यात्राको उद्देश्य के हुन्छ र भेटेसम्म समाचार हुने कुनै पनि विषय नछोड्ने । तर हाम्रो यात्राको अर्को विशेष उद्देश्य थियो– गोठमा बसेका सुत्केरीको अवस्था खोज गर्ने । हामी चार सय ७० घरधुरी भएको बाँधुको धिम गाउँ जाने उकालो बाटोतिर लाग्यौं । धिम बाजुराको उत्तरी क्षेत्रमा पर्ने सबैभन्दा ठूलो बस्ती भएको गाउँ हो । राँघे भीरको उकालो र अप्ठ्यारो बाटो, भोक, प्यासले एकैचोटि गलाइरहेको थियो हामीलाई । पानीको बोत्तल र शरीरको शक्ति सँगसँगै रित्तिंदै थियो । तर पनि धिम पुग्नु थियो । नाकै ठोक्किने ठाडो उक्कालोमा सातघण्टा लगाएर ११ कात्तिक दिउँसो १.३० बजे हामी धिम पुग्यौं । सोझ्ै स्वयंसेविका रामुदेवी मल्लको घर गयौं । मल्लको घरमा झेला राखेर अर्की स्वयंसेविका चन्द्रकला बुढालाई खोज्न निस्कियौं । उनले सुत्केरीहरूको घरसम्म पुग्न हामीलाई सहयोग गरिन् । गोठको अवस्था हेरेपछि मेरो भोक, तिर्खा र दुखाइ करुणामा बदलियो । यस्तो दुःख शायदै हामीले भोगेका छौं । फोहोर गाईगोठमा सुत्केरी बसेका छन् । साँच्चिकै ढुंगे युग– सानो ढुंगाको चिसो, अँध्यारो, हावा ओहोरदोहोर गर्न नसक्ने गोठ । जहाँ भविष्यका कर्णधारहरू हुर्काइरहेका छन् आमाहरू । ‘सुरक्षित मातृत्व’, ‘नियमित गर्भ परीक्षण’, ‘पोषणयुक्त खाना’ भन्ने नारा मैले काठमाडौंमा पटक–पटक सुनेकी छु । सुदूरपश्चिमको यो दुर्गम पहाडमा आज त्यो सरकारी नारा सम्झ्एिर मेरो मन खिन्न भयो । एकपछि अर्को सुत्केरीसँग कुरा गरें । उनीहरूसँगको संवाद आफैंमा पूर्ण समाचार लाग्यो मलाई । तिनका भनाइमा के छैन ? राज्यको विभेद, समाजको भेदभाव, आर्थिक विपन्नता, अन्धविश्वास र शोषण उत्पीडन । क्यामेरा निकालें, रेकर्डर ‘अन’ गरेर धमाधम अन्तर्वार्ता लिएँ । तीन जिल्लामा एक सातामा भेटिएका सुत्केरीसँग गरिएका ती कुराकानीहरू वास्तवमा अन्तर्वार्ता नभएर उनीहरूले भोगेका दुःख–कष्ट र वेदनाको एकोहोरो प्रस्तुति थियो । आखिर किन उनीहरू यतिविघ्न कष्ट भोगिरहेका छन् ? अँध्यारो कोठा, फोहोर गोठमा परालमाथि पुरानो कम्मल, झ्ंिगाको बथान, नजिकै अँगेनो, अँगेनोमाथि बिहानको बासी भात । यो दृश्य देखेपछि काठमाडौंका अस्पतालमा बच्चा जन्माउने सुत्केरीहरूलाई सम्झ्ें । एउटै पुस्ता, एउटै भूगोल, एउटै नागरिकता भएर के गर्नु जीवनशैलीमा आकाश धरतीको फरक छ । हामी सम्मानजनक जीवन बाँच्न पाउनुपर्दछ भनेर महिला अधिकारको कुरा गर्दछौं । आफ्नो शरीर आफ्नो अधिकार भन्छौं । घर शान्ति नै विश्व शान्तिको अधार, लैङ्गिक हिंसारहित समाज भनेर महिला हिंसा विरुद्धको १६ दिने अभियानमा छौं । तर, मैले भेटेका ती महिलाले देउता खुशी बनायो भने परिवार खुशी हुन्छ भनेर गोठमा बसेको हाकाहाकी बताए । उनीहरू दुःख भोगिरहेका थिए, झ्न् दुःखद् पक्ष उनीहरू भगवानको डरले आफ्नो परिवारको हित होस् भनेर गोठमा बच्चा हुर्काइरहेका थिए । अन्धविश्वासको पराकाष्ठा ! गोठमा बसेका तीन सुत्केरीलाई भेटिसकेपछि मलाई खपिनसक्नु भयो । अभाव, कुपोषण सहेर महीना दिनसम्म दुःखका साथ गाई गोठमा बसेका छन् । आफूभन्दा साना र आफ्नै उमेर हाराहारीका महिलाको यो अवस्था देख्दा लाग्थ्यो– उनीहरूलाई जवानी, जीवन, अधिकार, हिंसा र स्वतन्त्रता के हो भन्ने बुझउनै बाँकी छ । त्योभन्दा पहिला उनीहरू गोठमा बस्नु कति जोखिमपूर्ण कुरा हो भनेर बुझउनु जरूरी छ । समाजका गन्यमान्य व्यक्तिलाई भेटेपछि अर्को कुरा थाहा भयो । त्यो भनेको गोठका सुत्केरीलाई घरमा सार्न सहज छैन । ११ गते राति धिममा एउटा घरमा बास बसेका थियौं । लिपपोत गरेको सफा घरमा समेत हामी उडुसले टोकेर रातभर सुत्न सकेनौं । फोहोर गोठमा सुतेका सुत्केरी आमाहरूको हालत के होला ? १२ गते बिहान हामी धिमबाट रुगिनका लागि हिंड्यौं । साँघुरो बाटो मसिना चिप्लिने ढुङ्गा । बाटो हेर्दै जीउ सिरिङ्ग हुने । तल कर्णाली बगिरहेको थियो । माथि डाँडामा थोरै सिस्नु र सिउडीका रूख बाहेक केही थिएनन् । लठ्ठीको सहारामा साँघुरो बाटो पार गर्दै हामी साढे दुई घण्टामा रुगिनको फैती पुग्यौं । फैतीका शिक्षक देवराज पाण्डेसँग कुराकानी भयो । उनले गोठका सुत्केरीको कुरालाई त्यति महत्व दिएनन् । बरु स्वास्थ्य चौकी टाढा भएको दुःखेसो पोखे । सामान्य अवस्थामा फैतीबाट रुगिन पुग्न चार घण्टा लाग्छ । बच्चा जन्मने अवस्थाकी गर्भवती श्रीमतीलाई चार घण्टाको बाटो हिंडाएर स्वास्थ्य चौकी लैजान नसकेको गुनासो गर्दै पाण्डेले भने “डक्टरले दिएको समयभन्दा तीन दिन ढिलो भइसक्यो बच्चा जन्मिएको छैन, म त तपाईं डाक्टर हो कि भनेर दौडेर भेट्न आएको !” त्यहाँबाट सात घण्टा लगाएर हामी रुगिन स्वास्थ्यचौकी पुग्यौं । स्वास्थ्यकर्मी भेटिंदैनन् कि भन्ने चिन्ता थियो । काठमाडौंबाट पत्रकार आएका छन् भनेर स्वास्थ्यकर्मी हाम्रो पर्खाइमा बसेका रहेछन् । गोठमा सुत्केरी राखेको बारेमा हामीले चासो मात्रै के राखेका थियौं, रुगिन स्वास्थ्य चौकीका अहेव धनबहादुर फडेराले बेलीबिस्तार लगाइहाले । उनले भने, “यो बाजुराको मात्रै समस्या होइन, मध्य र सुदूरपश्चिमका दुर्गम गाउँमा सुत्केरीलाई गोठमा राख्छन् ।” अब उनलाई सोध्ने अर्को प्रश्नै रहेन । कालीकोटवासी फडेराले आफ्नो गाउँमा पनि यस्तै अवस्था रहेको बताए । स्वास्थ्यकर्मीसँगको कुराकानी पछि हामीले गोठमा बसेका सुत्केरीहरूलाई भेट्यौं । बिहान सात बजे कालो चिया र कोदोको रोटी, दिउँसो १२ बजे चिसो कोदोको रोटी र पानी, चार बजे कोदोको रोटी र चाउचाउको तरकारी खाएपछि ‘भोक मीठो कि भोजन ?’ भन्ने नेपाली उखानको याद आयो । त्यही दिन हामीले गोठमा बसेकी १२ दिनकी सुत्केरी सरस्वती बुढथापालाई भेट्यौं । उनी ढोकामा बन्चरो झ्ुण्ड्याएर भित्र बसेकी थिइन् । उनले भनिन्, “भूत लाग्छ भनेर बन्चरो झ्ुण्ड्याएको ।” अरू सुत्केरीले जस्तै उनले पनि कम्मरमा हँसिया घुसारेकी थिइन् । यतिसम्म अन्धविश्वास ? रुगिन स्वास्थ्य चौकीकी अनमी प्रेमकला मल्लले भनिन्, “हामीलाई परम्परागत संस्कार तोड्न मुश्किल परिरहेको छ । हँसिया साथमा भयो भने भूत लाग्दैन भन्ने अन्धविश्वास छ ।” रुगिनबाट हामी बाजुराको कवाडी भन्ने ठाउँतिर लाग्यौं । त्यो मुगु, हुम्ला र बाजुराको केन्द्र थियो । रात पर्न थालिसकेको थियो । डरलाग्दो ओरालो बाटो, लठ्ठीको सहाराले झ्रिरहेका थियौं । बाटामा आठ जना स्थानीयहरू थकाइ मारेर बसिरहेका थिए । हामी पनि त्यहाँ एकछिन बस्यौं । त्यो समूहमा काखमा सानो बच्चा लिएर बसेकी एक जना गर्भवती महिला थिइन् । मैले सोधें, “तपाईंको बच्चा जन्मने कहिले हो ?” उनले मसिनो स्वरमा भनिन् “पुसमा ।” अब पुसको चिसोमा पनि गोठमा बस्नुहुन्छ होला नि ? यसो मात्रै के भनेकी थिएँ त्यहाँका पुरुषले एकैस्वरमा भने “संस्कार मान्नु परिहाल्यो नि !” बाजुराका दुर्गम गाउँको अवस्था हेरेर दिक्क भएको मन हुम्लाको मैला पुग्दा झ्न् विरक्तियो । गोठमा बस्नुपर्ने अवस्थालाई त्यहाँका महिलाले वास्तै गरेनन् । परिवारलाई राम्रो हुन्छ भने गोठमा किन नबस्ने ? आफू गोठमा जन्मिएको हो, आफूले पनि गोठमा बच्चा जन्माउँदा राम्रै भइरहेको छ भन्ने उनीहरूको बुझइ थियो । हुम्लाका गाउँमा अर्को अनौठो मान्यता ‘सुत्केरीलाई हरियो सागसब्जी र पोषिलो खानेकुरा दिनुहुन्न’ भन्ने रहेछ । यसको असर बच्चा जन्मन नपाउँदै आमालाई पोषणको अभाव हुने रहेछ । हामीले एमालेका जिल्ला नेता देउचे सार्कीलाई भेटेका थियौं । उनले भने, “महिला आफैं देउताको डरले गोठमा बस्छन् हामीले कसरी रोक्नु ।” अचम्म छ, समाजमा जो पीडामा छ दोष पनि उसैको थाप्लोमा । बाटो हिंड्दा धेरै ठाउँमा दूध, दही र मोही छ भनेर सोध्यौं । कसैले पनि छ भनेन । गाई, भैंसी भएको घरमा पक्कै होला भनेर सोध्यो ‘छैन’ भन्छन् । मुगुको श्रीकोट पुगेपछि मात्रै किन ‘छैन’ भनेका रहेछन् भन्ने थाहा भयो । ती दुर्गम बस्तीहरूमा दूध खानलाई दलित होइन भन्ने प्रमाणित हुनुपर्ने रहेछ । हामीले भन्यौं, ‘हामी दुई जना बाहुन, एक जना क्षेत्री र एक जना ठकुरी छौं ।’ यस बाहेक मैले महीनावारी भएको छैन, भएको भए यसरी पैदल हिंड्न सकिन्थ्यो भनेर थप एउटा स्पष्टीकरण दिनु प¥यो । महिनावारी भएकालाई पनि दुध दिने चलन रहेनछ । त्यो अवस्था बुझ्ेर मैले आफ्नै समूहका साथीसँग पनि आफूलाई महीनावारी भएको बताइनँ । सुदूर दूरदराजका गाउँमा २२ दिन बिताएर राजधानी फर्किंदा पनि बारम्बार मेरो मनमा एउटै प्रश्न आउँछ, ‘आखिर देउता रिझउन महिलाले कहिलेसम्म सहने यस्तो कष्ट ?’
सिआइजेबाट साभार गरिएको गर्भ परीक्षण छुई बाजुरा महीनावारी मुगु सुत्केरी हुम्ला