विदेश

जापानी प्रधानमन्त्री आवेले अमेरिकी पर्ल हार्वरको भ्रमण गर्ने

जापानी प्रधानमन्त्री आवेले अमेरिकी पर्ल हार्वरको भ्रमण गर्ने
मंसिर–२० । जापानका प्रधानमन्त्री सिन्जो आवेले डिसेम्बर २६ र २७ मा अमेरिकी नौ सेनाको हवाईस्थित शिविरको भ्रमण गर्ने भएका छन् । आवे जापानले अमेरिकी नौसेनाको शिविरमा सन् १९४१ मा आक्रमण गरेपछि हवाईस्थित उक्त शिविरको भ्रमण गर्ने पहिलो जापानी उच्च अधिकारी रहने छन् । जापानी प्रधानमन्त्री आवेले हवाई आक्रमण भएको ७५ औँ वर्ष पुग्नुभन्दा ठिक दुई दिन पहिले अप्रत्यासित रुपमा अमेरिकी राज्य हवाईको भ्रमण गर्ने विषयबारे एक संक्षिप्त विज्ञप्ति जारी गरी सोमबार जानकारी गराए। अमेरिकी राष्ट्रपतिका रुपमा करिब छ महिना पहिले वर्तमान राष्ट्रपति बाराक ओबामाले दोस्रो विश्वयुद्धको अन्त्यतिर सन् १९४५ मा जापानविरुद्धको आक्रमणमा जापानी सहर हिरोसिमा र नागासाकीमा बम खसालेको स्थानको भ्रमण गरेका थिए । उक्त आक्रमणमा एक लाखभन्दा बढी जापानी नागरिकको मृत्यु भएको थियो । अमेरिकी राष्ट्रपति बाराक ओबामा र आवेले हवाईमा सँगै भ्रमण गर्ने आवेको निकटस्रोतले बताएको छ । भ्रमणबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै जापानी प्रधानमन्त्री आवेले भने, “जापान कहिल्यै पनि युद्धका दुःखद घटनालाई प्रोत्साहित गर्ने छैन । म यो प्रतिबद्धतासहितको सन्देश सबैमा दिन चाहन्छु । यति नै बेला मैले जापान र अमेरिकाबीचको पुनःमिलनको खबर विश्वसामु प्रवाह गर्न चाहन्छु ।” ह्वाइट हाउसले पनि डिसेम्बर २७ मा ‘दुई नेता’ (ओबामा र आवे) ले हवाई नौसैनिक आधार शिविरको भ्रमण गर्ने कार्यक्रम रहेको पुष्टि गरेको छ । जापानले हवाईस्थित सैनिक अखडामा गरेको आक्रमणमा दुई हजार ३०० भन्दा बढी अमेरिकी अधिकारीको मृत्यु भएको थियो । अमेरिकी राष्ट्रपति बाराक ओबामा र जापानी प्रधानमन्त्री आवे डिसेम्बर २७ को बिहानै हवाईस्थित नौसैनिक शिविरको भ्रमण गर्ने र बिहान ७ः५५ बजे केही क्षण मृतकको सम्झनामा एक मिनेट मौनधारण गरिनेछ । मौनधारणपछि जापानी प्रधानमन्त्रीले उक्त शिविरको निरीक्षण गर्नेछन् । भ्रमणबारे सञ्चारकर्मीसँग बोल्दै जापानी प्रधानमन्त्री आवेले भने, “अमेरिकी राष्ट्रपतिसहितका अधिकारीसँग हवाईमा हुने हाम्रो कुराकानी जापान र अमेरिकाबीच भविष्यमा अहिलेसम्मकै मजबुत सहकार्य हुने कुरा विश्वलाई जानकारी दिने एक क्षण बन्नेछ ।” रासस÷एपी

सिन्जो आवे

विशेष